राष्ट्रिय गौरवका विमानस्थलले अझै पाएनन् बजेट, उधारोमै काम लगाइँदै

काठमाडौं । राष्ट्रिय गौरव आयोजना अन्तर्गत रहेको ३ अन्तर्राष्ट्रिय विमानस्थलले चालू आर्थिक वर्षमा विनियोजन गरेको बजेट अझै पाउन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट पास भए पनि नागरिक उड्डयन प्राधिकरणले स्वीकृत नगर्दा चौमासिक बित्दा समेत विमानस्थलहरुले बजेट पाउन नसकेका हुन् ।

 

चालुआवको झन्डै ५ महिना बित्न लाग्दा समेत बजेट नपाएपछि विमानस्थलहरुले भुक्तानी दिन सकेका छैनन् भने ठेकेदारलाई उधारोमै काम लगाइरहेको छन् । सरकारले चालु आवमा गौतम बुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १२ अर्ब २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, चालु आवको एक तिहाई समय घर्किँदा समेत प्राधिकरणको ढिलाइका कारण बजेट पाउन सकेका छैनन् ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखा अधिकृत जयराम उप्रेतीले बजेट स्वीकृत भई उड्डयन प्राधिकरणमा गइसकेको बताए । उनले उड्डयन प्राधिकरणले आयोजनामा पठाउन स्वीकृत नगरेको बताए । ‘हामीले बजेट स्वीकृत गरेर पठाइसकेको छौं, प्राधिकरणबाट स्वीकृत नभएकाले आयोजनाहरुले पाउन नसकेका हुन्,’ उप्रेतीले चाणक्य पोष्टसँग भने ।

 

यता, प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलका लागि विनियोजित बजेट अर्को हप्ता पास हुने बताउँछन् । उनले पहिला मन्त्री नियुक्त नभएका कारण र नियुक्त पछि पनि छलफलमै व्यस्त हुँदा बजेट स्वीकृत हुन ढिलाइ भएको बताए ।

 

‘झन्डै ३ महिना मन्त्री नियुक्त नभएकोले र नियुक्तपछि पनि छलफलमा दौडेको दौडै गर्नाले बजेट स्वीकृत हुन नसकेको हो,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने, ‘अब छिट्टै पारित गर्छौं, सम्भवत: आगामी सोमबारसम्म बजेट स्वीकृत हुन्छ ।’

 

कुन विमानस्थलको अवस्था कस्तो छ ?

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानको पर्खाइमा

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण काम सम्पन्न भइ उडान परीक्षणको तयारीमा रहेको छ । यो आयोजना चालु वर्षमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको थियो ।

२०७१/७२ बाट सुरु गरिएको यो आयोजनाको प्रारम्भिक लागत ६ अर्ब २२ करोड रहेको थियो तर अहिलेसम्म ११ अर्ब बढी रकम सकिएको छ । चालु आर्थिक वर्षमा उक्त विमानस्थल सञ्चालनका लागि ३ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

हालसम्म ९६.९९ प्रतिशत भौतिक निर्माण सम्पन्न भइसकेको गौतमबुद्ध विमानस्थल हाल ‘फ्लाइट क्यालिब्रेशन’ (उडान परीक्षण) को अन्तिम तयारीमा रहेको हो ।विमानस्थलमा इक्यूपमेन्ट जडानको काम सकिसकेको छ । जडानको काम सबै सकिसकेकाले अब फ्लाइट क्यालिब्रेशनको काम मात्र बाँकी रहेको हो ।क्यालिब्रेशन फ्लाइटका लागि थाइल्याण्डको थाइ एरोले अनुमति पाए पनि अहिलेसम्म उडान हुन सकेको छैन ।

 

चिनिँया कम्पनी नर्थवेस्ट सिभिल एसिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संचना निर्माणको काम सकेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावरको काम सकिएको हो ।

 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चालु वर्षमै सम्पन्न गर्ने लक्ष्य

 

आयोजना अन्तर्गत हालसम्म ८८ प्रतिशत भौतिक प्रगति भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण म्याद रहेको यो आयोजना वैशाखभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार आउँदो वैशाखभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ । उनले वित्तीय तर्फ हालसम्म ६८.५७ प्रतिशत प्रगति भएको बताए ।

 

