नेपालमा कस्मेटिक उद्योग खोल्न कति सम्भव ?

काठमाडौं । पछिल्लो समय नेपालमा धेरै खपत हुने वस्तुहरुको उद्योग स्थापना हुन थालेका छन् । सिमेन्ट, रड, माछामासु, दूध लगायत वस्तुमा नेपाल आत्मनिर्भर भइसकेको छ ।

 

नेपालमा धेरै खपत हुने वस्तुमध्ये हो कस्मेटिक सामान । अधिकांश महिला र केही पुरुषहरुले समेत प्रयोग गर्ने भएकाले ठूलो परिमाणमा कस्मेटिक सामान खपत हुने गरेको छ । जसबापत वर्षेनी अर्बौं रकम विदेशिन्छ ।

 

खपत धेरै हुने र भविष्यसमेत रहेकाले पछिल्लो समयमा नेपालमै कस्मेटिक सामान उत्पादन गर्ने उद्योग खोल्ने चर्चा समेत हुँदै आएको छ । विदेशी लगानीको युनिलिभर बाहेक हाल नेपालमा कस्मेटिक सामान उत्पादन गर्ने ठूला उद्योग खुल्न सकेका छैनन् ।

 

विश्वका अन्य देशमा जस्तै नेपालमा पनि सौन्दर्य सामग्रीको बजार ठूलो रहेकाले नेपालमै उद्योग संचालन गर्न सम्भव हुने व्यवसायीहरु बताउँछन् । विभिन्न ब्राण्डका विदेशी कस्मेटिक प्रयोग गर्न बानी भएका नेपालीहरुले स्वदेशी उत्पादन कति मन पराउँछन् त्यो उत्पादन भएपछि नै थाहा होला, तर नेपालमा विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विभिन्न प्रकारका सौन्दर्यका सामग्री उत्पादन गर्न सकिने बताइएको छ ।

 

नेपालमा सबै प्रकारका सौन्दर्यका सामग्री उत्पादन गर्न सकिने नेपाल सौन्दर्यकला व्यवसायी संघले जनाएको छ । ‘हामीले वर्षेनी करोडौंका सौन्दर्य सामग्री विदेशबाट आयात गर्छौं । अब त्यस्ता सामान विदेशबाट होइन नेपालमै उत्पादन गर्नुपर्छ,’ सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कला श्रेष्ठले चाणक्य पोष्टसँग भनिन,’ ‘कस्मेटिक्स सामान उत्पादनका लागि आवश्यक धेरै कच्चा पदार्थ नेपालमै उपलब्ध छन् । हामीलाई त्यस्ता सामान उत्पादन गर्न सहज हुन्छ । केही साथीहरुले उद्योग समेत खोल्ने तयारी गरिरहनुभएको छ ।’

 

हाल नेपालमा ४ लाख बढी ब्यूटिसिएन रहेको उनी बताउँछिन् । तीमध्ये अधिकांशले ब्यूटिपार्लर चलाएकाले नेपालमै उत्पादित कस्मेटिक सामानको खपत गराउन सकिने उनको विश्वास छ ।

 

नेपालमा कस्मेटिक्स वस्तु उत्पादन गर्न सकिने भए पनि बजारीकरणमा ठूलो मेहनत गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछिन् । ‘हामी विभिन्न देशबाट आयात हुने धेरै ब्राण्डका मेकअपका सामग्रीहरु प्रयोग गर्न बानी भएका छौं, जसले गर्दा नेपाली उत्पादन बजारसम्म कसरी पुर्याउने र यसको सकारात्मक पक्षबारे कसरी जानकारी प्रदान गर्ने भन्ने मात्र चुनौती छ, अन्य सबै हिसाबले हामी प्रतिस्पर्धा गर्न सक्छौं,’ ।

 

विगत १४ वर्षदेखि व्यवसायिक रूपमा स्किन केयर फेसिएल हाउस संचालन गर्दै आएकी सुस्मा महरा पनि नेपालमै कस्मेटिक सामान उत्पादन सम्भव रहेको बताउँछिन् । नेपालमै कस्मेटिक उद्योग संचालनको तयारी गरिरहेकी महरा भन्छिन्, ‘नेपालमा सस्तो मात्र नभएर गुणस्तरीय कस्मेटिक सामान उत्पादन गर्न सकिन्छ, तर हाम्रो मेन समस्या भनेको प्याकेजिङमा हो, त्यसमा ध्यान दिएर अगाडि बढे कुनै समस्या हुँदैन ।’

 

गुणस्तरीय सामान उत्पादन गर्न सके सहजै बजारमा विक्री गर्न र विदेशी सामन प्रतिस्थापन गर्न समेत सकिने उनको भनाइ छ ।

 

‘सरकारले सहयोग गर्नुपर्छ’

 

नेपालमा कस्मेटिक उद्योग संचालन गर्न सम्भव भए पनि त्यसका लागि सरकारले प्राविधिक, आर्थिक लगायतका सहयोग गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । सरकार र निजी क्षेत्रका व्यवसायीले सहकार्य गरी जतिसक्दो छिटो उद्योग स्थापना गर्नुपर्ने उनीहरुको भनाइ छ ।

 

सरकारले कस्मेटिक उद्योगको लागि सहयोग गर्नुपर्छ, सरकारसँग सहकार्य नगरी अगाडि बढ्न सकिँदैन, त्यसकारण सहज रूपमा ऋण उपलब्ध, भ्याट छुट, कच्चा पदार्थ आयातमा ट्याक्स फ्री , विना धितो ऋण उपलब्ध, गराई उद्योगीहरुलाई सरकारले प्रोसाहित गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठ भन्छिन् ।

 

 

नेपाली विद्यार्थीले बनाए विद्युतीय कार, लागत कति ? Read Previous

नेपाली विद्यार्थीले बनाए विद्युतीय कार, लागत कति ?

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि १ अर्ब बजेट विनियोजन Read Next

धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि १ अर्ब बजेट विनियोजन