काठमाडौं । विश्वमा सूचना प्रविधिको विकासले मानिसको जीवनलाई निकै सहज, सरल र सुखमय बनाएको छ । प्रविधिको प्रयोगले दैनिक उपभोग्य सामान खरिदविक्रीदेखि, आर्थिक तथा वित्तीय कारोबार, यात्रा, स्वास्थ्य उपचार, अध्ययन अनुसन्धान, अन्तरिक्ष यात्रामा समेत सहजता ल्याएको छ ।
सूचना प्रविधिको विकासले निकै संवेदनशील मानिने बैंक तथा वित्तीय क्षत्रमा पनि ठूलो फड्को मारेको छ । काजगी (ढड्डा) युगबाट सुरु भएको बैंकिङ तथा वित्तीय कारोबार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड हुँदै अहिले क्यासलेस कारोबारमा पुगेको छ ।
विश्वमा बैंकिङ प्रणालीको सुरुआत सन् ११५७ मा इटालीमा ‘भेनिसको बैंक’ स्थापना भएदेखि सुरु भएको थियो । त्यसबेला पूर्ण कागजी प्रक्रियाबाट कारोबार हुने गर्थ्यो । क्रमशः विश्वभर बैंक तथा वित्तीय संस्था खुल्ने क्रम पनि बढ्यो र कारोबार प्रविधिको पनि विकास भयो । यस्तै, सन् १४०१ मा स्पेनको बार्सिलोनामा, सन् १६०९ मा हल्यान्डमा र सन् १६१९ मा जर्मनीमा बैंकहरू स्थापना भए । करिब ९ शताब्दी लामो बैंकिङ प्रणाली २१ औँ शताब्दीमा आइपुग्दा विश्वमा पूर्ण डिजिटलाइजेसनको चरणमा पुगिसकेको छ ।
नेपालमा पनि वि.सं. १९९४ मा नेपाल बैंकको स्थापना भएर औपचारिकरुपमा सुरु भएको बैंकिङ प्रणाली डेढसय वर्षको अवधिमा निकै अघि बढिसकेको छ । वित्तीय पारदर्शिता र चुस्त कारोबारका लागि यस्ता प्रकारका प्रविधिको आवश्यकता झनै बढेको छ ।
प्रविधिको विकासले बैंकिङ क्षेत्रमा कारोबारले छिटो, छरितो, न्यून लागत र चुस्त बनाएको छ भने अर्कोतर्फ सुरक्षा चुनौति बढ्दै गएको छ । नेपाल जस्ता देशहरुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि लगाइएको लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने अवस्थाले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको संख्या समेत उल्लेख्य रुपमा बढेको छ । महामारीपछि संसारमै ई–बैंकिङ इच्छाको विषय मात्रै नभएर अनिवार्य बनेको छ । बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो प्रक्रियाबाट सहजता भएको छ । हातमा भएको स्मार्ट फोनबाटै क्षणभरमै सम्पूर्ण वित्तीय कारोबार हुने अवस्था छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हालसम्म नेपालमा ३ करोड ३२ लाख बैंक खाता रहेकोमा १ करोड ४८ लाखले मोबाइल बैंकिङ सेवा रजिष्टर गरेका छन् भने १ करोड १३ लाख बढी सक्रिय प्रयोग कर्ता रहेका छन् ।
