काठमाडौँ । पछिल्लो एक महिना यता काठमाडौँ उपत्यकासहित देशभर लोडसेडिङकै झल्को दिने गरी बिजुली जान थालेको छ । कुनै बेला केही मिनेटको अन्तर झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ भने कुनै बेला ३/४ घण्टासम्म जाने गरेको छ ।
दिनदिनै बत्ति जान थालेपछि उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् भने केहीले कुलमानको आलोचना समेत गर्न थालेका छन् । चौतर्फी गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरको क्षमता भन्दा बढी विद्युत् माग हुँदा बत्तिजाने समस्या आएको स्पष्टीकरण दिएको छ ।
प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गदै यस्तो समस्या काठमााडौँ उपत्यकाका केही स्थानमा आएको र समाधानका लागि ट्रान्सर्फमर फेर्ने काम भइरहेको बताएको हो । ‘केही फिडर वा ट्रान्सर्फमरमा समस्या देखिएकाले विद्युत् आपूर्तिमा समस्या देखिएको हो’, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङले भने,‘तीन/चार दिनयता वितरण ट्रान्सर्फमरमा अचानक लोड बढेकोले जलेको र एमसीबी ट्रिपिङ भएका छन् । विगत दुई/तीन महिनायता हामीले ट्रान्सफर्मर फेरबदल र नयाँ थप्ने काम गरिहेका छौँ ।’
आज बेलुकासम्म उपत्यकामा सबै ट्रान्सर्फमर थपिसक्ने र ट्रिपिङ समस्या समाधान हुने उनले बताए । उपभोक्ताहरुले घर नजिक ट्रान्सर्फमर राख्न नदिँदा समस्या भएको घिसिङको भनाइ छ ।
‘प्राधिकरणले अहिले भोगेको समस्या ट्रान्सर्फमर थप्ने काममा समस्या छ । कसैले पनि आफ्नो घर नजिक ट्रान्सर्फमर राख्न दिएनन् । स्थानीयले विरोध गरेर ट्रान्सफर्मर राख्न सकिरहेका छैनौँँ,’ उनले भने ।
उनले अहिले विद्युत्् कम भएर नभइ वितरण प्रणालीले माग धान्न नसकेर बत्ति गएको बताए । हाल काठमाडौँ उपत्यकामा मात्रै ३८ सय हाराहारीमा ट्रान्सर्फमर रहेका छन । यस्ता ट्रान्सर्फमरले लोड धान्न्न नसकेपछि थप्नेकाम भइरहेको प्राधिकरणको भनाइ छ ।उपत्यकामा मात्रै बेलुकाको पिकलोड १७ सय मेगावाटसम्म पुगेको छ भने बिहान १६ सय मेगावाटसम्म पुगेको प्राधिकरणले जनाएको छ ।
माग व्यवस्थापन गर्न ९ ठाउँमा सबस्टेसन बन्दै
उपत्यकाको माग व्यवस्थापन गर्न अहिले काठमाडौं उपत्यकाका ९ वटा ठाउँमा सबस्टेसन निर्माण भइरहेको घिसिङले जानकारी दिए । उपत्यकाका मातातिर्थ, चोभार, टेकु, ठिमी, मूलपानी, चाँगुनारायण, बालकुमारी लगायतका स्थथानहरुमा सबस्टेसन निमार्ण भइरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणाका अनुसार ती सबै सबस्टेसन बनिसक्दा १ हजार मेगावाट विद्युत्को क्षमता थप हुन्छ । काठमाडौँ उपत्यकामा द्धिद्र्यकालीन समस्या समाधानका लागी १५ सयदेखि २ हजार मेगावाट विद्युत् माग धान्नसक्ने गरी प्रसारण र वितरण प्रणाली बनाइरहेको प्राधिकरणले बताएको छ । यसले उपत्यकामा जति लोड आएपनि समस्या नआउने प्राधिकरणको भनाइ छ ।
उपत्यकामा १ सय मेघावाट माग बढ्यो
काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष विद्युत्को माग बढेको प्राधिकरणले जनाएको छ । उपत्यकामा गत वर्षको तुलनामा ८० देखि १०० मेगावाटसम्म विद्युत्को माग बढेको हो । विद्युतीय उपकरणको बढ्दो प्रयोगले बिजुलीको माग बढेको प्राधिकरणले जनाएको छ ।
हाल काठमााडौँमा बेलुकीको पिक आवरमा १७ सय र विहान १६ सय मेघावाटसम्म विद्युत्को माग रहेको छ ।