काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रलाई देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । बैंकहरुको वित्तीय स्थितिले देशको अर्थतन्त्र कति मजबुद छ वा कमजोर भन्नेकुरा देखाउँछ । बैंक तथा वित्तीय क्षेत्र कमजोर भए समग्र देशको अर्थतन्त्र नै कमजोर हुन्छ भन्ने बुझिन्छ ।
कतिपयले बैंकिङ व्यवसायलाई सामाजिक सेवाको रुपमा लिने गरेका छन् भने केहीले नाफाखोरी व्यवसायको रुपमा लिने गरेका छन् । बैंकिङ क्षेत्रको सहयोग र योगदानले अर्थातन्त्र उकास्न सहयोग पुर्याउने एकाथरीको भनाइ छ भने अर्काथरीले बैंकिङ व्यवसाय अरु व्यवसाय जस्तै विशुद्ध नाफामुखी रहेको बताउँछन् । कोरोनाकालमा अन्य सबै व्यवसाय घाटामा हुँदा पनि बैंकहरुले उच्च नाफा कमाउनुले यो नाफामुखी व्यवसाय नै हो भन्दै आलोचना समेत भएको थियो ।
नाफामुखी व्यवसाय भनेर आलोचना भए पनि बैंकहरु भने आफूहरु अरु व्यवसायी जस्तो ‘प्रफिट ओरेन्टेड’ नभएको बताउँछन् । जुन सुकै क्षेत्रमा पनि लगानीको प्रतिफल पाउनुपर्ने भएकाले बैंकहरुले पनि सामान्य नाफा कमाउनु स्वभाविक रहेको बैंकरहरुको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थाहरुको उद्देश्य नाफा कमाउन मात्र नभइ उद्यमशिलता विकास र आर्थिक क्षेत्रलाई सही मार्गमा ल्याउने उत्तरदायित्व समेत रहन्छ । सोही दायित्व अन्तर्गत बैंकहरुले कमाएको नाफा थोरै भए पनि सामाजिक कार्यमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था समेत गरिएको छ ।
नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । उक्त नियम अनुसार बैंक तथा वित्तीय संस्थाहरुले वर्षेनी सामाजिक उत्तरदायित्व क्षेत्रमा करोडौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । तर, त्यसको प्रभावकारिता भने देखिँदैन् ।
बैंकहरुले सीएसआरमा खर्च गर्ने अधिकांश रकम विद्यालयहरुमा खाजा खुवाएर, कापि, कलम, झोला बाँडेर, वृक्षरोपन गरेर सकाउने गरेका छन् । पछिल्लो समय भने वित्तीय साक्षरता कार्यक्रम पनि संचालन गर्न थालेका छन् ।
बैंकहरुले सीएसआरको नाममा वर्षेनी करोडौं खर्च गरे पनि त्यो जनताको आर्थिकस्तर वृद्धि र उद्यमशिलता विकास गर्ने माध्यम बन्न सकेको छैन । निश्चित समुदाय वा वर्गलाई लक्षित गरी त्यस्ताखालका कार्यक्रम संचालन गर्न बैंकहरुको ध्यान जान सकेको देखिँदैन ।
‘सीएसआरमा गरिएको खर्चको प्रभावकारिता छैन’
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक उत्तरदायित्व कोषको रकम निश्चित क्षेत्रमा खर्च गर्न पाउने भनेर गाइडलाइन बनाए पनि बैंकहरुले मनलाग्दी रुपमा खर्च गर्ने गरेको बैंकरहरु नै बताउँछन् । बैंकहरुले नाफाबाट सीएसआरमा लगानी गर्ने रकमको प्रभावकारिता नभएको पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् ।
‘बैंंकहरुले जुनसुकै क्षेत्रमा पनि सीएसआर खर्च गरिहेका हुन्छन्, नाफाको १ प्रतिशत खर्च गर्ने व्यवस्था छ । एउटा–एउटा बैंकले आफू अनुसार खर्च गर्ने हो, त्यति प्रभावकारी भएको देखिँदैन्,’ उनले भने, ‘बैंकहरुको रकम सामान्य खाजा र स्टेशनरी सामानमा खर्च हुँदै आएको छ । त्यसलाई उद्यमशिलता विकासमा खर्च गर्नुपर्ने हो । बैंकहरुले त्यस्तो योजना ल्याएको देखिँदैन ।’
सीएसआरको रकम कुन-कुन क्षेत्रमा खर्च गर्न पाउँछन् ?
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक उत्तरदायित्व कोषवापत नाफाको १ प्रतिशत रकम खर्च गर्नुपर्ने बाध्यकारी व्यवस्था मात्र नभइ त्यसको सीमा समेत तोकेको छ । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको खुद नाफाको कम्तिमा १ प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोष खडा गरी जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तो रकम बैंक तथा वित्तीय संस्थाहरुले समाजिक परियोजना, प्रत्यक्ष अनुदान र दिगो विकास लक्ष्यको लागि खर्च गर्न पाउने छन् । राष्ट्र बैंकका अनुसार सामाजिक परियोजनाहरुमा खर्च गर्दा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पीछडिएका वर्गको आयआर्जन क्षमता वृद्धि, वित्तीय साक्षारता, ग्रहक संरक्षण सम्बन्धी कार्यक्रम आदिमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्च गर्न सक्नेछन् ।
सीएसआरमा कुन बैंकले कति रकम छुट्टयाए ?
चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा संञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले कुल २४ करोड ९ लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका छन् ।

बैैंकहरुले प्रकाशन गरेको चालु आवको असोज मसान्तसम्मको विभिन्न वित्तीय विवरण अनुसार उक्त रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेका हुन् । उक्त तथ्यांक अनुसार सबैभन्दा धेरै रकम विदेशी लगानीको स्ट्यान्डर्ड चार्टड बैंकले ९ करोड ६३ लाख रुपैयाँ सीएसआर कोषमा जम्मा गरेको छ ।
दोस्रोमा एनआइसीले १ करोड १८ लाख रुपैेयाँ, ग्लोबल आइएमईले १ करोड ७ लाख, एनएमबी बैंकले १ करोड ४ लाख रुपैयाँ जम्मा गरेको तथ्यांकले देखाउँछ । यसैगरी सबैभन्दा कम नविल बैंकले १४ लाख २८ हजार र कुमारी बैंकले १३ लाख रुपैयाँँ सीआरए कोषमा जम्मा गरेका छन् ।