काठमाडौं । आगामी शनिबार (भदौ २१ गते) देखि दूधको मूल्य बढ्ने भएको छ । आज कृषि मन्त्री चक्रपाणी खनालले दूधको मूल्यमा ६ रुपैयाँ वृद्धि गर्ने निर्णयलाई स्वीकृत गरेका हुन् । बढेको दूधको मूल्य शनिबारबाट लागू हुने कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिएका छन् ।
दूग्ध डेरी एसोसिएशनहरुले सरकारसँग दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गर्न माग गरेका थिए । सरकारले सरोकारवालाको मागलाई ध्यानमा राख्दै समिति समेत गठन गरेको थियो । अब बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने छन् ।
हाल किसानबाट डेरीवालाहरुले प्रतिलिटर ५४ देखि ५५ रुपैयाँमा दूध किन्ने गरेका छन् भने सोही दूध बजारमा ९० रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।
अहिले नेपालमा दैनिक ४ लाख लिटरको हाराहारीमा दूध उत्पादन हुँदै आएको छ । तर, बजार माग भने दैनिक ५ लाख लिटर दूधको रहेको व्यवसायी बताउँछन् ।
झण्डै एक लाख लिटर दूध बजारमा अपुग रहेको छ । यसरी अपुग दूधलाई पर्याप्त बनाउन पाउडर दूधको पनि प्रयोग गर्न सकिन्छ । तर, नेपालमा उत्पादन हुने पाउडर दूध पर्याप्त नभएको व्यवसायीहरु बताउँछन् ।