काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुमा फ्लाइओभर निर्माण अघि बढेको छ । प्रभावित क्षेत्रका जग्गाधनीलाई मुआब्जा दिइने निश्चित भएसँगै फ्लाइओभर निर्माणले गति लिन लागेको हो ।
फ्लाइओभर बन्ने क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि आयोजनाले अर्को साताबाट मुआब्जा वितरण सुरू गर्ने प्रमुख नरेशमान शाक्यले बताए ।
उनका अनुसार हालसम्म मुआब्जा लिनका लागि १०० बढी व्यक्तिले आवेदन दिएका छन् । आयोजना निर्माण स्थलमा करिब ५५ वटा बढी घरटहरा रहेको आयोजना प्रमुख शाक्यले बताए ।
‘७० प्रतिशतले मुआब्जा लिनका लागि आवेदन हालिसकेका छन्, लालपुर्जा हाम्रो नाममा आउना साथ मुआब्जा दिनेछौं, सम्भवतः अर्को हप्ताबाट मुआब्जा पनि वितरण सुरू हुन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।
सडक छेउमा परेका जमिनको प्रतिआना ५० देखि ५२ लाख रुपैयाँ मुआब्जा वितरण गरिने उनले बताए । मुआब्जा वितरणका लागि हाल ३० करोड रुपैयाँ रकमान्तर गरिएको छ । आयोजनाको क्षेत्रमा पर्ने १२ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ । आयोजनाको मुआब्जाका लागि १ अर्ब १४ करोड रुपैयाँ लाग्नेछ ।
८ महिना भित्र फ्लाइओभर निर्माण सम्पन्न गर्नेगरी काम सुरू गरिसकेको प्रमुख शाक्यले बताए । उनका अनुसार हाल फ्लाइओभर निर्माणका लागि जग खन्ने काम सुरू गरिसकेको छ ।
फ्लाइओभरको डिजाइन तयार भइसकेको छ । दुई लेनको फ्लाइओभर १२८ मिटर लामो हुने छ । एउटा लेन ३.५ मिटर चौडाइको हुनेछ । १२८ मिटर फ्लाइओभरबाट करिब तीन किमी पहुँचमार्ग (एक्सेस रोड) सडकमार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ ।
नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा–आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ । आयोजनाको ठेक्काभित्रै रहेकाले उसैले निर्माण गर्नेछ ।
सुरुङमार्ग निर्माले गति लिँदै
पछिल्लो समय नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माले पनि गति लिएको छ । हालसम्म सुरुङमार्ग निर्माणको २६ प्रतिशत भौतिक प्रगती भएको प्रमुख शाक्यले बताए । आयोजना अन्तर्गत कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा हालसम्म १ हजार ८८८ मिटर टनेल खन्ने काम सम्पन्न भएको हो ।
मुख्य टनेलतर्फ कुल २ हजार ६८८ मिटर लम्बाइ रहेकोमा हालसम्म ५९९ मिटर काम सम्पन्न भएको छ । वैकल्पिक टनेलमा कुल २ हजार ५५७ मिटरमध्ये हालसम्म १ हजार १२१ मिटरमा काम भएको आयोजनाले जनाएको छ ।
वर्किङअडिटमा हालसम्म १२६ मिटर मात्र काम भएको छ भने क्रस प्यासेजमा ४२ मिटर काम पूरा भएको जनाइएको छ । आयोजना अन्तर्गत हालसम्म ३७ प्रतिशत वित्तीय खर्च भइसकेको उनले बताए । उनका अनुसार हाल टनेल भित्र २४ सै घण्टा काम हुने गरी २ सिफ्टमा काम भइरहेको छ ।
चालु वर्षका लागि आयोजनालाई ९ अर्ब ६७ करोड रुपैयाँ शोधभर्ना लिनेगरी बजेट विनियोजन गरिएको छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको छ । कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति छ ।
सुरुङमार्ग चन्द्रागिरि नगरपालिकाको टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा निस्कने छ ।