काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषण गरेका अधिकांश वाणिज्य बैंकहरुले साधरण सभा डाकिसकेका छन् ।
नेप्सेमा सूचीकृत २६ वटा वाणिज्य बैंकमध्ये २३ वटाको साधरण सभाको टुंगो लागिसकेको छ । २३ वटा मध्ये १ दर्जन बैंकले साधरण सभा समेत सम्पन्न गरीसकेका छन् भने बाँकीले पनि मिति घोषणा गरी बुकक्लोज समेत गरिसकेका छन् ।
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका बैंकहरुमध्ये अब जम्मा ३ वटाको मात्र बुकक्लोज हुन बाँकी छ । सिभिल, सेञ्चुरी कमर्शियल र एनआइसी एशियाको मात्र बुकक्लोज हुन बाँकी छ । त्यसैले अझै यी बैंकको सेयर किन्नेले प्रस्तावित लाभांश पाइन्छ ।
सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न पुस ३० गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा हुनेछ ।
बैंकले सभा प्रयोजनका लागि पुस २० गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, पुस १९ गतेसम्म सेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् ।सिभिलले गत आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
एनआइसी एशियाको बोनस राष्ट बैंकबाट स्वीकृति नभएकाले अहिलेसम्म बुकक्लोज मिति तोककेको छैन । एनआइसीले गत वर्षको नाफााबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सेञ्चुरी कमर्शियल बैंकले पनि अहिलेसम्म बुकक्लोज तोकेको छैन । बैंकले गत आवको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर ०.३० प्रतिशत नगद गरी कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।