काठमाडौँ । चालु आर्थिक वषको पाँच महिना (साउन-मंसिर) सम्म व्यापार घाटा ७ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ५४.७० प्रतिशतले बढेको विभागले जनाएको छ । गत आवको मंसिरसम्म नेपालले ४ खर्ब ७५ अर्ब ४४ करोड २५ लाख रुपैयाँ व्यापार घाटा बेहोरेकोे थियो ।
गत वर्षको तुलनामा चालु आवमा सुरुदेखि नै वस्तुहरुको आयात उल्लेख्य रुपमा वृद्धि हुँदा व्यापार घाटा चुलिएको हो । विभागका अनुसार चालु आवको पाँच महिनामा कुल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ । समीक्षा अवधिमा वस्तु आयात ५९.५५ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा निर्यात पनि दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको तुलनामा चालु आवमा निर्यात १०५.६१ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म ५० अर्ब ५५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा १ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।
नेपालले ५ महिनामा कुल ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँ बराबरको वैेदेशिक व्यापार गरेको छ । गत वर्षको तुलनामा चालु आवको वैदेशिक व्यापार ६३.५५ प्रतिशतले बढेको हो । गत आवको मंसिरसम्म कुल ५ खर्ब ७५ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ वैदेशिक व्यापार भएको थियो ।
भारतबाट मात्रै ५ खर्बको आयात
चालु आवमा १४४ देशबाट ८ खर्ब ३८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको हो । सोमध्ये भारतबाट मात्रै ५ खर्ब ३९ करोड रपैयाँको सामान आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
भारत पछि ठूलो मात्रामा चीनबाट वस्तु आयात भएको छ । चीनबाट १ खर्ब २२ अर्ब रुपैयाँको सामान आयात भएको छ । यसैगरी इन्डोनेिसयाबाट २९ अर्ब, अर्जेन्टिनाबाट २४ अर्ब, यूएईबाट २३ अर्ब र अमेरिकाबाट १८ अर्ब रुपैयाँको सामान आयात भएको छ ।
यी हुन् धेरै आयात भएका १० वस्तु
चालु आव सबैभन्दा धेरै डिजेल आयात भएको छ । मंसिर मसान्त सम्ममा ४९ अर्ब रुपैयाँ बबराबरको डिजेल आयात भएको हो । त्यस्तै, दोस्रो धेरै आयात हुने वस्तुमा पेट्रोल रहेको छ । उक्त अवधिमा २४ अर्ब रुपैयाँ बराबरको पेट्रोल आयात भएको विभागले जनाएको छ ।
त्यसैगरी, धेरै आयात हुने वस्तुहरुमा क्रमशः सोयाबिन तेल र एलपी ग्यास २३/२३ अर्ब, फलामजन्य वस्तु २२ अर्ब, पाम आयल २० अर्ब, सुन र मोबाइल १३/१३ अर्ब रहेका छन् ।