बेँसीसहर-चामे सडक २७ वर्षपछि कालोपत्र गरिँदै

सांकेतिक तस्वीर

लमजुङ । ट्रयाक खोलेको २७ वर्षपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।

 

विसं २०५१ मा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्रयाक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुपोत्तम अधिकारीले जानकारी दिए ।

 

उनले भने, “सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ ।” ५.५ मिटर सडक, १.१ मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्म सकिने छ ।

 

आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्ने गरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कूल रु ५२ करोड ९६ लाख खर्च हुने अधिकारीले जानकारी दिए। वर्खाका कारण असोजदेखि मात्र काम सुरु भएको आयोजनाले जनाएको छ ।

 

बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडकखण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्रयाक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । रासस

नेपालको पासपोर्ट विश्वकै कमजोरको सूचीमा, यी हुन् विश्वका शक्तिशाली १० पासपोर्ट Read Previous

नेपालको पासपोर्ट विश्वकै कमजोरको सूचीमा, यी हुन् विश्वका शक्तिशाली १० पासपोर्ट

४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’ Read Next

४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’