बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर : नबिलले बंगलादेश बैंकलाई गाभ्ने, स्वाप रेसियो कति ?

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा फेरि एउटा अर्को बिग मर्जरले सार्थकता पाउने भएको । लामो समयको चर्चा र प्रयासपछि बिहीबार नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच गाभ्ने/गाभिने (एक्वीजिसन)सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

 

पछिल्लो दुई वर्षको अवधिमा भएको यो तेस्रो बिग मर्जर हो । २ वर्ष अघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेको थियो भने गत वैशाख ३० गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीच मर्जर सम्झौता भएको थियो ।इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया नटुंगिँदै फेरि अर्को बिग मर्जर सम्झौता भएको हो ।

 

आज साँझ होटल भिभान्तमा दुवै बैंकका प्रतिनिधिले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।

 

यसअघि नै नबिल र बंगलादेश बैंक बीचको सेयर अनुपात (स्वाप रेसियो) निर्धारण भइसकेको छ । नबिलले बंगलादेशलाई १००ः४३ अनुपातमा गाभ्ने भएको हो । सो अनुसार बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।यद्यपि, सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) रिपोर्टमा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।

 

मर्जर सम्झौता गरेसँगै आगामी आइतबारदेखि नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । एकीकृत कारोबार सुरु भएपछि बंगलादेश बैंकका सेयरधनीले नबिल बैंकको नामबाट सेयर कारोबार गर्नेछन् । अब दुवै बैंकले नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारलाई गाभ्ने/गाभिने सम्झौता बारे जानकारी गराउनुपर्नेछ ।

 

प्राप्तिपछि कत्रो बन्नेछ बैंक ?

 

नबिल बैंकको हालको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकले गत वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार हुने साधरण सभाले उक्त प्रस्ताव पारित गरेपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ।

 

त्यसैगरी हाल नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी ९ अर्ब ४ करोड रुपैयाँ छ। बैंकको साधरण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब १२ करोड पुग्नेछ ।

 

नबिलले बंगलादेश बैंकलाई १००ः४३ अनुपातमा गाभ्न लागेको हो । सो अनुसार बंगलादेश बैंकबाट नबिलको चुक्ता पूँजीमा ४ अर्ब २५ करोड रुपैयाँ थपिने छ । बंगलादेश बैंकलाई गाभेपछि नबिलको चुक्ता पूँजी २२ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ।

 

हाल बंगलादेश बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ । स्वाप रेसियो अनुसार बंगलादेश बैंकको पूँजीबाट नबिलको जगेडा कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ जानेछ। यसरी बंगलादेश बैंकलाई गाभ्दा नबिलको जगेडा कोषमा १२ अर्ब ६० करोड रुपैयाँ थपिने छ ।

 

हाल नबिलको रिजर्भमा १५ अर्ब ६३ करोड रुपैयाँ र रिटेन अर्निङमा ४ अर्ब ८३ करोड रुपैयाँ छ । बंगलादेश बैंकलाई गाभेपछि नबिलको रिजर्भ कोष र रिटेन अनिङ गरी कुल ३३ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

 

प्राप्तिपछि नबिलको पूँजी कोष (चुक्ता पूँजी र रिजर्भ) ५६ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नबलिको निक्षेप २ खर्ब २५ अर्ब ८८ करोड र कर्जा लगानी २ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, बंगलादेशको निक्षेप ७७ अर्ब ८८ करोड र ऋण लगानी ७४ अर्ब ६१ करोड रुपैयाँ छ । प्राप्तिपछि कुल कर्जा ३ खर्ब ३ अर्ब ७६ करोड र ऋण लगानी २ खर्ब ९० अर्ब १९ करोड पुग्नेछ ।

 

हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटीमएम १८५ वटा छन् । यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटीएम ८१ वटा छन् ।

 

 

 

 

 

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घट्यो Read Previous

विदेशिने बढे पनि रेमिट्यान्स आप्रवाह ७ प्रतिशतले घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ Read Next

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