चालु आर्थिक वर्षको बजेट नपाउँदा भुक्तानी दिन नसकेको उनले बताए । ‘वैशाखभित्र काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ, भुक्तानीको काम बजेट नआएकाले रोकिएको छ,’ मुनकर्मीले भने । पोखरा विमानस्थल निर्माणका लागि चालु आर्थिक वषैमा ८ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उनले हाल आयोजनामा फिनिसिङ, ल्याण्डस्केप, ब्यूटिफिकेसन, ड्रेनेज, इक्यूपमेन्ट, प्यासेन्जर फ्यासिलिटी, सेक्युरिटी सिस्टम लगायतका निर्माणको काम सम्पन्न हुन बाँकी रहेको बताए । आयोजना निर्माणको म्याद असार मसान्तसम्म रहेको छ । हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको पोखरा आयोजनाले जनाएको छ ।

 

भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम पनि सकिएको उल्लेख गरिएको छ । सन् २०११ मा आयोजना सुरु भए तापनि नेपाल सरकार र चीन सरकारबीच ऋण सम्झौता भएको मितिबाट चार वर्षभित्र सम्पन्न हुने अनुमान गरिएको थियो । सन् २०११ मा आयोजना सुरु भए तापनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भएको थियो ।

 

निजगढ विमानस्थलको मुआब्जा वितरण हुनै बाँकी

 

आयोजनाका लागि चालु आर्थिक वर्षमा २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विनियोजित बजेट अझै स्वीकृत हुन सकेको छैन ।

प्रारम्भिक लागत अनुमान १ खर्ब २० अर्ब रुपैयाँ र संशोधित लागत अनुमान १ खर्ब ६५ अर्ब गरिएको यो आयोजना आव २०७१÷७२ मा सुरु गरिएकोमा ८३ करोड रुपैयाँ खर्च भएको छ । हालसम्मको भौतिक काम भनेको पहिलो चरणको मास्टर प्लान डिटेल डिजाइन तथा परामर्श सेवाको खरिद कार्य सुरु गरिएको उल्लेख छ ।

 

सन् २०७१/७२ मा यो आयोजना सुरु गर्ने क्रममा सक्ने लक्ष्य भने आर्थिक वर्ष २०८५/८६ राखिएको छ । निजगढ विमानस्थलका आयोजना इन्चार्ज विजय यादवले बजेट नआउँदा खासै काम हुन नसकेको बताए । उनले नदी नियन्त्रण र जग्गा अधिग्रहणको काम भइरहे पनि मुआब्जा वितरण लगायतका काम हुन नसकेको बताए । ‘धेरै काम हुन सकेको छैन, नदी नियन्त्रणको काम र जग्गा अधिग्रहणका लागि केही काम अलिअलि हुँदैछ,’ यादवले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार हालसम्म ७० बिगाहा जमिनको मुआब्जा वितरण भइसकेको छ । हालसम्म मुआब्जाका क्रममा ४६ करोड ९१ लाख रुपैयाँ मुआब्जा वितरण गरी जमिनको लालपुर्जा आयोजनाले हात पारेको छ ।

 

केही जग्गा धनीले मुआब्जाका लागि निवेदन दिए पनि अझै धेरैले निवेदन दिन बाँकी रहेको उनले बताए । जग्गाको मूल्यांकन ३ क्याटोगरीमा गरिएको छ । मुलबाटो छोएको जमिनलाई प्रतिबिगाहा ४ लाख ६० हजार रुपैयाँ वितरण गरिएको छ । साइड बाटो छोएका जमिनलाई प्रतिबिगाहा ३ लाख ३४ हजार २५० रुपैयाँ मुआब्जा वितरण गरिएको छ । बाटोले नछोएका जमिनलाई प्रतिबिगाहा २ लाख ४१ हजार ५ सय रुपैयाँको दरले मुआब्जा वितरण गरिएको छ ।

 

निजगढ विमानस्थल अन्तर्गत ११० बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने छ । सोमध्ये हाल ७० बिगाहा जमिन अधिग्रहणको काम सकिएको आयोजना प्रमुख यादव बताउँछन् । आगामी समयमा बाँकी रहेको जमिनहरु पनि अधिग्रहण गर्दै जाने उनको भनाइ छ ।

 

मेस्सीले ४ अर्बमा किनेको होटल भत्काउन आदेश, यस्तो छ कारण Read Previous

मेस्सीले ४ अर्बमा किनेको होटल भत्काउन आदेश, यस्तो छ कारण

भेरी बबई आयोजनाको तेस्रो चरणको काम सुरु, रैकर जग्गाको मात्र मुआब्जा पाउने Read Next

भेरी बबई आयोजनाको तेस्रो चरणको काम सुरु, रैकर जग्गाको मात्र मुआब्जा पाउने