जाम व्यवस्थापनमा छैन सरकारी चासो, जिम्मेवार निकाय एकअर्कालाई देखाएर पन्छिँदै

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक घण्टौं ट्राफिक जाम हुन थालेको छ । कार्यालय समयमा सडकहरु झनै अस्तव्यस्त हुने गरेका छन् । जस कारण छोटो दूरी पार गर्न पनि घण्टौं लाग्ने गरेको छ ।

 

बढ्दो सवारीसाधनको चाप र साँघुरा सडकमा कारण ट्राफिक जाम व्यवस्थापन जटिल बन्दै गएको छ । तर, जाम व्यवस्थापन गर्न भूमिका खेल्न सरकारी निकायहरु ट्राफिक जामको दीर्घकालीन समाधान गर्नुको सट्टा एकअर्कालाई देखाउँदै पन्छिने गरेका छन् ।

 

सडकमा गुड्ने सवारीसाधन बढ्दो क्रममा रहे पनि त्यस अनुसार सडक पूर्वाधार विकास हुन नसकेको प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले बताउँछन् । उनका अनुसार हाल सडक जाम व्यवस्थापनका लागि ट्राफिक प्रहरीले मेनुअल (व्यक्ति खटाएर) काम गरिरहेको छ । हालको अवस्थामा ट्राफिक सवारी जाम ट्राफिक प्रहरी खटाएर भन्दा भौतिक संरचना निर्माण गरेर समाधान हुने उनले बताए ।

 

‘ट्रफिकले चोकहरुमा आलोपालो मिलाएर सवारी व्यवस्थापन गरिरहेका छन् । समय अनुसार सडक पूर्वाधारहरु विकास हुनुपर्ने तर, पूर्वाधार अभाव हुँदा हामी आफै खटिनु परेको छ,’ शाहले चाणक्य पोष्टसँग भने ।

 

उनले अबको समयमा ट्राफिक जाम व्यवस्थापन गर्न चोक–चोकमा फ्लाइओभर, आकाशेपुल, फुटपाथ लगायतका पूर्वाधारको आवश्यक रहेको बताए । उनले ट्राफिक महाशाखाले सडकमा भएका समस्या दर्शाउने मात्र काम भएको बताए । ‘यहाँ यो भएको छ यसलाई समाधान गर्नुपर्यो भनेर सम्बन्धित निकायमा भन्ने हाम्रो काम हो । त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायबाटै काम हुनपर्छ,’ उनले भने ।’

 

रिङरोड बाहेकको सडक क्षत्रेधिकारमा पर्दैन : सडक विभाग

 

यता सडक फराकिला बनाई जाम न्यूनीकरण गर्नुपर्ने सडक विभाग सबै सडक आफ््नो क्षेत्रधिकार भित्र नपर्ने बताउँछ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापा उपत्यका भित्र पर्ने रिङरोड क्षेत्र बाहेकका सडक आफ्नो क्षेत्र अधिकारमा नपर्ने बताउँछन् । उनले रिङरोड क्षेत्रमा सडक विस्तारका कामहरु भइरहेको बताए ।

 

उनले उपत्यका बाहिरका सडक विभाग क्षेत्रअधिकार भित्र परेका सडकहरु विस्तारका कार्यहरु भइरहेकाले केही वर्षमा उपत्यका बाहिर हुने जाम समाधान हुने आश्वासन समेत दिए । ‘उपत्यका भित्र रिङरोड बाहेकका सडक हाम्रो क्षेत्रधिकारमा पर्दैन त्यो महानगरपालिका र नगरपालिकाको क्षेत्र अधिकार भित्र पर्छ । हामीले हाम्रो क्षेत्रअधिकारभित्र पर्ने कामहरु गरिरहेका छौं,’ थापाले चाणक्य पोष्टसँग भने ।

 

उनले संघीयतापछि संविधानले तीन तहको कार्य क्षेत्र बनाए अनुसार काम गर्नुपर्ने भएकाले आफ्नो कार्य क्षेत्र बाहिरको काम नगरिएको उनले बताए । उनले उपत्यका बाहिर जाम हटाउन नागढुंगा टनेल बन्दै गरेको बताए ।

 

‘सडक बढार्ने बाहेक अरु काम पाएका छैनौं, कसरी सडक ठूलो बनाउने ?’

