काठमाडौं । नेप्सेमा सूचीकृत ४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १८ गते) अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिथिला लघुवित्त वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्सले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
चारै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १९ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा होटल सारथी, धुलिखेल, काभ्रेपलाञ्चोकमा हुनेछ ।
त्यसैगरी, कालिका पावरले गत वर्षको नाफाबाट घोषणा गरेको १५ प्रतिशत बोनश सेयर र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय भरतपुर, चितवनमा हुनेछ ।
त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७र७८को मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश पारित गर्न न्यू बौवा होटल एण्ड गेस्ट हाउस, लालगढ, धनुषामा साधरण सभा बोलाएको हो ।
त्यसैगरी, प्रोगे्रसिभ फाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको ७ प्रतिशत बोनस सेयर र ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाएको छ । फाइनान्सको सभा ज्यापु प्रज्ञा भवन, भोलगणेश, ललितपुरमा हुनेछ ।
चार वटै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।