ग्लोबल आइएमई बैंकले किसान कार्डमार्फत सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

 

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एण्ड डी इनोभेटिभका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तर्फबाट नगरपालिकाका उपमेयर विणादेवी राई र इन्फीकेयरका निर्देशक सविन मानन्धरले समझदारी पत्रमा हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आर एण्ड डी तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेशामा आवद्ध व्यवसायिक कृषहरुलाई आवश्यक मलखाद, बीउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्ड मार्फत सहुलियतपूर्ण व्याजदरमा कृषि कर्जा उपलब्ध गराउनेछ ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र आर एण्ड डी इनोभेटिभले कृषक पहिचान तथा कृषकहरुलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।

 

कर्जा, नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कजाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अनुसार ब्याज अनुदान प्रदान गरिनेछ । कृषि सामग्री विक्रेता दर्ता गर्ने (डेटाबेस व्यवस्थापन) तथा कार्ड मार्फत हुने भुक्तानीको प्राविधिक सहजीकरण इन्फीकेयरले गर्नेछ ।

 

ग्लोबल आइएमई बैंकले हाल देशभरका २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

जापानबाट १० अर्ब ३९ करोड ऋण सहायता स्वीकार Read Previous

जापानबाट १० अर्ब ३९ करोड ऋण सहायता स्वीकार

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन शनिबारदेखि सञ्चालनमा आउने, टिकटको मूल्य कति ? Read Next

विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन शनिबारदेखि सञ्चालनमा आउने, टिकटको मूल्य कति ?