काठमाडौं । सम्पत्तिलाई सामाजिक प्रतिष्ठा, सम्मान र शक्तिसँग जोडेर हेरिन्छ । जोसँग धेरै धन, सम्पत्ति छ समाजमा ऊ नै धेरै सुखी, प्रतिष्ठित र शक्तिशाली हुने गर्दछ ।
यीनै कारण विश्वभरका मानिस सम्पत्ति आर्जनका लागि विभिन्न पेशा, व्यवसाय गर्ने गरेका छन् । केही पुर्ख्यौली सम्पत्तिको जगमा उभिएर व्यापार व्यवसाय गर्दै आफू धनी बनिरहेका छन् भने केही आफ्नै क्षमता, मेहनतबाट धनी बनिरहेका छन् ।
समाजमा रहेका धनीहरुमध्ये पनि अर्बपतिहरुको छुट्टै सान र प्रतिष्ठा हुने गरेको देखिन्छ । समाज र देशको परिस्थिति अनुसार कहीँ लाखौंको सम्पत्ति हुनेलाई धनी मानिन्छ भने कहीँ करोडौं, अर्बौंको सम्पत्ति हुनेलाई ।
विश्व प्रसिद्ध म्यागेजिन फोर्ब्सले भने १ अर्ब डलर (करिब १ खर्ब २० अर्ब रुपैयाँ) सम्पत्ति हुनेलाई धनाढ्य (बिलिनायर)को सूचीमा राख्ने गरेको छ । फोर्ब्सका अनुसार २०२१ को अन्त्यसम्म विश्वभर २७०० बढी अर्बपति रहेका छन् । तिनीहरुको कुल सम्पत्ति १३० खर्ब ( १३ ट्रिलियन)डलर रहेको छ ।
अमेरिका र चीनमा एउटै देशमा ५००/५०० बढी बिलिनायरहरु रहेका छन् भने गरिब तथा पीछडिएका देशमा मुश्किलले एकजना पनि अर्बपति भेटिन गाह्रो छ । नेपालमा एकमात्र डलर अर्बपतिको रुपमा विनोद चौधरी रहेका छन् ।
फोर्ब्सको धनाढ्यको सूचीमा रहेका अधिकांश सूचना प्रविधि क्षेत्रबाट उदायका, रिलस्टेट व्यवसायी, सेयर लगानीकर्ता, व्यापारीहरु रहेका छन् भने नगन्य मात्रमा बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरु पनि रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरू कुनै पनि देशको समग्र वित्तीय व्यवस्था अवस्था देखाउने गर्छन् । यसलाई विश्वभर नाफामूखी व्यवसाय नमानेर सेवामुखी व्यवसायको रुपमा लिइन्छ । आफैंमा कुनै व्यवसाय नभएका कारण अन्य क्षेत्रको व्यसायीले जति बैंकर्सहरुले नाफा कमाउन सकेको देखिँदैन । यद्यपि, बैंकहरु नाफामुखी व्यवसाय भनेर पनि आलोचना हुने गरेको छ ।
नेपाल जस्तो देशका बैंक तथा वित्तीय क्षेत्रलाई आकर्षणको रुपमा लिइन्छ । चाहे जागिर खान होस् चाहे लगानीका लागि पनि । अन्य क्षेत्रको तुलनामा सेवा, सुविधा बढी हुने भएकाले बैंक तथा वित्तीय क्षेत्र सबैको रोजाइमा पर्ने गरेको देखिन्छ ।
यहाँ हामीले बैंक तथा वित्तीय क्षेत्रमा पनि काम गरेर अर्बपति बनेका विश्वका ८ जना बैंकर्सहरुको बारेमा चर्चा गरेका छौं ।
१. अबिगेल जोेनसोन : विश्वका अर्बपतिहरुको सूचीमा अबिगेल जोेनसोन ६४ औँ नम्बरमा छिन् । ६० वर्षीय अमेरिकी नागरिक फिडिलिटी इन्भेष्टमेन्की सीईओ हुन् । मुद्रण व्यवस्थापन गदै आएकि उनको सम्पति २५.२ बिलियन अमेरिकी डलर रहेको छ ।

उनले सन् २०१४ देखि कम्पनीको सीईओको जिम्मेवारी सम्हालेकी छन् भने २०१६ देखि कम्पनीको अध्यक्ष रहेकी छन् । यसअघि उनका बुवा उक्त कम्पनीका सीईओ रहेका थिए ।
उनका हजुरबुबा, एडवर्ड जोन्सन द्वितीयले १९४६ मा बोस्टन–आधारित म्युचुअल फन्ड विशाल स्थापना गरेका थिए । जसको कुल सम्पति ४.२ ट्रिलियन रहेको छ भने उनको २४.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । उनी हार्वड युनिर्भसिटीबाट एमबीए गरेर सन् १९८८ मा विश्लेषकको रूपमा रहेकी छिन् । यसअघि उनको नाम सन २०२१ मा विश्वकी शक्तिशाली महिलाको ६ नम्बर र अर्बपतिको ८५ औँ स्थानमा थियो ।
२. उदय कोटक : भारतीय नागरिक कोटकको नाम विश्वका अर्बपति सूचीको १३८ औँ नम्बरमा रहेको छ । १४.९ बिलियन अमेरिकी डलर सम्पति भएका ६२ वर्षीय बैंकर कोटक भारतको मुम्बइका बासिन्दा हुन् ।