त्यसैगरी, १२ लाखले इन्टरनेट बैंकिङ रजिस्टर गरेका छन् भने ८ लाख सक्रिय प्रयोगकर्ता रहेका छन् । करिब १० लाखको पहुँचमा डेबिड कार्ड रहेको छ भने २ लाखको पहुँचमा क्रेडिट कार्ड पुगेको तथ्याकले देखाउछ ।इन्टरनेट पहुँच र विस्तारको क्रमसँगै वित्तीय डिजिटलाइजेसन बढ्दै गएको देखिन्छ ।
कागजदेखि डिजिटल कारोबारसम्म
सन् १९६७ मा लन्डनको एनफिल्डको बार्कलेज बैंकले पहिलो पटक अटोमेटेड टेलर मेसिन (एटीएम) प्रविधिको प्रयोग गरेको थियो । यो प्रविधिको विकास धेरै अघि भए पनि नेपाल जस्ता देशमा पुग्न भने साढे तीन दशक लागेको थियो । नेपालमा पहिलोपटक एभरेष्ट बैंकले वि.सं. २०६१ जेठ २२ मा एटीएम सेवा सुरु गरेको थियो । यो प्रविधि आविष्कार भएको झन्डै आधा शताब्दी पछि समेत निकै प्रभावकारी र सहज मानिएको छ ।
विश्वमा सन् १९९९ मा मोबाइल बैंकिङ प्रविधिकोे विस्तार भएर प्रयोगमा आएको बताइन्छ । एसएमेसबाट सुरु भएर इनटरनेटको विकाससँगै मोबाइल बैंकिङ प्रयोगमा आएको हो । कुमारी बैंक लिमिटेडले नेपालमा पहिलो पटक सन् २००२ मा ई–बैंकिङ सेवा सुरु गरेको थियो । हिमालयन बैंकले नेपालमा पहिलोपटक क्रेडिट कार्ड प्रयोग गरेको थियो । नेपालमा सन् २००८ मा मोबाइल बैंकिङ ।
त्यसैगरी, सन् २००९ मा ई–सेवाले डिजिटल कारोबार सुरु गरेर नेपालमा डिजिटल वालेटको सुरुआत गरेको थियो । हाल करिब तीन दर्जन बढी वालेट संचालनमा रहेका छन् ।
विश्वमा सन् १९९४ मा पहिलो क्युआर कोड प्रणालीको सुरुआत टोयोटाको सहायक जापनीज कम्पनी डेन्सो ओभले गरेको थियो । यसको झन्डै दुई दशकपछि सन् २०१८ मा नबिल बैंकले नेपालमा पहिलो पटक क्युआर कोडको प्रयोग गरेको थियो ।
त्यसको केही समयपछि संञ्चालनमा रहेका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्नोे सेवा विस्तार गरेका थिए । हाल सामान्य ठेलागाडा देखि सुपर मार्केटसम्म क्युआरकोड सेवाको उपलब्धता रहेको छ । सेवाग्राहीले स्क्यान गरेरै भुक्तानी गर्न सक्ने भएकाले यसको प्रयोग आक्रमक रुपमा बढ्दै गएको छ ।
एउटा मोबाइल एपबाटै रकम कारोबार गर्न सकिने सजिलो प्रविधि भएकाले यो व्यापक बन्दै गएको छ । पछिल्लो समय कनेक्ट आइपीएस जस्ता भुक्तानी प्रदायकहरूको विस्तार हुने क्रम पनि उत्तिकै बढ्दो छ । यस प्रकारका प्रविधिको विकासले क्यास बोक्नु पर्ने बाध्यताबाट मुक्त गरेको छ । साथै, नयाँ नोट छपाईमा राज्यको वर्षेनी अर्बौं रूपैयाँ जोगिएको छ भने नक्कली नोटको कारोबारको चिन्ता समेत मुक्त गराएको छ ।
छोटो समयमै तीव्रगतिमा भएको प्रविधिको विस्तार यत्तिमै सीमित नभएर अझै नयाँ उचाइमा पुग्ने जानकारहरु बताउँछन् । प्रविधिको विकास बढ्दो क्रममा छ भने विकसितदेशहरुले अझै सहज रुपमा प्रयोग गर्न सकिने टेक्नोलोजीको खोजी गरिरहेका छन् । नेपाल इन्टरनेट फाउनडेसनका अध्यक्ष विक्रम क्षेष्ठ दुई तीन दशकको प्रविधिको विकासक्रम हेर्दा हरेक ३ देखि ५ वर्षमा नयाँ टेक्नोलोजिको आविष्कार भइरहेको बताउँछन् ।
