काठमाडौं । ललितपुरस्थित ग्वार्कोमा बन्ने फ्लाइओभर निर्माणको ठेक्का प्रक्रिया पुनः रोकिएको छ । यसअघि सर्वोच्च अदालतमा मुद्दा परेको कम्पनीले आवेदन हाल्दा लामो समय रोकिएको ठेक्का प्रक्रिया अहिले आवेदन दिइसकेपछि एउटा कम्पनी कालोसूची परेपछि रोकिएको हो ।
असार २८ गते निकालिएको बोलपत्रमा एमआर भीम/सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, सूर्य/भ्याली/विकास/ब्रदर्स जेभी, अनक/श्रेष्ठ जेभी, तुन्दी/रसुवा/रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष/समानान्तर जेभी, एलाइट कन्स्ट्रक्सन र लामा/गोल्डेन गुड जेभी गरी ९ कम्पनीले आवेदन दिएका थिए ।
तीमध्ये सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले प्राविधिक मूल्यांकनबाट ७ वटा कम्पनीलाई मात्र छनोट गरेको थियो । एलाइट कन्स्ट्रक्सन र लामा/गोल्डेन गुड जेभी छनोट भएका थिएनन् ।
ठेक्का मूलयांकनकै क्रममा एलाइट कन्स्ट्रक्सनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंसिर २२ गते २ वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो । कालोसूचीमा परेपछि आफूलाई आर्थिक प्रस्ताव खोल्ने बेला समावेश नगरिएकाले पुनः आफूलाई सहभागी गराउनु पर्ने माग राख्दै एलाइटले निवेदन दिएपछि अहिले प्रक्रिया रोकिएको हो ।
फेरि मंसिर २३ गते खरिद कार्यालयले एलाइटलाई कालोसूचीमा नराखी ’सस्पेन्ड’ गरिएको सूचना जारी गरेपछि एलाइटले आफूलाई पुन मूल्यांकन प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको हो ।
गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले भने नियम अनुसार नै प्रक्रिया अघि बढेको जनाएको छ । अब एलाइटले दिएको आवेदन बारे मूल्यांकन समितिले निर्णय गरेपछि बाँकी प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सूचना अधिकारी टीकाराज पोखरेलका अनुसार उक्त कम्पनीले अब ठेक्का काम कारवाहीमा भाग लिन पाउने छैन । कालोसूचीमा पर्नु र सस्पेन्स गर्नु बराबर भएकाले सो कम्पनी बाहेक अन्य ठेक्का कम्पनीहरुलाई राखेर प्राविधिक मूल्यांकन अघि बढाइने उनले बताए ।
‘कालो सुचनीमा परे पछि उसले काम कारवाही गर्न पाउँदैन, कालोसुचीमा पर्नु र सस्पेनस हुनु बराबर हो, अब उँ बाहेकका ठेक्कालाई प्रकृयामा अघि बढाइन्छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।
फ्लाइओभर इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी)मोडलमा निर्माण गर्ने गरी ठेक्का निकालिएको छ । काम सुरु गरेको २ वर्षमा आयोजना सक्ने लक्ष्य रहेको छ । जसमा ४ महिना डिजाइन र २० महिना निर्माण अवधि तोकिएको छ ।
४५५ मिटर लम्बाइ हुने गरी फ्लाइओभर चक्रपथको बीचमा रहेको ४ लेनमा समानान्तर भएर निर्माण हुनेछ । फ्लाइओभर निर्माण गर्न करिब २४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।