उखु खेतीबाट ३० हजार बढी किसान पलायन, उखु अभावले चिनी उद्योग संकटमा

काठमाडौँँ । उखुखेती गर्दै आएका ३० हजार बढी किसान पेशाबाटै पलायन भएका छन् । उखुलाई नगदे बाली भनिए पनि समयमै भुक्तानी नपाउने र उत्पादन लागत समेत नउठ्ने भएपछि किसानहरु पेशाबाटै पलायन भएका हुन् ।

 

विगतका वर्षहरुमा १ लाख बढी किसानले उखु खेती गर्दै आएकोमा यस वर्ष करिब ७० हजार किसानले मात्र उखु खेती गरेको नेपाल उखु उत्पादक संघले जनाएको छ । उखुखेती गर्दै आएका करिब ३० प्रतिशत किसान पेशाबाट पलायन भएको संघको भनाइ छ ।

 

अधिकांश किसानहरुले ऋणमा पैसा लिएर उखु खेती गर्ने र चिनी उद्योगले समयमै भुक्तानी नदिँदा दिक्क भएर किसानहरु पेशाबाटै पलायन भएको उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनाली बताउँछन्।

 

‘धेरै जसो किसानले साहुसँग ऋण लिएर खेती गरेका हुन्छन् । साहुलाई समयमै ब्याजसहित ऋण तिर्नुपर्ने हुन्छ । तर, चिनी उद्योगले वर्षौंसम्म भुक्तानी नदिई झुलाउने गरेका छन् । किसानले नाफा त पर जाओस, आफ्नो लागतसमेत पाउँदैनन् । त्यसैले उनीहरुलाई उखुखेतीप्रति नै वितृष्णा जागेर पेशाबाटै पलायन भएको देखिन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

एकीन तथ्यांक नभए पनि पछिल्लो एक वर्षमा ३० हजार बढी किसान उखुखेतीबाट पलायन भएको उनी बताउँछन् । पेशाबाट पलायन भएका उखु किसानहरु धान, गहुँ, मकै, तरकारी र फफूल खेतीमा लागेको उनको भनाइ छ ।

 

सरकारले अनुदान दिने भए पनि आफ्नो पसिनाको मूल्य पाउन सिंहदरबारसम्म धाउनु पर्ने र आन्दोलन गर्नु परेको तीतो अनुभव सुनाउँछन् उनी । ‘चिनी उद्योगले बद्मासी गर्दा हामीले धेरै दुःख, कष्ट बेहोरेका छौं, सरकारबाट पाउने अनुदान समेत हामीलाई समयमै दिँदैनन् । आन्दोलन गर्न, धर्ना बस्न कति पटक काठमाडौं धायौं साध्य छैन,’ अध्यक्ष मैनाली भन्छन्, ‘राजनीतिक पहुँचका आधारमा चिनी उद्योगीले समयमै भुक्तानी नगर्दा समेत राज्य टुलुटुलु हेरेर बस्छ । कारबाही गर्न सक्दैन, सम्झौता गरेर महिनौं कुराउँछ । यी सबै झन्झट बेहोर्नुभन्दा खेती नगर्दै बरु आनन्द हुने कृषकले अनुभव गरे । अनि खेती नै गर्न छाडे ।’

 

उखु नपाउँदा चिनी मिल समस्यामा, किसानकोमा धाउँदै उद्योगी

 

उखु किसान खेतीबाटै पलायन भएपछि उत्पादन घट्दा चिनी मिलहरुले कच्चा पदार्थको अभाव झेल्न थालेका छन् । उखु क्रसिङ गर्ने मुख्य सिजनमै माग अनुसार उखु नपाएपछि उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन नसकेका हुन् ।

 

