खपत गर्ने उद्योग बन्द भएपछि कपास उत्पादन घट्यो, ५ वर्षदेखिको स्टक

काठमाडौं । नगदे बाली कपास उत्पादनमा ठूलो गिरावट आएको छ । कपास प्रयोग गरी कपडा तथा धागो बनाउने उद्योगहरु नै बन्द भएपछि यसको उत्पादन घट्दै गएको हो ।

 

कपास प्रयोग गर्ने ठूला उद्योगहरु बन्द हुनु, साना उद्योगले न्यून मात्र खपत गर्नु, उत्पादन भएको कपास विक्री समेत हुन छाड्नु लगायत कारणले यसको उत्पादन वर्षेनी घट्दै गएको हो ।

 

पछिल्लो समय कपास उत्पादन र प्रयोग समेत घटेको कपास विकास समितिले जनाएको छ । ‘विगतमा जुन प्रकारका कपासजन्य उत्पादनका उद्योग थिए (धागो तथा कपडा कारखाना) त्यस्ता उद्योग पछिल्लो समय बन्द भए, जसको कारण उत्पादनमा समेत कमी आयो,’ कपास विकास समितिका कार्यकारी निर्देशक बुद्धबहादुर थापाले चाणक्य पोष्टसँग भने ।

 

विगतमा वार्षिक ३६ सयदेखि ४ हजार मेट्रिकटन कपास उत्पादन हुँदै आएकोमा हाल ७० मेट्रिकटनमा खुम्चिएको समितिले जनाएको छ ।

 

विशेषतः कपाससँग सम्बन्धित उद्योग भनेको धागो कारखाना र कपडा उद्योग नै हुन् । सरकार आफैंले संचालन गरेको हेटौंडा कपडा उद्योग, बुटबल धागो कारखाना, ज्योति स्पेनिङ् मिल वीरगंज लगायत ठूला उद्योग बन्द हुँदा कपास खपत हुन नसकी मौज्दात रहने अवस्था सृजना भएको छ ।

 

‘ठूलो परिमाणमा कपास प्रयोग खपत हुने हेटौंडा कपडा उद्योग र बुटबल धागो कारखाना जस्ता उद्योग बन्दप्रायः छन् । साना उद्योग नभएका त होइनन् तर जुन किसिमले कपास खपत हुनुपर्ने हो त्यो अनुसार खपत हुन सकेको छैन,’ थापाले भने । उत्पादित कपास खपत हुन छाडेपछि वर्षौंदेखि मौज्दात रहेको उनको भनाइ छ ।

 

सरकारले कपास उत्पादनमा सहुलियत प्रदान गरे पनि बजार अभावमा उत्पादन वर्षेनी घट्दै गएको थापा बताउँछन् । ‘धेरै परिमाणमा  कपास खपत गर्ने ठूला उद्योगहरु बन्द भए । जसले किसानमा उत्पादित कपास कहाँ बेच्ने भन्ने चिन्ता बढायो । अनि उनीहरुले खेती नै गर्न छाडे । जसले उत्पादन घट्न पुग्यो,’ उनले भने ।

 

कपासजन्य कारखानाको सुनिश्चितता नभएको कारण पनि कपास खेती घट्दै गएको उनको भनाइ छ । साथै, सिंचाइ नभएको र र अन्य बाली उत्पादन नहुने ठाउँमा पनि पछिल्लो समय सिँचाइ पुग्नाले पनि कपास उत्पादनमा कमी आएको बताइन्छ ।

 

कति क्षेत्रफलमा हुन्छ कपास खेती ?

 

एकीन तथ्यांक नभएपनि हाल नेपालमा ७० हेक्टर जमिनमा कपास खेती हुने गरेको समितिले जनाएको छ । आगामी वर्ष कपास खेतीको क्षेत्रफल बढाएर ३०० हेक्टर माथि पुर्याउने समितिले जनाएको छ । ‘अहिले कपास टिप्ने समय भएको छ, यो वर्ष ७० हेक्टर क्षेत्रफलमा लगाइएको कपास टिप्ने क्रम जारी छ, तर आगामी वर्ष उत्पादन वृद्धि गर्न हामी ३०० हेक्टर माथि क्षेत्रफलमा कपास लगाउने लक्ष्य लिकाएका छौं,’ थापाले भने ।

 

हाल नेपालमा १८० कृषक कपास खेतीमा संलग्न रहेका छन् । विगतमा रासायनिक मल र विषादी प्रयोग गरेर कपास उत्पादन गरिन्थ्यो भने अब त्यो खालको कपासभन्दा पनि अर्ग्यानिक कपासको माग बढ्दै गएकाले त्यतातिर लाग्नुपर्ने थापा बताउँछन् ।२०३७ सालमा स्थापना भएको कपास विकास समितिले विभिन्न ठाउँमा उत्पादन गरेको कपास आफैं संकलन गरेर बजारीकरणको काम गर्दै आएको छ ।

 

सरकारले कपास खेतीमा कृषकहरुलाई आवश्यक विषादी, मल तथा बीउमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । योसँगै विभिन्न कृषिजन्य उपकरणहरु निर्ब्याजी ऋण समेत उपलब्ध गराउँदै आएको छ । साथै, प्राविधिक सहयोग समेत दिँदै आएको छ ।

 

समितिले नै खेती लगाउनु अघि कपासको मूल्य समेत तोकि दिने गरेको छ भने उत्पादन हुने कपास आफैं किनिदिने गरेको छ । जसले कृषकलाई बजारको चिन्ता समेत हुने गरेको छैन ।

 

५ वर्षदेखिको कपास मौज्दात

 

खपत नभएपछि पछिल्लो ५ वर्षयता उत्पादन भएको कपास मौज्दात रहेको कार्यकारी निर्देशक थापा बताउँछन् । ‘खपत हुन नसकेको ५ वर्षदेखिको कपास हामीसँग मौज्दात छ । केही वर्ष अघिसम्म ठूलो परिणाममा कपास मौज्दात थियो । अझै १६० मेट्रिक टन कपास स्टक छ, उनले भने, ‘अब हामी बजारीकरणमा लाग्छौं । मौज्दात कपास विक्री गरी उत्पादन समेत बढाउने लक्ष्य छ ।’

 

समितिसँग कपास छ भन्ने जानकारी नपाएर पनि यसको विक्री कम भएको बताइएको छ । जसको लागि समितिले अब व्यापक मात्रामा प्रचारप्रसार गर्ने बताएको छ ।

 

नेपालका कपडा उद्योगी र धागो कारखानासँग समन्वय गरेर अघि बढ्ने समितिले जनाएको छ । त्यसैगरी ठूलो मात्रामा जाडोका कपडा (सिरक,डस्ना,सिरानी) लगाएतका सामाग्री निर्माण गर्न भारबाट कपास आयात हुने गरेको छ त्यो क्षेत्रमा पनि कपास छ भनेर प्रचार गरेको उनले बताए । त्यसैगरी, व्यापारी, औद्योगिक मेलामा समेत उद्योगीसँग समन्वय गरेर अघि बढ्ने प्रयत्न गरेको थापाको भनाइ छ ।

 

 

नेप्सेमा इतिहासकै दोस्रो धेरै अंकको वृद्धि, कारोबार बन्द, यी ५५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा इतिहासकै दोस्रो धेरै अंकको वृद्धि, कारोबार बन्द, यी ५५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

‘होण्डाको साथ ७’ स्कीमका विजेताहरू घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख Read Next

‘होण्डाको साथ ७’ स्कीमका विजेताहरू घोषणा, सातै प्रदेशकाले पाए जनही १ लाख