बाहिरी चक्रपथ निर्माण गफमै सीमित, डीपीआर बनेको १४ वर्षमा पनि लागेन टुंगो

काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला समेटेर निर्माण गर्ने भनिएको बाहिरी चक्रपथ निर्माण अझै टुंगो लाग्न सकेको छैन् । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेको १४ वर्ष बित्दा समेत आयोजनाको लगानी टुंगो लाग्न नसक्दा अझै अन्योलमा रहेको हो ।

 

२०६४ सालमा डीपीआर बनेको भए पनि अझै बन्ने नबन्ने टुंगो लाग्न नसकेको हो । सरकार आफैले पनि लगानी गर्न नसक्ने र अहिलेसम्म कुनै विदेशी लगानीकर्ताले प्रतिबद्धता जनाएका छैनन् । चक्रपथ बनाउने भनेर डीपीआर बनेको डेढ दशक बित्दा समेत छलफल बाहेक अन्य प्रगति हुन सकेको छैन भने डीपीआर डिजाइन भएका स्थानहरु घरले ढाकिएका छन् ।

 

राजनीतिक दलका नेताहरुले चुनावका बेला चुनावी नारा बनाउने गरेका छन् भने सरकारले पनि बेलाबेलामा बाहिरी चक्रपथ निर्माण गर्ने योजना सुनाइरहेको हुन्छ । तर, काम भने अझै अघि बढ्न सकेको छैन ।

 

उपत्यका विकास प्राधिकरणले आयोजनालाई गति दिने सोचका साथ चोभार–सतुंगलको ६.६ किलोमिटर खण्डमा चक्रपथ निर्माणको पहिलो काम अघि बढाउने बताइए पनि हालसम्म कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।

 

चालु आर्थिक वर्ष २०७८/७९ मा बाहिरी चक्रपथलाई लिएर एक पटक मात्र छलफल भएको प्राधिकरणले जनाएको छ । आयोजना प्रमुख दिनेशकृष्ण पोतेका अनुसार केही दिन अघि मात्र आयोजनाका विषयमा मन्त्रालयमा छलफल भए पनि कुनै ठोश निर्णय हुन सकेको छैन ।

 

‘आयोजना जहाको त्यहीँ छ, छलफल भयो, हामीले प्राजेक्ट देखाइसक्यौं, तर कहाँ कहिले बनाउने केही निर्णय भएको छैन, बजेट छैन, के गरी अघि बढ्छ,’ पोतेले चाणक्य पोष्टसँग भने ।

 

चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको विभागले जनाएको छ । उक्त क्षेत्रको जग्गा रोक्का, बजेट लगायतका विषयमा केही काम अघि बढेको छैन । आयोजनाका अनुसार सो खण्डमा करिब २ हजार २०० घरको मुआब्जा दिनुपर्ने हुन्छ । त्यसका गागि १ अर्ब ३६ करोड रुपैयाँ हाराहारी खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

 

चोभार–सतुंगल खण्डमा पर्ने जग्गा विक्रीमा रोक लगाउन ‘भौतिक विकास समिति’को बैठक बसेर तयारी गरिएको प्राधिकरणले जनाएको छ । जग्गालाई ‘ल्याण्ड पुलिङ’ गर्ने ठाउँहरुमा ल्याण्ड पुलिङ गरिने छ । चोभार–सतुङगलमा सडक विस्तारका क्रममा जग्गा धनिको ७ देखि ९ प्रतिशत जमिन सडकमा पर्ने देखिएको छ । जग्गा एकीकरण विधिबाट काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिर्ने बजेटमा उल्लेख छ ।

 

डीपीआर ‘एलाइमेन्ट रिभाइज’ गर्नुपर्ने

 

उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘ एलाइमेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रक्रिया भने सुरू गरिएको छैन ।

यस्तै, केही समयअघि सरकारले सतुंगलदेखि चोभारसम्म धेरै वस्ती नभएकाले बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा सोही सडक निर्माण गर्ने योजना बनाएको थियो । ६.६ किलोमिटर लम्बाइ रहेको सो खण्डमा सडक निर्माणका लागि कुनै कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छैन ।

 

प्राधिकरणले डीपीआर निकै पहिले बनेको हुँदा घना वस्ती भएका ठाउँलाई छोडेर सम्भव भएको स्थानबाट निर्माण सुरू गर्ने योजना बनाएको छ । विगतमा बनेको डीपीआरलाई परिवर्तन गर्न छुट्टै मास्टर प्लानको तयारी गर्नु पर्ने भए पनि उत्त कार्यका लागि कुनै एक्सन लिइएको छैन ।

 

चिनियाँ कम्पनीले हात झिक्यो

 

यसअघि एक चिनियाँ कम्पनीले बाहिरी चक्रपथ निर्माणमा चासो देखाए पनि अहिले अनिच्छा देखाएको छ । उक्त कम्पनीले ईएफसी मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनाएको थियो ।

