एनएमबी बैंकले स्वीस इन्भेष्टमेन्ट फण्डबाट १ करोड २० लाख डलर ऋण पाउने

काठमाडौं । एनएमबी बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम)बाट १ करोड २० लाख अमेरिकी डलर (करिब १ अर्ब ४० करोड रुपैयाँ) ऋण पाउने भएको छ ।

 

बैंक र सिफेम बीच सोमबार ऋण प्राप्त गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्राउने गरी भएको यो सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडीसी बीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको छ ।

 

नेपाल स्वीट्जरल्याण्डको विकास सहयोगको प्राथमिकतामा पर्ने राष्ट्र हो । नेपालमा विकासलाई अगाडि बढाउन स्वीस संस्थाहरुबीच विशेषज्ञता र समन्वयको उपयोग गरी सिफेम र एसडीसी बीचको सहकार्यमा भएको यो लगानी नेपालसंग स्वीट्जरल्याण्डको लामो समयदेखिको साझेदारीको इतिहासमा एउटा कोसेढुंगा हो ।

 

सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँटको आधारमा सुविधा प्रदान गरेको छ । यस सम्झौताले एनएमबी बैंकको लगानीको स्रोतहरुलाई विविधीकरण गर्दै दीगो विकास गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । विशेषगरी वर्तमान बजार परिदृश्यमा यस सम्झौताको सान्र्दभिकता अझै महत्वपूर्ण छ ।

 

सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यतः लघु साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानिय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरुमा लगानी गर्नेछ ।

 

नेपालका लागि स्वीट्जरल्याण्डकी महामहिम राजदूत एलिजावेथ भोन क्यापेलरले “स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केटसको एनएमबी बैंक लिमिटेडमा ऋण लगानीबाट नेपाल –स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको छ । यो लगानीले नेपालको अर्थतन्त्रका प्रमुख संवाहकहरु, अर्थात नेपाली लघु साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ,” उनले भनिन् ।

 

त्यसैगरी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सम्झौताको महत्वलाई प्रकाश पार्दै भने, “नेपालमा नै पहिलो पटक सिफेमबाट कर्जा लगानी भित्र्याउनका लागि सम्पन्न भएको यो ऋण सम्झौताले वास्तविक अर्थतन्त्रका क्षेत्रमा लगानी गर्ने हाम्रो प्रतिबद्धतालाई थप गति दिएको छ । हालको चुनौतीपूर्ण समयमा साना व्यवसायहरूले उनीहरूको व्यवसायलाई निरन्तरता दिनको लागि निर्वाध रुपमा नगद प्रवाहमा पहुँच पुर्याउन यो सम्झौताले सहयोग गर्नेछ ।”

 

एनएमबी बैंक र सिफेम बीच सम्पन्न यो सम्झौता एनएमबी बैंककोे लगानीका स्रोतहरूलाई विविधीकरण गर्दै अन्तर्राष्ट्रिय सरोकारवालाहरूसँग सहकार्यलाई बढाउने रणनीतिको निरन्तरता हो । विगतमा समेत यस बैंकले अन्तर्राष्ट्रिय वित्त निगम, सीडीसी समूह, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष र सिम्बायोटिक्स लगायतका संस्थाहरुबाट ऋण लिई नेपाल राष्ट्र बैंकले तोके बमोजिम प्राथमिकताका क्षेत्रहरुमा लगानी गर्दै आएको छ ।

 

बलम्बुमा फ्लाइओभर बनाउन आगामी हप्तादेखि मुआब्जा बाँडिने, प्रतिआना कति पाउँछन् ? Read Previous

बलम्बुमा फ्लाइओभर बनाउन आगामी हप्तादेखि मुआब्जा बाँडिने, प्रतिआना कति पाउँछन् ?

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघद्धारा स्वागत Read Next

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघद्धारा स्वागत