‘दुई–तीन दशकमा प्रविधिको विकास हामीले हेर्दै जाने हो भने हरेक ३ देखि ५ वर्षभित्र नयाँ इनोेभेन्सन आइरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने,‘यस्ता प्रविधिको विकासले मानव जीवनलाई सहज बनाएको छ । विशेषगरी कोरोना महामारीपछि डिजिटल बैंकिङ मानिसको इच्छाको विषयभन्दा पनि अनिवार्य बनेको छ ।’
विकसित देशहरुमा विकास भएको प्रविधि विकासशिल देशहरुमा आउन केही समय लाग्ने गरेको छ । त्यस्ता प्रविधिहरुको विकास नेपालजस्ता देशरुका लागि संघर्षकै चरण रहको अध्यक्ष क्षेष्ठ बताउँछन् । ‘हामी पूरै क्यासलेस भन्दापनि लेसक्यास बनाउनेतिर गइरहेका छौँ । विकसित देशको तुलनामा नेपाल जस्तादेशहरुमा प्रविधिको विकास संघर्षकै चरणमा हुन्छ । विदेशमा लन्च भइसकेको प्रविधि पनि सवदेश आउन र सहजरुपमा प्रयोग हुन समय लाग्छ,’ उनी भन्छन् ।
अब कस्तो प्रविधिको विकास होला ?
विश्वको बैंकिङ प्रणलीमा अब कस्तो प्रकारको प्रविधिको विकास होला भन्ने सबैका लागि जिज्ञासाको विषय हो । यद्यपि, छोटो समयमै प्रविधिको फड्कोले यसको विस्तार असिमित रहेको अनुमान गर्न भने धेरै गाह्रो छैन् । टेक्नोलोजिको फड्कोले अबका नयाँ पुस्ता पुरानो प्रविधि प्रयोग गर्नै नसक्ने र मानिस रहित गर्न सकिने कामहरु गर्ने प्रविधिको विकास हुने क्षेष्ठ बताउँछन् ।
‘प्रविधिले यति चाँडै फड्को मारिसकेको छ कि पुरानो प्रविधि नयाँ पुस्तालाई प्रयोग गर्न दिइयो भने उनीहरुले त्यो प्रयोग नै गर्न सक्दैनन्,’ उनी भन्छन् ‘संसारभर मानिसको भौतिक उपस्थिति विना गर्न सकिने कामहरु गर्ने प्रविधि आउन सक्ने मेरो बुझाइ छ ।’
अब आउने प्रविधि ह्युमन टच नभइ गर्न सकिने कामहरु गर्ने भएको उनको भनाइ छ । संसारका विकसित केही देशहरुमा बैंकका शाखाहरु भर्चूूअल रुपमा संञ्चालनमा आउने अभ्यास समेत भइरहेको छ । पाकिस्तानको इस्लावादमा स्टन्डार्ड चाटर्ड बैंकले भचूर्अल शाखा समेत प्रयोगमा ल्याइसकेको उनले बताए । बैंकले शाखा २४ घण्टा खुला राख्ने गरेको छ । दिउँसो सबै कामहरु मान्छेले गर्ने र राती स्वचालित प्रणलीद्धारा आफै गरिने गरिएको छ ।
अहिलेको परिप्रेक्ष्यमा डिजिटल फसस्र्ट,कस्टोमर फस्र्ट भनेर सुरक्षा चुनौतिलाई ध्यानमा राखेर जानुुपर्ने उनले बताए । सबै सेवा सुविधाहरु चुस्त बनाएर त्यसमा सेवाहरुले विश्वास गर्ने वातावरण बनाएर अघि बढ्नुपर्ने क्षेष्ठको भनाइ छ ।