काठमाडौं । अष्ट्रेलियनहरुले विश्वमै सबैभन्दा भारी मात्रामा मदिरा पिउने गरेको एउटा नयाँ अन्तर्राष्ट्रिय सर्वेक्षणले देखाएको छ । सबै देशहरुको तुलनामा २०२० मा सबैभन्दा बढी समय मदिराले मातेर बिताउनेमा अष्ट्रेलिया परेको हो ।
रिपोर्टका अनुसार अष्ट्रेलियनहरुले औसतमा पनि वर्षमा २७ पटक पूर्ण रुपमा मात्नेगरी मदिरा पिउने गरेका छन् । विश्वव्यापी औसतमा चाहिँ केबल १५ पटक त्यसरी सेवन गर्ने गरेको यसमा देखिएको छ ।
यति मात्र नभएर एक चौथाइ भन्दा बढी अष्ट्रेलियनहरु मदिराले मातेकामा पछि पछुतो महसुस गर्ने गरेको पनि रिपोर्ट गरिएको छ । यस ग्लोबल सर्भेमा ३२ हजार भन्दा बढी मानिसहरुबाट गत वर्ष कति स्तर सम्म मदिरा उपभोग भयो भन्ने डाटा संकलन गरिएको थियो ।
त्यस्तै हप्तामा सबैभन्दा बढीपटक मदिरा पिउनेमा चाहिँ फ्रान्स अगाडि रहेको पत्ता लागेको छ । यता ‘एल्कोहोल रिसर्च एण्ड एजुकेसन’ की प्रमुख केटेरिना जिओर्जीले यो तथ्याङ्क वास्तवमा चिन्ताजनक भएको बताएकी छन् । दी गार्जियन