कमलपोखरीका माछा धमाधम मर्न थाले, महानगर विवादमा

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेका माछा धमाधम मर्न थालेपछि काठमाडौं महानगरपालिका विवादमा आएको छ । विगत १० दिन यता कमलपोखरीमा रहेका माछा मर्न थाले पनि महानगरले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएपछि विवादमा आएको हो ।

 

स्थानीयले माछा मरेको खबर गरे पनि कामपाले माछा के कारणले मरे, कति माछा थिए र माछा कसले पोखरीमा हालेको हो भन्नेबारे जानकारी नभएको बताएपछि महानगर विवादमा आएको हो ।

 

महानगरका प्रवक्ता ईश्वरमान डंगोल कमल पोखरी ब्यूटिफिकेसनको काम काठमाडौं महानगरले गर्दै आएको भए पनि माछाबारे कुनै जानकारी नभएको बताउँछन् । ‘महानगरले कमलपोखरीको ब्युटिफिकेसनको काम गर्दै आएको हो, माछा कसले पोखरीमा छोडेको थाहा छैन, तर समाचारबाटै कमलपोखरीमा रहेका माछा मरे रे भन्ने सुनिएको छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

‘महानगरले सधैं गैरजिम्मेवार र नालायकीपन देखाउँछ’

 

महानगरले कमलपोखरीमा आफूले कुनै पनि माछा नहालेको बताइरहँदा स्थानीय भने महानगरले हालेको माछा मर्न थालेपछि आफू दोषबाट बच्नको लागि माछाबारे केही जानकारी दिएको बताउँछन् ।

‘विगतमा तिब्बतियनहरुले विभिन्न पूजाआजाको नाममा माछा पोखरीमा छोड्ने गरेका थिए, तर लामो समयदेखि माछा छोडेका छैन्न, पोखरीमा माछा कामपाले नै छोडेको हो, माछा मर्न थालेपछि आफ्नो बचाउ गर्न महानगरले झुट बोल्यो,’ स्थानीय इन्द्रमान बज्राचार्यले भने ।

 

अर्का स्थानीय सुन्दरमान श्रेष्ठको भनाइ पनि उस्तै छ । ‘महानगरले गरेका हरेक काम सफल भएका छैन्न्, पोखरीमा माछा मरेपछि कामपा पछि हटेको छ, जेठो महानगर भएर गल्तीमा सधैं भाग्न मिल्छ ? महानगरले सधैं गैरजिम्मेवार र नालायकीपन देखाउँछ ।’

 

कमलपोखरी घुम्न जानेले विभिन्न खानेकुराका बोक्रा, चाउचाउ बिस्कुट लगायतका खोल फालेर पोखरी फोहर हुने गरेको स्थानीय बताउँछन् । ‘मान्छे आफैले पोखरी फोहर पारे, तर विगतमा ढलको पानी पोखरीमा जाने भएकाले फोहर हुन्थ्यो, तर अहिले ढलको व्यवस्था छ, पोखरीमा ढलको पानी मिसिएको छैन, तर विगत १० दिन यता माछा मरेका मरै छन्। जिउँदा भएका केही माछा पनि झोक्राएका छन् किन हो, कामपाले यस विषयमा कुनै खोजी गरेको छैन,इन्द्रमान बज्राचार्य भन्छन् ।

 

कमलपोखरीमा नियमित सरसफाई र व्यवस्थापन नहुँदा पोखरी कुरूप बन्दै गइरहेको छ । काठमाडौं महानगरपालिका र स्थानीयको सहकार्यमा निर्माण गर्न लागिएको कमल पोखरी ६ करोड ३६ लाख रुपैयाँमा पोखरी निर्माण भइरहेको छ । पोखरी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य सहित २०७६ असार मै पुनर्निर्माण सुरु गरिएको भएता पनि हाल सम्म निर्माणको कार्य जारी नै रहेको छ । पोखरी सौन्दर्यकरणको जिम्मा जयधनञ्जय र कँडेल जेभीले पाएको छ ।

 

बाहिरी चक्रपथ निर्माण गफमै सीमित, डीपीआर बनेको १४ वर्षमा पनि लागेन टुंगो Read Previous

बाहिरी चक्रपथ निर्माण गफमै सीमित, डीपीआर बनेको १४ वर्षमा पनि लागेन टुंगो

मोसफलमा काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक छ : अर्थमन्त्री शर्मा Read Next

मोसफलमा काठमाडौं सहरको नयाँ ‘भर्सन’ आवश्यक छ : अर्थमन्त्री शर्मा