काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित व्यवसाय मध्ये एक हो होटल तथा पर्यटन । लामो अवधिसम्म बन्दको मार खेप्दा केही होटलहरु सधैंका लागि बन्द भए भने केही अझै तंग्रिन सकेका छैनन् ।
लामो समय बन्द भएपछि होटल तथा पर्यटन व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नु पर्यो । कतिपय यसै कारण पेशाबाटै पलायन समेत भए भने हजारौंले रोजगारी गुमाए ।
सरकारले कोरोनाबाट प्रभावित बनेका व्यवसायहरुलाई उकास्न भनेर सहुलियतपूर्ण पुनरकर्जा उपलब्ध गराउने नीति कार्यक्रम ल्यायो । तर, त्यसको प्रभावकारी भने शून्यप्राय देखिएको छ ।
झन्झटिलो प्रक्र्रियाका कारण पुनरकर्जा सुविधा उपभोग गर्न नसकेको अधिकांश व्यवसायी बताउँछन् । नेपाल होटल व्यवसायी महासंघका सचिव गणेश खड्का सहज रुपमा पुनरकर्जा पाउने वातावरण नहुँदा अत्यन्त न्यून मात्र व्यवसायीले यस्तो सुविधा पाउने गरेको बताउँँछन् ।
‘सरकारले व्यवसायीलाई पनुरकर्जा त दिने भनेको छ । तर यो सुन्नलाई मात्र आकर्षक छ । व्यवहारमा भने पुनरकर्जा पाउनु आकाशको फलजस्तै देखिएको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘झन्झटिलो प्रक्रियाले पुनरकर्जा पाउन मुश्किल छ । दिने भनेर मात्र भएन व्यवसायी सजिलै पाउनुपर्यो ।’
पुनरकर्जाका लागि प्रक्रिया पुर्याउनै मुश्किल र पुगे पनि बैंकहरुले अनेक बाहनामा हैरानी दिने गरेको उनको आरोप छ । साँच्चिकै व्यवसायीलाई राहत दिने हो भने सहजै पुनरकर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
ठूला र पहुँच भएका केही व्यवसायीले पुनरकर्जा लिए पनि अधिकांश साना तथा मझौला व्यवसायीले पुनरकर्जा सुन्न मात्र पाएको उनले बताए । कतिपय व्यवसायीलाई पुनकर्जा बारे थाहा समेत नभएको उनको भनाइ छ ।
पुनरकर्जा लिने व्यवसायीहरुले बैंकहरुलाई ५ प्रतिशत ब्याजदरमै ऋण पाउँछन् भने राष्ट्र बैंककले बैंक तथा वित्तीय संस्थाहरुलाई पुनरकर्जा वापत ३ प्रतिशत ब्याज उपलबध गराउँछ ।
व्यवसायीहरुले पुनरकर्जाको माग गर्दा माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने, आवेदनको लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
जम्मा साढे दुई दर्जन पर्यटन व्यवसायीले मात्र पाए पुनरकर्जा
देशभर साना, ठूला र मझौला गरेर ८० हजार होटल संचालनमा छन् । तर, तीमध्ये करिब साढे २ दर्जन होटल तथा पर्यटन व्यवसायीले मात्र पुनरकर्जा पाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चाललु आवको असोज मसान्तसम्म जम्मा २८ वटा होटल तथा पर्यटन व्यवसायीले मात्र पुनरकर्जा लिएका हुन् । ती होटलहरुले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कुल ३ अर्ब ४६ करोड ३८ लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
कोरोनबाट सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रका व्यवसायीमध्ये १ प्रतिशतभन्दा कमले मात्र पुनरकर्जा लिएको देखिन्छ । झन्झटिलो प्रक्रिया र बैंकहरुले पनि सहजै ऋण उपलब्ध नगराउने भएकाले पुनरकर्जा सुविधा उपभोग गर्न नपाएको अधिकांश पर्यटन व्यवसायीको गुनासो छ ।
बैंकिड. पहुँच भएका केही ठूला व्यवसायीले पुनरकर्जा लिए पनि मझौला तथा साना व्यवसायीले भने कुनरकर्जा सुविधा उपभोग नै गर्न पाएका छैनन् ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म देशभर कुल ५५ उद्योग व्यवसायहरूले पुनरकर्जा लिएका हुन् । २१ बैैंक तथा वित्तीय संस्थाहरुबाट ६ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुनरकर्जा सुविधा लिएका हुन् । जसमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरूबाट ११ ऋणीेले विशेष पुनरकर्जा अन्तर्गत १ अर्ब ८६ करोड २३ लाख रुपैयाँँ ऋण लिएका छन भने साधारण पुनरकर्जातर्फ १९ बैंक तथा वित्तीय संस्थाबाट ४४ ऋणीले ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ पुनरकर्जा लिएका छन् ।
कुन होटलले कति पाए पुनरकर्जा ?