जुम कलबाट एकै पटक ९०० कर्मचारी बर्खास्त गरेपछि…

“यदि तपाईँ यो कलमा सहभागी हुनुहुन्छ भने तपाईँ सेवाबाट हटाइने अभागी समूहको सदस्य हुनुहुन्छ”, धितो उपलब्ध गराउने कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी विशाल गर्गले उक्त जुम कलमा भनेका थिए। त्यो कल पछि सामाजिक सञ्जालमा अपलोड गरिएको थियो।

 

यसरी एउटै जुम कल मार्फत् करिब ९०० कर्मचारीलाई बर्खास्त गरेका एक अमेरिकी कम्पनीका प्रमुखको सर्वत्र आलोचना गरिएको छ। क्रिसमस पर्व आउनु भन्दा केही दिन अघि भएको सो घटनालाई सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले अभद्र, कठोर अनि एउटा खराब कदम भन्दै प्रतिक्रिया जनाएका छन्।

 

“पछिल्लो समय मैले यस्तो गर्दा म रोएको थिएँ,” फोन संवादका क्रममा गर्गले आफ्ना कर्मचारीहरूलाई भने।  गर्गले उक्त कम्पनीका १५ प्रतिशत कर्मचारीलाई एकै पटक बर्खास्त गर्नुको कारण कर्मचारीहरूको कार्यसम्पादन, उत्पादकत्व अनि बजारमा देखिएको परिवर्तन रहेको बताएका थिए।

 

तर गत हप्ता लगानीकर्ताहरूबाट बेटर डटकमले प्राप्त गरेको ७५ करोड अमेरिकी डलर बराबरको रकम बारे भने उनले उल्लेख गरेनन्।

 

बेटर डटकमका प्रमुख वित्त अधिकारी, केभिन रायनले बीबीसीलाई भने “छाँटकाँट गर्नुपर्ने अवस्था अत्यन्त अप्रिय कुरा हो, विशेष गरी वर्षको यो समयमा”  कर्मचारी बर्खास्त गरे पश्चात् विगतमा परिचय नखुलाएर लेखिएको एउटा ब्लगका लेखक पनि गर्ग रहेको फोर्च्युन म्यागेजिनले पुष्टि गरेको छ।

 

उक्त ब्लगमा उनले बर्खास्त गरिएका कर्मचारीहरूले दिनको दुई घण्टा काम गरेर आठ घण्टा वा त्यो भन्दा बढी काम गरेको दाबी गर्दै अनुत्पादक बनेर आफ्ना सहकर्मी र ग्राहकबाट चोरी गरेको आरोप लगाएका थिए।

 

घर खरिद गर्ने प्रक्रियालाई प्रविधिको प्रयोग गर्दै  छिटो र छरितो बनाउने लक्ष्य लिएको सो कम्पनीमा एउटा जापानी समूहले लगानी गरेको छ। -बीबीसी

जाम व्यवस्थापनमा छैन सरकारी चासो, जिम्मेवार निकाय एकअर्कालाई देखाएर पन्छिँदै Read Previous

जाम व्यवस्थापनमा छैन सरकारी चासो, जिम्मेवार निकाय एकअर्कालाई देखाएर पन्छिँदै

एक व्यापारी जसले पत्नीलाई उपहार दिन ३ वर्ष लगाएर बनाइदिए ताजमहल जस्तो भव्य घर Read Next

एक व्यापारी जसले पत्नीलाई उपहार दिन ३ वर्ष लगाएर बनाइदिए ताजमहल जस्तो भव्य घर