काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । यससाता सुरुमा तीन दिनमै १५६ अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्शन आएको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ३० करोडले बढेर साढे ४ अर्ब रुपैयाँ नाघेको छ ।
बुधबार सेयर बजार मापक सूचक नेप्से ३०.७५ अंकले घटेर २६४९.२० विन्दुमा आइपुगेको छ । आज २३६ कम्पनीको ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये हाइड्रोपावर र फाइनान्स समूह बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । होटल समूह सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका २३६ कम्पनीमध्ये ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १६ करोड र माथिल्लो तामाकोशी १४ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले बढेको बजारमा पनि आज मध्य भोटेकोशी जलविद्युत्को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज विजय लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.५५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, फर्स्ट माइक्रोफाइनान्स, किसान लघुवित्त र सिभिल लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।
त्यस्तै, प्राइम् लाइफ, नेरुडे लघुवित्त, सपोर्ट लघुवित्त, गणपति लघुवित्त, लक्ष्मी इक्वीटी म्युचुअल फण्ड, आरएसडीसी लघुवित्त, महालक्ष्मी विकास बैंक, आशा लघुवित्तसहित डेढ दर्जन कम्पनीको सेयर मूल्य ३ प्रतिशले घटेको छ ।