उनले आफ्नो परिवारको व्यापार व्यवसायलाई पन्छाएर सन् १९८५ मा फाइनान्स फर्म सुरू गरेर २००३ मा यसलाई बैंकमा परिणत गरेका थिए । उनको कोटक महिन्द्रा बैंक अहिले निजी क्षेत्रका भारतका शीर्ष चार बैंकहरू मध्येको एक हो ।
सन् २०१४ मा भारतको आइएनजी बैंकलाई उक्त बैंकले एक्वीजिसन गरेको थियो । २०२१ मा उनी भारतीय धनाढ्यको ८ औँ नम्बर र विश्वका अर्बपतिहरुको १२१ औँ नम्बर सूचीमा रहेका थिए । उनले मुम्बइ विश्व विद्यालयबाट एमए र बिजनेसमा माष्टर्स गरेका छन् ।
३. एडवर्ड जोनसोन : मुद्रा व्यवस्थापन गर्दै आएका जोनसोन विश्वका अर्बपतिहरुको सूचीमा १९१ औँ स्थानमा छ । ९२ वर्षीय अमेरिकी नागरिक उनीसँग ११.५ बिलियन अमेरिकी डलर सम्पति रहेको छ ।
उनले सेनामा एक कार्यकालपछि पैसा प्रबन्धक फिडेलिटीमा एक विश्लेषकका रुपमा काम गरेका थिए । जसलाई उनका बुबाले १९४६ मा स्थापना गरेका हुन । फिडेलिटी युएसमा भ्यानगार्ड पछिको दोस्रो ठूलो म्युचुअल फण्ड प्रबन्धक हो, जसको व्यवस्थित सम्पत्तिमा ४.२ ट्रिलियन रहेको छ । उनले हाडवर्ड युनिर्भसिर्टिबाट साइन्स र आर्टसमा स्नातक गरेका छन् ।
४. लुइस कार्लोस सार्मिएन्टो एङ्गुलो : एङ्गुलो कोम्बियाका बैंकर अर्बपति हुन । ८८ वर्षीय एङ्गुलो अर्बपतिहरुको २५९ औँ नम्बरमा रहेका छन् । उनीसँग ९.३ बिलियन अमेरिकी डलर सम्पति रहेको छ । उनले निर्माण उद्योगमा जम्मा भएको सम्पत्ति लिएर बैंकहरूमा लगानी गरेका थिए ।

उनको समूह अभलले कोलम्बियाका सबै बैंकहरूको एक तिहाइ हिस्सा लिएको छ । सन २०२१ मा अर्बपतिको सूूचीको २०० स्थानमा उनको नाम आएको थियो । एङ्गुलोले कोलम्बीया विश्व विद्यालयबाट विज्ञान र आर्टसमा स्नातक गरेका थिए ।
५. विक्की सफारा : फोबर्सको सूचीमा सफाराको नाम ३८९ नम्बरमा रहेको छ । उनीसँग ७.२ बिलियन डलर सम्पति रहेको छ । सफारा ग्रिसमूलकी स्वीट्जरल्याण्डकी गैरआवासीय नागरिक हुन । सराफाका श्रीमान ब्राजिलियन बैंकर थिए ।
श्रीमान जोसेफ सफाराको २०२० मा मृत्यु भएपछि उनका चार छोराछोरी र सफाराले ७.१ बिलियन डलर भागबण्डा गरेक थिए । जोसेफ सफारा ब्राजिलका सबैभन्दा धनाढ्य व्यक्ति थिए । ग्रीसकी नागरिक विक्की सफारा स्विट्जरल्याण्डमा धेरै वर्षदेखि बस्दै आएकी छिन् ।

६. कार्लोस रोड्रिगेज–पास्टर : कार्लोस पेरुका बैंकर्स अर्बपति हुन् । फोर्ब्सको सूचीको ७१८ औँ स्थानमा उनको नाम रहेको छ । ६२ वर्षीया पास्टरको ४.५ बिलियन अर्ब डलर सम्पत्ति रहेको छ ।
उनले बान्को इन्टरनेसनल डेल पेरुको नेतृत्व लिएका थिए । उनका बुबाको मृत्यु भएपछि उनले आफ्नो नाफा अन्य व्यवसायहरूमा लगानी गरका थिए । पास्टरले आफ्ना भाइबहिनीहरू जर्ज पास्टर र एनी मारी सीसँगै सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनी इन्टरकर्प फाइनान्सियल सर्भिसको अधिकांश स्वामित्व लिएका छन् ।
७. फर्नान्डो रोबर्टो मोरेरा सल्लेस : उनी ब्राजिलका बैंंकर अर्बपति हुन् । ७५ वर्षीय सल्लेस विश्वका धनाढ्यको सूचीमा १४६८ औँ नम्बरमा रहेका छन् । उनीसँग २.३ बिलियन डलर सम्पत्ति रहेको छ । उनी ब्राजिलको सबैभन्दा पुरानो बैंकिङ परिवारका सदस्य हुन् । सल्लेसले मानविकी र विज्ञानमा स्नातक सम्मको औपचारीक शैक्षिक योग्यता हासिल गरेका थिए ।
८. डर्मोट डेसमन्ड : डेसमन्ड आइल्यान्डका बैंकर्स अर्बपति हुन् । ७१ वर्षीय उनीसँग २.१ बिलियन डलर बराबर सम्पत्ति रहेको छ । फोर्ब्स सूचीको १५९५ औँ स्थानमा उनको नाम रहेकोे छ । सिटी बैंकबाट काम गर्न सुरू गरेका उनले पछि आयरल्याण्डको लगानी बैंक र प्राइसवाटर हाउसकूपर्समा काम गरेका थिए ।