काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबारदेखि उच्च अंकले बढेको नेप्से आज पनि सोही लयमा उकालो लागेको हो । पछिल्ला तीन दिनमै नेप्से १५६ अंकले बढेको छ ।
सूचकमा उछाल आए पनि आज कारोबार रकमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २० करोडले घटेर सवा ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।
मंगलबार सेयर बजार मापक सूचक नेप्से ६३.०१ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ । आज २३४ कम्पनीको ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँ बराबरको ९१ लाख १० हजार ७५८ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ५.२३ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ, हाइड्रोपावर, लगानी र फाइनान्स समूह पनि ३ प्रतिशभन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका २३४ कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा २९ कम्पनीको घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक १३ करोड र अपी पावर ११ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्री इन्भेष्टमेन्ट र सप्तकोशी विकास बैंकको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी र नेपाल एसबीआई बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, सिन्धु विकास बैंक ९.४३, ग्लोबल आइएमई बैंक, किसान लघुवित्त, मल्टिप्रपोज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स र सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, आरएसडीसी लघुवित्त, स्ट्याण्डर्ड चार्टर्ड, निफ्रा, गुह्वेश्वरी मर्चेन्ट, पोखरा, फाइनान्स, एभरेष्ट बैंकर जनउत्थान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा आज ‘१०.३५% कृषि विकास बैंकको डिबेञ्चर २०८३’का धनीले सबैभन्दा धेरै १.९६ प्रतिशत गुमाएका छन् ।