 

नेपालमा ईएफसी मोडलमा कुनै पूर्वाधार निर्माण नभएकाले यसमा नेपाल सरकारले तत्कालै स्वीकृत दिन नसक्ने बताएको थियो । ईएफसी मोडलमा बनाउन नेपाल सरकारले असमर्थन जनाएपछि चिनियाँ कम्पनीले यसमा रुची नदेखाएको जनाइएको छ ।

 

घना बस्ती बाधक बन्दै

 

डीपीआर अनुसार सडक बनाउने भनिएको ठाउँमा बस्ती भरिँदै जाँदा पनि चक्रपथ निर्माणमा समस्या देखिएको छ । भक्तपुर र ललितपुरमा खुल्ला जमिन भए पनि काठमाडौं भित्र सहरी विकास उच्च हुँदा बाहिरी चक्रपथ विस्तारमा जटिलता देखिएको हो । काठमाडौंको, नागर्जुन, रानीवन लगायत स्थानमा बाक्लो वस्ती छ ।

 

बाहिरी चक्रपथको मोडालीटी अनुसार ५० मिटर बाटो हुनुपर्छ । दायाँ/बाँया २५०/२५० मिटर ल्याण्ड पुलिङ गर्ने योजना रहेको थियो । बाक्लो वस्तीमा ५०० मिटर जमिन लिन गाह्रो छ । त्यसैले बाहिरी चक्रपथको यो मोडालिटी नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।

 

चिनियाँ कम्पनीले समेत मोडालिटीमा परिवर्तन माग गरेको थियो । केही ठाउँमा घरभएका ठाउँलाई छाडेर माथिबाट लानेगरी बनाउनु पर्ने देखिन्छ । सहरी विकास बढेकाले मुआब्जा दिन सक्ने अवस्था छैन । एउटा जमिनको मूल्य ३०/४० लाख रुपैयाँ प्रतिआना रहेको छ । यस अनुसार मुआब्जा बाडेर बाहिरी चक्रपथ निर्माण असम्भव बनेको हो ।

 

बाहिरी चक्रपथ अन्तर्गत १०/१२ किलोमिटर क्षेत्रमा बस्ती बढेको प्राधिकरणले जनाएको छ । भूकम्पपछि बाहिरी चक्रपथ बन्ने क्षेत्रमा बस्ती बढ्दै गएका हुन् । बाहिरी चक्रपथ अन्तर्गत चोभार–सतुङगलको बाटो खुल्ला गरे केही समस्या समाधान हुने अनुमान गरिएको छ । ६.६ किलोमिटर लम्बाइ रहेको चोभार–सतुंगल तर्फ बाटो खुल्ला गर्न सके अन्य क्षेत्रमा पनि विस्तारै बाटो विस्तार गर्दै खुलाउन सक्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 

बाहिरी चक्रपथलाई ९ वटा खण्डमा छुट्याइएको छ । चिनियाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको थियो । जसमा केही टनेलहरु बनाउन समेत माग गरिएको थियो । चिनियाँ डिजाइनमा बाहिरी चक्रपथ बनाउन निकै महंगो पर्ने नेपाल सरकारको बुझाइ रहेको छ ।

सांकेतिक तस्वीर

नेपाल सरकारले बाहिरी चक्रपथ ७२ किलोमिटरको चौडाइमा बनाउने भनेको थियो । ०७६/७७ मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ लाई ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) दिने तयारी भइरहेको थियो । तर, आफ्नो डिजाइन अनुसार बनाउन नेपाल सरकारले नमानेपछि चिनियाँ कम्पनी पछि सरेको हो ।
२०७५ साल चैत्र १५ र १६ गते भएको लगानी सम्मेलन भएको थियो । सो सम्मेलनमा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ ले निर्माण गर्छु भन्दै प्रस्ताव हालेको थियो ।

 

बाहिरी चक्रपथ निर्माण गर्न चीनका चार वटा कम्पनीले आशयपत्र दिएका थिए । लगानी बोर्डले तीमध्ये तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सर्ट लिस्टमा सूचीकृत गरेको थियो । २०७६ देखि नै लगानी बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि आरएफपी माग गर्ने तयारी गरिरहेको थियो ।

 

बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ अनुमान गरिएको छ । बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य आर्थिक वर्ष २०६१/६२ देखि नै प्रारम्भ गरिने छ’ भनी बजेट भाषणमार्फत घोषणा भएको थियो ।

 

त्यसपछि यससम्बन्धी कार्य प्रारम्भ भएको हो । यसअघि उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

कमलपोखरीका माछा धमाधम मर्न थाले, महानगर विवादमा Read Next

कमलपोखरीका माछा धमाधम मर्न थाले, महानगर विवादमा