अब विद्युत् प्राधिकरणको मालसामान निगमको जहाजमार्फत ढुवानी, कर्मचारीलाई टिकटमा १५% छुट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजमार्फत ढुवानी गरिने भएको छ ।

 

उक्त प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 

सम्झौताअनुरुप प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ । यस्तै प्राधिकरणका कर्मचारी तथा निजको परिवारका सदस्यलाई निगमको अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशत छुट दिइनेछ । कार्गो रेटमा कार्गोको प्रकृतिअनुसार मात्राका आधारमा ५ देखि १० प्रतिशत छुट दिइने सम्झौता भएको निगमले जनाएको छ ।

 

सो अवसरमा पर्यटनमन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरुलाई पनि आग्रह गरे ।

 

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दुई संस्थाबीच सहकार्यको सम्झौता प्रशंसनीय रहेको भन्दै निगमलाई उकास्न पनि प्राधिकरणसँग गरिएको सो सम्झौताले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

 

निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लिखित कुराहरुलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जहाजको शौचालयको फोहोर फाल्ने भाँडोमा नवजात शिशु भेटेपछि... Read Previous

जहाजको शौचालयको फोहोर फाल्ने भाँडोमा नवजात शिशु भेटेपछि...

बैंकहरूले स्थानीय तहको संचित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने Read Next

बैंकहरूले स्थानीय तहको संचित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने