काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक बीचको मर्जर प्रक्रिया एक कदम अघि बढेको छ । हिमालयन बैंक सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले इन्भेष्मेन्टसँग मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।
अब उक्त प्रस्ताव हिमालयनको साधारणसभाबाट पारित भएपछि मर्जर प्रक्रियाले अन्तिम रुप पाउनेछ । हिमालयन बैंकले मर्जर प्रस्ताव पारित नगरेकै कारण राष्ट्र बैंकले नगद लाभांश वितरणमा रोक समेत लगाएको छ ।
प्रारम्भिक सम्झौता गरेको ८ महिना बिते पनि हिमालयन संचालक समितिले मर्जर प्रस्ताव स्वीकृत नगर्दा प्रक्रिया अघि बढ्न सकेको थिएन । इन्भेष्टमेन्ट बैंकले भने यसअघि नै साधरण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । दुवै बैंकको साधरण सभाबाट प्रस्ताव पारित भएपछि नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिनेछ ।
हिमालयनका कारण मर्जर प्रक्रिया ढिलाइ भएपछि राष्ट्र बैंकले थप दुई पटक म्याद थपिदिएको छ । पछिल्लो समय मंसिर तेस्रो साता समय माग गर्दै मर्जर समिति राष्ट्र बैंक पुगेको थियो ।
यी बैंकले आपसमा गाभिनका लागि गत वैशाखमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता गर्दा दुई महिनाभित्र मर्जर पूरा गर्ने बताइएको थियो । मर्जरपछि ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ हुनेछ ।
मर्जरपछि उक्त बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा ठूलो हुनेछ ।