काठमाडौं । गत वर्षदेखि संचालनमा आएको नागरिक स्टक डिलरले डेढ अर्ब रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । हालकै व्यवस्था अनुसार समानुपातिक रुपमा १० कित्ता दरले बाँडफाँट भएमा कम्पनीको आइपीओ झन्डै १५ लाख लगानीकर्ताले पाउने छन् ।
कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्न पुस २३ गते वार्षिक साधारण सभा बोलाएको हो । साधरण सभा नागरिक लगानी कोषको भवन नयाँ बानेश्वरमा हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत प्रस्ताव एजेन्डाका रुपमा लैजाने भएको छ ।
त्यस्तै, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन निर्वाचन गर्ने लगायत एजेन्डा पनि रहेका छन् ।
५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीमा नागरिक लगानी कोष, नेपाल पुनर्बीमा कम्पनी, नेपाल टेलिकमको समेत लगानी रहेको छ ।