समस्या समाधान गर्न उद्योग संगठन मोरङले कार्यन्वयनमा ल्यायो ‘बिजनेश क्लिनिक’

काठमाडौं । उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरुको समाधान गर्ने सेवाको रुपमा ‘सीआइएम बिजनेश क्लिनिक’ कार्यान्वयनमा ल्याएको छ । त्यसका लागि संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फोकल विन्दु तोकिएको छ ।

 

गतसाता काठमाडौमा संगठनको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिमसमक्ष बिजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरुका १०४ वटा विभिन्न क्षेत्र तथा विषयसँग सम्बन्धित समस्या प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको संगठनले बताएको छ ।

 

संगठनले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरु समस्या समाधानको सहजीकरणका लागि उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्ने समझदारी मन्त्रालयसँग भएको छ।

 

साथै, हरेक तीन महिनामा संगठन र मन्त्रालय बीच सहजीकरण तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

 

संगठनले उद्योग प्रतिष्ठानका समस्या संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । यसरी संकलित समस्यालाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरुमा वर्गीकरण गरिनेछ ।

 

उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीहरुका समस्याहरुको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलको भनाइ छ ।

 

सदस्य उद्योग प्रतिष्ठानहरुको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्नका लागि क्षमता अभिवृद्धिमा समेत सघाउने उद्देश्यले नमुना कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए । संगठनको वार्षिक रणनीतिक कार्ययोजना अनुरुप यो कार्यक्रम सञ्चालन गरिएको हो ।

 

संगठनले सञ्चालनमा ल्याएको बिजनेश क्लिनिकमा आन्तरिक र बाह्य गरी दुईवटा क्षेत्र रहेका छन । आन्तरिकअन्तरगत सम्बन्धित उद्योग वा व्यवसायको आन्तरिक क्षमता जाँच तथा समस्या पहिचान गर्न बिजनेश हेल्थ चेकअपको सेवा उपलब्ध रहेको तथा बाह्यअन्तरगत उद्योग व्यवसायका समस्याहरुको संकलन तथा पहिचानका लागी उद्योगहरुको भ्रमण गर्ने, समस्याको वर्गीकरण गर्ने, नीति विश्लेषण तथा अनुसन्धान गर्ने र समाधानका लागि उद्योग मन्त्रालय अन्तरगतको फोकल बिन्दुमार्फत सहजीकरण गर्ने जस्ता विषयहरु समेटिएका छन् ।

 

उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलले संगठनले अघि सारेका सबै कार्यक्रमहरु सरकारको प्राथमिकता तथा मन्त्रालयको कार्यक्षेत्र भित्रै पर्ने भएकोले सहकार्य गरी काम गर्न तत्पर रहेको उल्लेख गरेका थिए । यसैगरी, संगठनले विजनेश क्लिनिकका सम्बन्धमा संघीय सरकारका अर्थ सचिवसमक्ष गत असोज १५ गते बैठक गरी क्लिनिकको शुभारम्भ गरेको थियो ।

कुश्मामा विश्वकै अग्लो स्काइ साइक्लिङ सुरू, कति लाग्छ शुल्क ? Read Previous

कुश्मामा विश्वकै अग्लो स्काइ साइक्लिङ सुरू, कति लाग्छ शुल्क ?

'यूके मास्टरशेफ रिम्याच २०२१' मा सन्तोष शाहलाई कुन कुराले दिलायो  जित ? Read Next

'यूके मास्टरशेफ रिम्याच २०२१' मा सन्तोष शाहलाई कुन कुराले दिलायो जित ?