काठमाडौं । विश्वभर कोरोना महामारी फैलिएसँगै फेस मास्कको प्रयोग ह्वात्तै बढ्यो । अहिले सहरी क्षेत्रमा बसोबास गर्ने अधिकांशले मास्कको प्रयोग गर्छन् भने ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ ।
कोरोना संक्रमणबाट जोगिन मास्कको प्रयोग अनिवार्य छ । यो अत्यावश्यक वस्तु भइसकेको छ । सुरुआति समयमा विदेशबाट आयात गर्दा केहीँ महँगो परे पनि अहिले नेपालमै माग धान्ने मास्क उत्पादन हुन्छ ।
स्वदेशमै मास्क उत्पादन भइरहेकाले यसको लागत समेत कम रहेको छ । तर बजारमा भने यसको मूल्य घटेको छैन । नेपालमा कोरोना आउनेबेला १० देखि १५ रुपैयाँ रहेको मास्कको मूल्य अहिले पनि सोही रहेको छ ।
अहिले नेपाली बजारमा पाइने सामान्य मास्कको उत्पादन लागत बढीमा ३ रुपैयाँसम्म पर्ने उत्पादकहरु नै बताउँछन् । आफूहरुले पनि सोही हाराहारी बेच्ने गरेको उनीहरुको भनाइ छ । तर, बजारमा भने उद्योगकोभन्दा चार गुणा बढीमा खुलेआम विक्री भइरहेको छ । फार्मेसीदेखि किरानापसलले समेत मास्कमा ब्रह्मलूट गरिरहेका छन् ।
यसरी दैनिक लाखौं पिस खपत मास्कमा ब्रह्मलूट हुँदा पनि सरकार भने मूकदर्शक बनेर बसेको छ । उद्योगबाट किनेकोभन्दा झन्डै चार गुणा बढीमा बेच्दा पनि सरकारले त्यसको नियन्त्रण तथा बढीमा बेच्नेलाई कारबाही गर्न प्रभावकारी कदम चालेको देखिँदैन । बजार अनुगमन शून्यप्रायः छ ।
कतैबाट उजुरी आएको छैन, कसलाई कारबाही गर्नु : विभाग
बजारमा मास्कको मूल्यमा ब्रह्मलूट भए पनि त्यसको नियन्त्रण गर्नुपर्ने सरकार उल्टै मूकदर्शक भएर बसेको छ । बढी मूल्यमा बेच्नेलाई कारबाही गर्नुपर्ने जिम्मा पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनमा कुनै चासो देखाएको छैन ।
विभागले दैनिक बजार अनुगमन गर्दै आएको बताए पनि मास्कमा भएको मनलाग्दी मूल्य रोक्न भने चासो नदेखाएको हो । विभागले कतै बाट गुनासो आएपछि र अस्वभाविक मूल्य हो भन्ने लागेपछि मात्र अनुगमन गर्ने बताएको छ ।
‘हामीले दैनिक बजार अनुगमन गरेका छौं, तर मास्कको मात्र भनेर चाहिँ गरेको छैन, बजारमा जुन वस्तुको अनुगमन गर्न कुरा उठ्छ , त्यसपछि हामी अनुगमनमा जान्छौं, अहिलेसम्म बजारमा मास्कको मूल्य मनपरी भयो भनेर गुनासो आएको छैन,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले चाणक्य पोष्टसँग भने । मास्कको लागत, कच्चा पदार्थ आयात, भन्सार छुट लगायत हेरेर आगामी हप्ताबाट मास्कको अनुगमनमा निस्कने श्रेष्ठको भनाइ छ ।
यता उपभोक्ता हितमा काम गर्ने संस्थाहरुले पनि मास्क मूल्यबारे हाल कुनै आवाज उठाएको छैन । विगतमा मास्कमा कालो बजारी भएको भन्दै विभिन्न पसल बन्द गराएका उनीहरुले मास्कको मूल्यमा बह्मलूट हँदा समेत मुख खोलेको छैन ।
‘केही समय अघि मास्कमा भएको कालो बजारी रोक्न हामीले आवाज उठायौं,कतिपय बन्द पनि गर्यौं । तर पछिल्लो समय कम लागतमा मास्क उत्पादन हुँदा पनि मूल्य घटेको छैन । हामीले मूल्य घटाउन सकेनौं,’ कन्जुमर आइकी अध्यक्ष विमला खनालले चाणक्य पोष्टसँग भनिन् ।
के भन्छन् उत्पादक ?
हाल नेपाली बजारमा पाइने सामान्य मास्कको उत्पादन लागत करिब डेढ रुपैयाँदेखि ३ रुपैयाँसम्म पर्ने उत्पादकहरु नै बताउँछन् । विगत डेढ वर्षदेखि कपनमा मास्क उत्पादन गर्दै आएका विनोद न्यौपाने मास्कको गुणस्तर अनुसार लागत पनि फरक हुने बताउँछन् ।
नर्मल मास्कको लागत १ रुपैयाँ १० पैसा पर्छ । त्यस्तै, मेलवन पेपरबाट बनेको मास्कको लागत २ रुपैयाँ ५० पैसासम्म पर्छ,’ उनले चाणक्य पोष्टसँग भने, हामीले होलसेलमा प्रतिमास्क ३ रुपैयाँ हाराहारीमै दिने हो । तर बजारमा त्यही मास्क १५ रुपैयाँसम्ममा बेचेको भेटिन्छ ।’ सरकार गैरजिम्मेवार र लाचार हुँदा उपभोक्ता लुटिनु परेको उनको भनाइ छ ।
दैनिक ११ हजार मास्क उत्पादन गर्दै आएका उनी बजारमा मास्कको मूल्य धेरै भएको बताउँछन् । मास्क उत्पादन बढ्दै जाँदा मूल्य घट्नु्पर्ने हो,तर लकडाउनको समयमा व्यापारीले प्रति प्याकेट ३०० मा किनेर पिसको १० रुपैयाँमा बेचे,तर अहिले मास्कको मूल्य घटेर प्याकेटको ७० रुपैयाँमा झरेको छ ,तर व्यापारीले खुद्रा बेच्दा पर पिस १० रुपैयाँ नै कायम गर्दा मूल्य नघटेको उनको भनाइ छ ।