एजेन्सी । चर्चित फुटबल स्टार लियोनेल मेस्सीको स्पेनमा रहेको चारतारे होटल भत्काउन अदालतले आदेश दिएको छ ।
२६ मिलियन पाउण्ड (करिब ४ अर्ब रुपैयाँ)लगानीमा बनेको होटल मिम सिटगेश मापदण्ड विपरित बनेको भन्दै अदालतले भत्काउन आदेश दिएको हो ।
मेस्सीले यो होटल सन् २०१७ मा ३ करोड युरो (४ अर्ब ८ करोड रुपैयाँ)मा खरिद गरेका थिए । यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुद्री किनारा नजिकै रहेको छ। यो होटलमा ७७ ओटा कोठा छन् । यी प्रत्येक कोठामा बसेको एक रातको करिब १०५ पाउण्ड खर्च लाग्छ ।
डेलिमेलका अनुसार सन् २०१७ मा मेस्सीले खरिद गर्नुभन्दा पहिला नै यो होटल भत्काउन आदेश दिइएको थियो। यद्यपि मेस्सीले यो होटल खरिद गर्दा यस विषयमा ध्यान दिएनन्।
यो होटलको बाल्कोनी निकै ठूलो छ र मापदण्डअनुसार यो होटलका कोठाहरू पनि नमिलेको बताइएको छ । त्यसका साथै होटलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्ड अनुसारको छैन।
मेसीले होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको बेला थाहा नभएको प्रतिक्रिया दिएका छन्।