काठमाडौं । पछिल्लो केही महिना यता तंग्रिन थालेको पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायमा पुनः कालोबादल मडारिने संकेत देखिएपछि व्यवसायीहरू चिन्तित हुन थालेका छन् ।
झन्डै डेढ वर्ष बन्द भएका पार्टी प्यालेसहरू केही महिना अघिदेखि संचालनमा आएका थिए । तर, पछिल्लो समय विश्वभर तीव्र गतिमा ओमिक्रोन फैलिन थालेसँगै व्यवसाय फेरि बन्द गर्नु पर्ने सम्भावना हुनसक्ने भन्दै व्यवसायीहरू त्रसित हु्न थालेका हुन् ।
महामारीले करिब डेढ वर्ष ठप्प प्रायः बनेकोे होटल तथा पार्टी प्यालेस क्षेत्र भदौ/असोज यता चलायमान बनेको थियो । साथै, मंसिरमा विहेको सिजनले व्यवसायलाई कमब्याक गराउँदा लगानीकर्ता उत्साहित बनेका थिए ।
तर, पूर्ण रुपमा व्यवसाय संचालन हुने नपाउँदै फेरि कोरोनाको प्रभाव देखिन थालेपछि व्यवसायी चिन्तित हुन थालेका छन् । संक्रमण विश्वव्यापी रुपमा फैलिन थालेपछि सरकारले विदेशबाट हुने आवतजावत समेत क्षेत्रगत रुपमा प्रतिबन्ध लगाउन थालेको छ । भारतमा पनि संक्रामण दैनिक रुपमा बढ्दो छ । खुला सिमानाका कारण नेपालमा पनि फैलिने सम्भावना उच्च रहेको छ ।
नेपालमा ७ हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ संचालनमा रहेका छन् । तर ओमिक्रोनको त्रासले व्यवसायीहरूको लगानी फेरि धरापमा पर्ने सम्भावना भएको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले जनाएको छ ।
‘कोरोनापछि तंग्रिँदै गरेको पार्टी प्यालेस तथा क्याटरिङ पुनः ओमिक्रोनको त्रासमा परेको छ, जसले गर्दा लगानी डुब्ला भन्ने चिन्ता बढेको छ,’ महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डेले चाणक्य पोष्टसँग भने ।
लामो समयपछि तंग्रिन लागेको व्यवसाय फेरि बन्द भए अब कहिल्यै उठ्न नसक्नेगरी थलिने उनको भनाइ छ । लकडाउनको अवस्था सृजना हुनुभन्दा अगाडि नै सर्तकता अपनाउन पाण्डेले आग्रह गरेका छन् ।
‘हामी ओमिक्रोनको त्रासमा छौं, फेरि पनि विगतमा झैं लकडाउनको अवस्था सृजना भए उठ्न सकिँदैन, त्यसैले समयमै सरकार, सर्वसाधरण सबैले सावधान अपनाउनुपर्छ ’ उनले भने ।
कोरोनका कारण झन्डै दुई दर्जन पार्टी प्यालेस सधैंका लागि बन्द भइसकेका छन् भने संचालनमा रहेका केहीको अवस्था बैंकको ऋण तिर्न नसकेर दयनीय रहेको छ ।लकडाउनको कारण लामो समयसम्म पार्टी प्यालेस बन्द हुँदा यसक्षेत्रमा आबद्ध झण्डै ८० हजार भन्दा बढी श्रमिकले रोजगारी गुमाएको संघले जनाएको छ । पार्टी प्यालेसका फूल टाइम र पार्टटाइम काम गर्ने कर्मचारी बेरोजगार बनेका थिए ।
प्रवक्ता पाण्डेका अनुसार प्यालेस तथा क्याटरिङ क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष गरी करीब २ लाख मानिस निर्भर रहेका छन् । ‘यस क्षेत्रमा आबद्ध व्यक्तिहरूको रोजगारी साथै, लगानी सुरक्षित गर्न पनि समयमै स्वास्थ्य मापदण्ड पालना गरेर ओमिक्रोन बाट बच्नुपर्छ,’ पाण्डे भन्छन् ।
एउटै पार्टी प्लालेसमा १७ करोडसम्म लगानी
व्यवसायीहरूले एउटै पार्टी प्यालेसमा १७ करोडसम्म लगानी गरेको जनाइएको छ । स्तर र क्षमता अनुसार पार्टी प्यालेसमा २ करोडदेखि १७ करोड रुपैयाँसम्म लगानी भएको महासंघले जानकारी दिएको छ ।
एकीन तथ्यांक नभए पनि देशभरका पार्टी प्यालेसमा १ खर्ब बढी लगानी रहेको जनाइएको छ । सोमध्ये व्यवसायीले बैंकबाट ऋण लिएर समेत लगानी गरेका छन् ।