काठमाडौं । नेपाली पासपोर्ट विश्वकै कमजोर पासपोर्टको सूचीमा परेको छ । हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट विश्वकाे साताैं कमजाेर पासपाेर्ट बनेकाे हाे ।
पासपोर्ट इन्डेक्सका अनुसार नेपालको पासपोर्ट १०५ स्थानमा परेको छ । कमजोर समूहमा परे पनि नेपाली पासपोर्टले गत वर्षको तुलनामा ५ स्थान फड्को मारेको छ । यसअघि नेपाल ११० औं स्थानमा रहेको थियो ।
जुन देशको पासपोर्टले सबैभन्दा बढी देशमा अन अराइभल भिसा पाउँछ त्यसलाई सबैभन्दा शक्तिशाली र कम देशमा भिसा पाउनेलाई कमजोर मानिन्छ ।
नेपाललाई विश्वका जम्मा ३७ देशले मात्र अन अराइभल भिसा उपलब्ध गर्ने गरेको हेन्ली एण्ड पार्टनरको वार्षिक सूचीमा उल्लेख छ । नेपाली पासपोर्टमा अनअराइभल भिसा दिनेमा अफ्रिकाका १६, दक्षिण अमेरिकी एक, एसियाका ११, क्यारेबियन क्षेत्रका ३ र ओसेनिया क्षेत्रका ६ राष्ट्र रहेका छन् । नेपाली पासपोर्टमा अनअराइभल भिसा दिन १ मात्र दक्षिण अमेरिकी राष्ट्रमा बोलेभिया रहेको छ ।
एसियाका बंगलादेश, भारत, लाओस, पाकिस्तान, सिंगापुर, टिमोर–लेस्टे, क्याम्बोडिया, इन्डोनेसिया, माल्दिभ्स, फिलिपिन्स र श्रीलंकाले नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् ।
क्यारेबियन राष्ट्र डोमिनिका, हाइटी र सेन्ट भिन्सेन्टले पनि नेपाली पासपोर्टमा अनअराइभल भिसा दिने गरेका छन् ।ओसेनिया क्षेत्रका कुक आइल्याण्ड्स, निउइ, सामोआ, माइक्रोनेसिया, पलाउ आइल्याण्ड र तुभालुले पनि नेपाली पासपोर्ट वाहकलाई अनअराइभल भिसा दिँदै आएका छन् ।
यी हुन् विश्वका सबैभन्दा शक्तिशाली पासपोर्ट
विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको शीर्ष स्थानमा जापान र सिंगापुरको पासपोर्ट पर्न सफल भएको छ । यी देशका पासपोर्ट वाहकले विश्वका १९२ वटा देशमा विना भिसा वा अन अराइभल भिसा पाउने छन् ।
विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट सूचीको दोस्रोमा जर्मनी र दक्षिण कोरिया परेको छ । जर्मनी र दक्षिण कोरियाको पासपोर्टले विश्वका १९० देशमा अन अनअराइभल भिसा पाउँदै आएका छन् ।
त्यसैगरी, शत्तिःशाली पासपोर्टको सूचीमा क्रमशः इटाली, फिनल्याण्ड, स्पेन र लक्जेम्बर्ग तेस्रो नम्बरमा छन् । त्यस्तै, डेनमार्क,नेदरल्याण्ड र अष्ट्रिया चौंथो नम्बरमा रहेको छ । अष्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्याण्ड्स र स्वीडेन र पाँचौं स्थानमा आयरल्याण्ड र पोर्चुगल रहेका छन् ।
विश्वका सबैभन्दा कमजोर पासपोर्टमा पहिलो नम्बरमा अफगानिस्तान रहेको छ । जसबाट जम्मा २६ वटा देशमा मात्र अनअराइभल भिसामा यात्रा गर्न सकिन्छ । कमजोर पासपोर्टमा इराक दोस्रो, सिरिया तेस्रो, पाकिस्तान चौथो, यमन पाँचौं, सोमालिया छैठौं, प्यालेस्टाइन सातौं, लिबिया र नेपाल सातौं नम्बरमा परेका छन् ।