चिनीको मुख्य कच्चा पदार्थ उखु अभाव भएपछि चिनी उद्योगहरु किसानको घरघरमै धाउन थालेका छन् । विगतको तुलनामा यस वर्ष कम किसानले उखु रोपेका छन् । त्यसमा पनि उनीहरुले उधारोमा उखु दिएका छैनन् । कच्चा पदार्थ नै नपाएपछि अहिले मिलवालाहरु किसानको खेतखेतमा धाउन थालेका छन्, अध्यक्ष मैनाली भन्छन्, बरु खेतमै कुहिएर जाओस् यस वर्ष किसान उधारोमा उखु दिनेवाला छैनन् ।

 

कच्चा पदार्थ नपाउँदा सिजनमै पनि उद्योग बन्द गरेर बस्नु परेको उद्योगीहरु बताउँछन् । ‘एक त चिनी उद्योग वर्षभरी चल्दैन, हिउँदको ३४ महिना चल्ने हो । माग अनुसार उखु पाए केही पूर्ण क्षमतामा उद्योग चल्ने हो । अहिले मागको आधा पनि उखु पाउन सकेका छैनौं । कसरी उद्योग चलाउनु । हामी समस्यामा परेका छौं,’ एक उद्योगीले भने ।

 

‘उद्योगीको चलखेलले ५ वर्षदेखि उखुको मूल्य बढेन’

 

उखु उत्पादन गर्ने कृषकहरुले आफ्नो लागत मूल्य समेत पाउन नसकेको गुनासो गरिरहेका छन् । सरकार र उद्योगी बीचको चलखेलले ५ वर्षदेखि उखुको मूल्य बढ्न नसकेको उनीहरुको भनाइ छ ।

 

५ वर्षअघि चिनीको मूल्य प्रतिकेजी ६५ रुपैयाँ हुँदा प्रति क्वीन्टल ४७१ रुपैयाँ (सरकारले प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान) कायम गरिएको थियो । अहिले चिनीको मूल्य प्रतिकेजी ९० पुगेको छ तर उखुको मूल्य भने वृद्धि हुन सकेको छैन ।

 

‘मल र मजदुरको मूल्य बढीरहेको छ । जसले कृषकको लागत वर्षैंपिच्छे बढाएकोे छ । तर ५ वर्षदेखि उखुको मूल्य उही छ । उद्योगीहरुले चिनीको मूल्य नबढाएसम्म उखुको मूल्य बढाउन नदिने गरी चलखेल गरिरहेकका छन्  । कृषकको लागत नउठेको सरकारलाइ पनि थाहा छ । तर, प्रभावमा परेर मूल्य बढाएको छैन,’ अध्यक्ष मैनाली भन्छन् । आफूहरुले पटकपटक उखुको मूल्य वृद्धि गर्न ध्यानाकर्षण गराए पनि सरकारले चासो नदिएको उनको भनाइ छ ।

 

उत्पादन घट्दै

 

कृषकहरु उखु खेतीबट विस्तापित हुनथालेपछि उत्पादन समेत घट्दै गएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा नेपालमा उखु खेती ७८ हजार ६०९ हेक्टर क्षेत्रफल जमिनमा गरिएकोमा दुई वर्षयता १० हजार हेक्टरले घटेको हो ।

 

२०७६/७७ मा ६८ हजार ५६५ हेक्टर क्षेत्रफल जमिनमा उखु खेती गरिएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । यस्तै, आव २०७४/७५ मा ३६ लाख ७९ हजार मेट्रिक टन उखु उत्पादन भएकोमा आव २०७६/७७ आइपुग्दा २ लाख मेट्रिक टनले उत्पादन घटेर ३४ लाख मेट्रिक टनमा आइपुगेको छ ।

 

यस्तै, आव २०७५/७६ मा ७१ हजार ६२५ हेक्टर क्षेत्रफल जमिनमा उखु खेती गरिएको थियो । सो अवधिमा ३५ लाख ५७ हजार मेट्रिक टन उखु उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।

 

निर्धन उत्थानसहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Previous

निर्धन उत्थानसहित ३ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?

ओमिक्रोन फैलिएपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु Read Next

ओमिक्रोन फैलिएपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु