कोतडाँडाका कर्ण दाइको होमस्टे, जहाँ १५०० रुपैयाँमा पाइन्छ ‘कम्प्लिट प्याकेज’

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका २ (साविक विशंखुनारायण गाविस)का ४१ वर्षीय कर्ण तामाङ हरेक शुक्रबार र शनिबार पाहुनाको सेवामा व्यस्त हुन्छन् । अन्य बार खासै पाहुना नहुने भए पनि हप्ताका दुई दिन उनको होमस्टेमा पाहुना भरिभराउ हुन्छन् ।

 

नेपाली सेनामा कार्यरत हुँदै २०६२ सालमा कोतडाँडामा पहिलोपटक एक कोठाको होमस्टे संचालनमा ल्याएका तामाङ अहिले पूर्णरुपमा पर्यटन व्यवसायमा आबद्ध छन् । २०५९ सालमा नेपाली सेनामा भर्ना भएका तामाङ १६ वर्ष देशको सेवा गरी २०७६ मा अवकाश भएपछि होमस्टे व्यवसायका साथै कोतडाँडाको पर्यटन प्रबद्र्धनमा समेत सक्रिय छन् ।

 

कोतडाँडाको पर्यटन प्रबद्र्धन गर्न तामाङ २०६५ सालमा कोतडाँडा सरोकार समाजको सेक्रेटरी चेययमेनका रुपमा नियुक्त भए । कोतडाँडाको प्रचारप्रसार सक्रिय कर्णले पर्यटकलाई गुणस्तरीय सुविधा दिन २०७१ हिमालयन भ्यू होमस्टे दर्ता गरी संचालनमा ल्याए ।

 

काठमाडौंबाट करिब १२ किलोमिटरको दूरीमा रहेको कोतडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सूर्योदय, काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि कोतडाँडा उपयुक्त गन्तव्य बनेको तामाङ बताउँछन् ।

 

फोटोग्राफरको सुझावले होमस्टे खोल्ने हुटहुटी जाग्यो

 

फोटोग्राफर सुरज महर्जनले कोतडाँडामा फोटो खिच्न आउँदा यस ठाउँ पर्यटनका लागि उपयुक्त हुने सल्लाह दिएपछि आफू पर्यटन व्यवसायमा होमिएको तामाङ बताउँछन् । ‘करिब १५ वर्ष अघि यहाँ घुम्न आएका फोटोग्राफर सुरजले कोतडाँडालाई पर्यटकीय सम्भावना बोकेको ठाउँ छ भन्नु भयो । खाने बस्ने राम्रो ठाउँको व्यवस्था भए पर्यटक आउने सम्भावना अधिक रहेको बताउनुभयो । उहाँकै सल्लाहले मलाई होमस्टे संचालन गर्न प्रेरित गर्यो ।’

उनले २०६२ सालतिर ७ लाख रुपैयाँ हाराहारी खर्चेर टहरामा होमस्टे सुरू गरेका थिए । उक्त समयमा पर्यटक खासै नहुने र कहिलेकाहीँ फाट्टफुट्ट मात्र आउने गरेको उनी अनुभव सुनाउँछन् । सो समयमा कोतडाँडामा बिजुली, खानेपानी, होटल लगायत सुविधा नहँदा पर्यटक आउन नसकेको उनी बताउँछन् ।

 

क्रमशः भौतिक पूर्वाधार र आवश्यक वस्तुको पहुँच पुगेपछि पर्यटकको संख्या पनि वृद्धि हुँदै गएको उनी बताउँछन् । ‘होमस्टे खोल्ने बेलामा मुस्किलले महिनामा एक दुई दिन पाहुना हुन्थे,’ तामाङ भन्छन्, ‘अहिले अवस्था फेरिएको छ । मानिसहरु बिदा मनाउनै आउन थालेका छन् । शुक्रबार/ शनिबार ३०/४० जनासम्म पाहुना आउँछन् ।’

 

२०६९ मा शान्ति सेनाबाट फर्केपछि आफ्नो जीवनभरको कमाइ होमस्टेमा लगानी गरेको उनी बताउँछन् । टहराबाट सुरु गरेको व्यवसाय अहिले दुईवटा ढलान घरमा विस्तार भइसकेको छ । ‘शान्तिसेनाबाट फर्केपछि मसँग भएको ३ लाख थपेर होमस्टेमा ६ कोठा विस्तार गरेँ, पछि क्रमशः थप संरचना बनाए । यसका लागि मैले ऋण समेत लिएको छु । हाल हलसहित ८ वटा अट्याच वाथरुमसहितका कोठा छन् । पर्यटक बढ्दै छन्, विस्तारै ऋण पनि चुक्ता हुन्छ,’ तामाङले भने । आगामी दिनमा थप थप २/३ वटा बिल्डिङ बनाएर होमस्टे चलाउने उनको योजना रहेको छ ।

कोतडाँडाको विषयमा धेरैलाई थाहा नभएकाले सुरूमा उनले आफ्नो चिनेका जानेका साथीभाईहरूबाटै पर्यटन प्रबद्र्धनको काम सुरू गरेका थिए । उक्त समयमा राम्रोसँग होमस्टेलाई समय दिन नसकेका उनले २०७६ सालमा सेनाबाट अवकाश भएपछि भने पूरै समय दिन थालेका थिए ।

 

खानाबस्नको कति लाग्छ शुल्क ?

 

उनले होमस्टेमा बस्न आउने पाहुनालाई १ रात बिताए बापत खाना बस्नको सुविधासहित जनही १५०० रुपैयाँ लिने गरेको बताए । यस रकमभित्र दुई छाक (बेलुका–बिहान) खाना, खाजा र बसाइ खर्चसमेत जोडिएको छ ।

 

 

होमस्टेमा जाने पाहुनालाई वेलकम स्यान्याक्स्मा भुटेको मकैभटमास, बेलुका ननभेज खाना खुवाइन्छ । बिहान नास्ता र सामान्य खाना (पाहुनाको इच्छा अनुसार मकै/कोदो/फापरको ढिँडो) खुवाइन्छ ।

ड्रिङ्क्स गर्नेहरूले भने आफूले के पियको हो सोहीअनुसार थप पैसा तिनुपर्ने हुन्छ भने पाहुनाले बाहिरैबाट आफूले ड्रिङ्क्स लिएर पनि जान पाउँछन् ।

 

होमस्टेमा क्याम्प फायरको सुविधा समेत रहेको छ । क्याम्प फायरका लागि दाउराको अतिरिक्त शुल्क ३०० रुपैयाँ लाग्ने तामाङ बताउँछन् । यद्यपि, धेरै दाउरा खपत गरेमा भने थप शुल्क तिर्नुपर्ने हुन्छ ।

 

कोतडाँडामा वरिपरी रहेका मुख्य पर्यटकीय गन्तव्यहरू

 

कोतडाँडा ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र हो । कोडाँडा नजिकै घुम्न तथा हाइकिङ जान मिल्ने ठाउँहरू पनि धेरै रहेका छन् । विपसना केन्द्र, गोदावरी कुण्ड (१२ वर्षेमेला लाग्ने ठाउँ), विशंखु नारायण मन्दिर, बोटानिकल गार्डेन, भिमेश्वर महादेव मन्दिर, गुफाहरू, जिपलाइन, मिनी मनकामना लगायत पर्यटकीय ठाउँहरू रहेका छन् ।

हाइकिङ गर्न १/२ घण्टाको यात्रामा जान चाहानेहरू विशंखु नारायण मन्दिर, भिमेश्वर हुँदै लाकुरी भन्ज्याङ, चारखर्कसम्म जान सक्ने छन् । दिनभरका लागि हाइकिङ जानेहरु लाकुरी भञ्ज्याङ, फूलचोकीसम्म जान सक्ने उनी बताउँछन् । उनले कोतडाँडामा पर्यटकीय संरचना निर्माण हुने क्रममा रहेको बताए ।

 

२८ हिमाल देख्न सकिने

 

कोतडाँडाबाट २८ वटा हिमश्रृङ्खला देख्न सकिने तामाङ बताउँछन् । उनी नेपाली सेनामा कार्यरत रहँदै भएको एक अध्ययनले कोतडाँडाबाट २८ वटा हिमाल देख्न सकिने पत्ता लगाइएको उनको भनाइ छ ।

 

कोतडाँडाबाट अन्नपूर्ण हिमाल, मार्दी, मनास्लु, गणेश, गौरिशंकर, फूर्बी, लादिङएड, सगरमाथा लगायत २८ हिमाल देख्न सकिने उनको दाबी छ ।

 

कुश्मामा विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा आउँदै Read Previous

कुश्मामा विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनमा आउँदै

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?