भक्तपुर । विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।
सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रुपमा आएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कम्पनीकै तर्फबाट आएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए ।
सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइन्। कार्यक्रममा एमाले चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोला, स्थानीय बासिन्दा सुरज बास्तोलालगायतले निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गर्दै ठेक्का रद्द गरेर जान आग्रह गरे।