काठमाडौं । नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । तोकिएको समयवधिभन्दा अगाडि नै सम्पन्न गर्ने लक्ष्यका साथ कामको तीव्रता दिइएको आयोजनाले बताएको छ ।
हालसम्म आयोजनाको २७ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीयतर्फ ३७ प्रतिशत प्रगति भएको नागढुंगा नौबिसे सुरुङमार्गका आयोजनाले बताएको छ ।
तिहारपछि आयोजनाले कामको गति बढाएको छ । नागढुंगा नौबिसे सुरुङमार्गका आयोजना निर्देशक नरेशमान शाक्यका अनुसार अहिले मासिक ३०० मिटर सुरुङ खन्ने गरी काम भइरहेको छ । दशैंअघि दैनिक ६ मिटर सुरुङ खनिँदै आएकोमा हाल १० मिटर खन्न थालिएको उनले बताए ।
कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार १८१ मिटर सुरुङ खनिसकिएको छ । आयोजना निर्देशक शाक्यका अनुसार हालसम्म ७३६ मिटर मुख्य खनिसकिएको छ । काठमाडौंतर्फ ३७२ मिटर र धादिङतर्फ ३६४ मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, स्केप टनेल अन्तर्गत हालसम्म १ हजार २७६ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७४६ र धादिङतर्फ ५३० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ भने हालसम्म ४२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २७ मिटर र धादिङतर्फ १५ मिटर निर्माण गरिएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।