सिद्धबाबामा सुरुङ निर्माणका लागि ४ चिनियाँ कम्पनी सर्टलिष्ट, फागुनसम्म ठेक्का लाग्ने

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि ४ वटा चिनियाँ कम्पनी सर्टलिष्टमा परेका छन् । सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान विकास केन्द्रले आवेदन दिएका ९ कम्पनीमध्ये ४ कम्पनीको प्राविधिक प्रस्ताव पेश पास गरेको हो ।

 

गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते पाल्पास्थित सिद्धबाबामा सुरुङ निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा ९ कम्पनीले आवेदन दिएका थिए । सोमध्ये कोभेक/सीआरइजीसी जेभी, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र सीसीइसीसी/सीआरसीसी १४-सियुयान जेभीको प्राविधिक प्रस्ताव पास भएको हो ।

 

केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले आगामी हप्ता प्राविधिक प्रस्ताव पास भएका ४ कम्पनीको आर्थिक प्रस्ताव खोलिने बताए । आर्थिक छनोटमा सबैभन्दा कम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिइने छ । उनका अनुसार आगामी फागुसम्ममा ठेक्का टुंगो लगाइ बजेट मोबिलाइजेशन गरिने छ ।

 

सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ लगानी अनुमान गरिएको छ । छनोट हुने कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्नु पर्ने छ । निर्माण पछिको थप ५ वर्ष निर्माण कम्पनीले निर्माण क्षेत्रमा केही भए मर्मत सम्भार गर्नुपर्नेछ ।

 

पाल्पा–बुटवल सडक खण्डअन्तर्गत पर्ने जोखिम क्षेत्र सिद्धबाबामा इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्न लागिएको हो । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाइ सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

 

सुरुङमार्गका लागि स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडीसी) को आर्थिक र प्राविधिक सहयोगमा एक वर्ष लगाएर सुरुङमार्गको बेसलाइन सर्भे गरिएको छ ।

 

उक्त सुरुङमार्ग एसियन हाइवे स्ट्याण्डर्डमा १.१२६ किलोमिटर निर्माण हुनेछ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ । सुरुङमार्गभित्र इमर्जेन्सी क्रस प्यासेज, टनेल भेन्टिलेसन,लाइटिङ, मनिटरिङ सिस्टम लगायत हुने बताइएको छ।

 

सुरुङमार्गसँगै रक सेट निर्माणको पनि योजना रहेको छ । ’रक सेट’ पैदल यात्रु आवागमनका लागि हुनेछ । उक्त रक सेटमा आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै बाहिर करिब ७८० मिटरको रक सेट बनाउन लागिएको हो ।

बैंकहरूले स्थानीय तहको संचित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने Read Previous

बैंकहरूले स्थानीय तहको संचित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने

नेप्सेमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १७ कम्पनी Read Next

नेप्सेमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १७ कम्पनी