आइएफआइसीको बंगलादेश बैंकको सेयर चौधरी गु्रपलाई नबेच्न अदालतको आदेश

काठमाडौं । बंगलादेशको आइएफआइसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको सेयर खरिद प्रक्रिया अगाडि नबढाउन अदालतले आदेश दिएको छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर खरिद विक्री प्रक्रिया अघि नबढाउन आदेश दिएको हो । साथै ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले भनेको छ ।

 

‘उजुरी निवेदन बमोजिम आदेश किन जारी हुनु नपर्ने हो भनी ७ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरुका नाममा म्याद जारी गरी लिखित जवाफ प्राप्त भए वा म्याद नाघेपछि नियमानूसार पेश गर्नू,’ आदेशमा भनिएको छ ।

 

नबिलमा गाभिने अनैपचारिक सहमति गरिसकेको बंगलादेश बैंकको ४०.९० प्रतिशत सेयर नबिलका साझेदार विनोद चौधरी समूहले किन्ने तय भएको थियो । उनकी श्रीमती सारिकाको नाममा आइएफआइसीको सेयर खरीद गर्ने सम्झौता भएको थियो ।

 

सो सम्झौतापछि सनराइज बैंकका अध्यक्षसमेत रहेका एमभी ग्रुपका अध्यक्ष मोतीलाल दुगडले ९ महिनाअघि आफूलाई सेयर विक्री गर्ने सम्झौता गरेर फेरि चौधरी ग्रुपलाई बेच्ने सम्झौता गरेको भन्दै आइएफआइसी र नेपाल बंगलादेश बैंक विरुद्ध अदालतमा मुद्दा हालेका थिए ।

 

सोही मुद्दाको सुनावाइ गर्दै अदालतले खरिद प्रक्रिया अगाडि नबढाउन भनेको हो । ‘नेपाल बंगलादेश बैंकको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरीद गर्न ३१ मार्च २०२१ मा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट २ अप्रिल २०२१ मा स्वीकृत गरी करार कार्य अगाडि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिन्छ। त्यो पत्र अनुसार सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य ब्यक्तिलाई विक्री गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीका नाउँमा आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

 

स्वाप रेसियो समेत टुंगो लागिसकेको अवस्थामा अदालतले आइएफआइसीको सेयर खरिद विक्री रोक लगाएसँगै दुई बैंक बीचको मर्जर प्रक्रिया नै तत्कालका लागि धरापमा पर्ने सम्भावना देखिन्छ ।

 

आज मात्रै संयुक्त मर्जर समितिले दुई बैंक बीचको स्वाप रेसियो टुंग्याएको छ। संयुक्त मर्जर समितिले नबिल र बंगलादेशको स्वाप रेसियो १००:४२ प्रतिशत निर्धारण गरेको छ । सो अनुसार बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले नबिल बैंकको ४२ कित्ता सेयर पाउने छन् ।

 

यसअघि नै नबिल बैंक र बंगलादेश बैंकबीच गाभ्नेरगाभिने सम्बन्धी अनौपचारिक सहमति भइसेको छ भने दुवै बैंकले मर्जर समितसमेत गठन गरेका छन् । नबिलले उदयकृष्ण उपाध्याय र एनबी बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समित बनाएको छ ।

 

 

 

नबिल र बंगलादेश बैंकको स्वाप रेसियो टुंगो लाग्यो Read Previous

नबिल र बंगलादेश बैंकको स्वाप रेसियो टुंगो लाग्यो

अब नयाँ घर बनाउन नक्सा बोकेर नगरपालिका धाउनु नपर्ने, अनलाइनबाटै पास हुने Read Next

अब नयाँ घर बनाउन नक्सा बोकेर नगरपालिका धाउनु नपर्ने, अनलाइनबाटै पास हुने