काठमाडौं । ललितपुरको ग्वार्कोमा बन्ने फ्लाइओभर निर्माणको ठेक्का प्रकृयाका क्रममा पहिलो पटक फेल भएको कम्पनीलाई पुनः पास गराइएको छ । फ्लाइओभर निर्माणका लागि आवेदन दिएको एलिट कन्स्ट्रक्शनको प्राविधिक प्रस्ताव पहिलोपटक फेल गरिए पनि पछि पुनः पास गराइएको हो ।
आवेदन दिएपछि एलिटलाई सार्वजनिक खरिद कार्यालयले कालोसूचीम राखेकोभन्दै सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले गत हप्ता उसको प्राविधिक प्रस्ताव फेल गरेको थियो । तर, एलिटले आफूले आवेदन दिनुअघि कालोसूचीमा नरहेकाले प्राविधिक प्रस्ताव पास हुनेपर्नेभन्दै निवेदन दिएको थियो । सोहीबीचमा अदालतले प्राविधिक मूलयांकनमा समावेश गर्न स्टेअर्डर दिएपछि उसको प्राविधिक प्रस्ताव पारित भएको हो ।
फ्लाइओभर निर्माणका लागि ९ वटा कम्पनीले आवेदन दिएकोमा एलिट कन्स्ट्रक्सन र लामा/गोल्डेन गुड जेभी बाहेक अन्य ७ वटा कम्पनीको प्राविधिक प्रस्ताव छनोट भएको थियो । पछि एलिट अदालत भएपछि उसको प्रस्तावमा पनि मूल्यांकनमा पास गरिएको हो ।
हाल ठेक्का प्रकृयाको प्राविधिक मूल्यांकनमा ८ वटा कम्पनीलाई पास गरिएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर इन्जिनीयर सौरभ बज्रचार्यले कालोसूचीमा नराख्न सर्वोच्व अदालतबाट स्टेअर्डर आएपछि फेरि पास गरिएको बताए । उनका अनुसार यसैसाता सूचना समेत निकालिने छ । ‘कालोसूचीमा केन्द्रले राखेको थियो, सर्वोच्व अदालतबाट कालोसूचीमा नराख्न स्टेअर्डर आएपछि हामीले ठेक्का प्रकृयामा समावेश गरेका हौँ,’ उनले चाणक्य पोष्टसँग भने ।
प्राविधिक मूल्यांकन पछि हाल एमआर भीम–सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा–गोल्डेन गुड जेभी, सूर्य–भ्याली÷विकास–ब्रदर्स जेभी, एलिट कन्स्ट्रक्सन, अनक–श्रेष्ठ जेभी, तुन्दी–रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष–समानान्तर जेभी र एलिट कन्स्ट्रक्सन गरी ८ वटा कम्पनी पास भएका हुन् ।
यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयका सूचना अधिकारी टिकाराज पोखरेलले उक्त कम्पनीले ठेक्काको काम कारवाहीमा भाग लिन पाउने बताएका थिए । कालोसुचीमा पर्नु र सस्पेन्स गर्नु बराबर भएको भन्दै उनले सो कम्पनी बाहेक अन्य ठेक्का कम्पनीहरुलाई राखेर प्राविधिक मूल्यांकन अघि बढाइने बताएका थिए । अब एक हप्ताभित्र ८ वटा कम्पनीको वित्तीय प्रस्ताव खोलिनेछ । सबैभन्दा कम मूल्य राख्ने कम्पनीले उक्त ठेक्का पाउने छन् ।
फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्ने गरी ठेक्का निकालिएको छ । काम सुरु गरेको २ वर्षमा आयोजना सक्ने लक्ष्य रहेको छ । जसमा ४ महिना डिजाइन र २० महिना निर्माण अवधि तोकिएको छ ।
४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ । फ्लाइओभर निर्माण गर्न करिब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।