विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन शनिबारदेखि सञ्चालनमा आउने, टिकटको मूल्य कति ?

पर्वत । पर्वतमा निर्माण गरिएको सुपरम्यान शैलीको जीपलाइन शनिबारदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ । जीपलाइनको सबैजसो काम पूरा भएपछि पुस २४ गते शनिबारदेखि व्यावसायिक प्रयोजनका लागि खुल्ला गरिन लागिएको हो ।

 

केही दिनयता जीपलाइनको लगातार परीक्षण सकेर नियमित सञ्चालनमा ल्याइएको जीपलाइन सञ्चालक समितिका प्रमुख संरक्षक रामचन्द्र जोशीले जानकारी दिए । जोशीका अनुसार व्यावसायिकरूपमा सञ्चालन गरिएसँगै टिकट बुकिङ खुल्ला गरिएको छ । बिहीबारदेखि टिकट बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ । अहिले प्रतिव्यक्ति ३ हजार ५०० टिकट दर तोकिएको छ ।

 

नयाँ वर्ष २०२२ को पहिलो दिन जनवरी १ मा प्राविधिक उपकरण जडान भए पनि सबै परीक्षण नसकिएकाले सञ्चालन हुन नसकेको उनले बताए। जीपलाइनको व्यावसायिक सञ्चालनसँगै रिसोर्ट पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

 

कुस्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जिपलाइन यो क्षेत्रको पर्यटक प्रवद्र्धनको आयाम बन्ने लगानीकर्ताको दाबी छ । जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ ।

 

जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । जीपलाइन सञ्चालक समितिका अध्यक्ष विदुर पौडेलका अनुसार हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

 

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको अवतरण कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि पौडेलले बताए । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २ हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । हाईड्रोलिक पिङ जीपलाइनसँगै सञ्चालन हुने पनि उनले जानकारी दिए।

ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कर्जा दिने Read Previous

ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कर्जा दिने

माउन्टेन फ्लाइटप्रति आकर्षण बढ्दै, १० हजारदेखि २ लाखसम्मका प्याकेज, कहाँको कति ? Read Next

माउन्टेन फ्लाइटप्रति आकर्षण बढ्दै, १० हजारदेखि २ लाखसम्मका प्याकेज, कहाँको कति ?