भेरी बबई आयोजनाको तेस्रो चरणको काम सुरु, रैकर जग्गाको मात्र मुआब्जा पाउने

कर्णाली । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी कार्य सुरुआत गरेको छ । आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरिद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको जनाएको छ ।

 

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युत्गृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद व्यवस्थापन समयमै हुने बताए । उनका अनुसार दोस्रो चरणअन्तर्गत हाल सिभिलतर्फका काम भइरहेका छन् ।

 

तेस्रो चरणमा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कार्य पर्दछन् । सिभिल संरचनाअन्तर्गत हेडबक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम) र सर्ज साफ्टलगायतकाकार्यहरु पर्दछन् । ‘बाँधस्थलमा पम्पिङ विधिबाट जम्मा भएको पानी बाहिर निकाल्ने काम भइरहेको छ,’ उनले भने, ‘पानी डाइर्भट गरेर मुख्य बाँधस्थलमा ढलान गरिँदैछ, बबई हात्तीखालमा पनि पावर हाउसको जग खन्ने काम सुरु भइसकेको छ ।’

 

आयोजनाको कूल लागत रु ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म रु १४ अर्ब सात करोड ५९ लाखर कम खर्च भइसकेको छ । आयोजनाले कात्तिक महिनासम्म वित्तीय प्रगति ३८.२४ तथा भौतिक प्रगति ४९ प्रतिशत हासिल भएको जनाएको छ ।

 

सरकारले आयोजनाका लागि चालु आवमा पूँजीगततर्फ विनियोजन गरेको बजेट रु ३ खर्ब ४ करोड ६ लाखमध्ये रु १० करोड ९१ लाख ७० हजार मात्र खर्च भएको छ । आयोजनाका सूचना अधिकारी सुवेदीले आयोजना प्रभावित क्षेत्रमा पर्ने ऐलानी जग्गाको विवाद पनि टुङ्गिएको बताए ।

 

केही दिनअघिको बसेको मन्त्रिपरिषद् बैठकले अन्य आयोजनाका नजिरलाई आधार बनाई २२.८१ हेक्टर ऐलानी जग्गाको हकमा क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए । यसअघि रैकर जग्गाको हकमा मात्र मुआब्जा पाउने निर्णयपछि आयोजनास्थलका बासिन्दा आन्दोलित थिए ।

 

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरी गङ्गा नगरपालिका–११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । सङ्घीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।

 

आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम) का सहायताले निर्माण गरेको उक्त सुरुङको फिनिसिङ कार्यपश्चात् आयोजनालाई हस्तान्तरण गरिएको थियो । दोस्रो चरणका मुख्य काम बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो ।

 

कम्पनीले दोस्रो चरणका सबै कार्य आव २०७९/८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ । त्यस्तै बाँधस्थल चिप्लेमा छिन्चु–जाजरकोट सडकलाई करिब ८०० मिटर जति डाइभर्सन गरिएको छ । बाँधका कारण सडक डुबानमा पर्न सक्ने हुँदा सडक डाइर्भसन गरिएको हो ।रासस

राष्ट्रिय गौरवका विमानस्थलले अझै पाएनन् बजेट, उधारोमै काम लगाइँदै Read Previous

राष्ट्रिय गौरवका विमानस्थलले अझै पाएनन् बजेट, उधारोमै काम लगाइँदै

यी हुन् ३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने ९ लघुवित्त, कुनको कति ? Read Next

यी हुन् ३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने ९ लघुवित्त, कुनको कति ?