 

यस्तै काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्य ८ मिटर भन्दा साना सडक बाहेक अन्य सडक आफ्नो क्षेत्र अधिकारमा नपरेको बताउँछन् । ‘महानगरपालिकाले सडक बढार्ने काम बाहेक अरु काम पाएको छैन, जे बनाउन भने पनि संघीय सरकारसँग स्वीकृती लिनुपर्छ त्यसले धेरै काम रोकिएको छ,’ आचार्यले चाणक्य पोष्टसँग भने ।

 

उनले जाम व्यवस्थापनकै लागि मोनो रेल, मेट्रो रेल आयोजना ल्याए पनि सरकारी तहहरबाट स्वीकृत नहुँदा भौतिक संरचना निर्माणको काम रोकिएको आरोप लगाए ।

 

जाम कम गर्न बनाइएका करिडोर नै जामको कारण

 

जाम बढ्नुको मुख्य कारण बढ्दो सवारीसाधनको संख्या हो । पछिल्लाो समय दैनिक करिब ३०० हाराहारीमा सवारीसाधनको संख्या थपिए पनि सडक भने फराकिलो हुन सकेको छैन ।

 

सडकका जाम हटाउन बनाइएका करिडोर पछिल्लो समय सवारी जामको अर्को कारण बन्न पुगेको छ । करिडोरमा बनेका अन्डर ग्राउण्ड क्रसिङ सडक साना तथा होचा हुनुका कारण सवारीसाधनहरु घुमेर पुलमै जानुपर्ने हुँदा समेत जाम बढेको शाहले बताए ।

 

पुल मुनीका सडकलाई अग्लो बनाउन सकेमा सवारी साधन मुनिबाटै जान सक्ने थिए । राइट टन, यु टन लगायतका क्रममा सवारी जामहरु हुने गरेको उनले बताए । उनका अनुसार हाल हरेक करिडोरहरुमा समेत ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाउनु परेको छ । ‘हामीले हरेक स्थानमा ट्राफिक खटाएकाछौं, करिडोरहरुमा पनि पिक आवरमा ट्राफिक खटाएका छाँै, तर अब दीर्घकालीन रुपमा सडक पूर्वाधार विकास गरिनु पर्छ,’ शाहले भने ।

 

उनले ट्राफिक मात्र खटाएर सवारी व्यवस्थापन सम्भव नभएको भन्दै अबको समयमा भौतिक पूर्वाधार विकास गर्दै लैजानु पर्ने बताए । सडकमा विभिन्न समय सिफ्ट मिलाएर ट्राफिक जाम समाधानका लागि ट्राफिक प्रहरी खटिने गरेको छ । समयानुकुल सरकारले ट्राफिक जाम हुन नदिन सडक विस्तार, करिडोर निर्माण, ट्राफिक लाइट, आकासेपुल, लगायतका पूर्वाधारहरु समेत निर्माणाधिन अवस्थामा रहेका छन् ।

 

ट्रफिक जरिवानाको अवस्था २०४९ को नियम अनुसार यथावत रहेको छ । ट्राफिकले जरिवाना परिमार्जन गर्ने भने पनि हालसम्म आधिकारीक निकायबाट नियम बन्न सकेको छैन ।

 

शाह नियम बनेर आए कारवाहीका लागि कार्यानवयन गर्ने काम ट्राफिकको भएको बताउँछन् । सडकका भौतिक संरचना निर्माणका विषयमा ट्राफिकले आवश्यकता औलाए पनि सडक विभाग, महानगरपालिका, यातायात व्यवस्थापन विभाग हालसम्म कुनै समन्वयन हुन सकेको छैन ।

 

शाह भन्छन् ‘हामीले सम्बन्धित निकायलाई समय समयमा भन्ने गरेका छाँै । योजनाहरुका विषयमा छलफल गर्ने गरेका छौं।’विभिन्न समाधानका साथ महानगरपालिका, सडक विभाग, यातायात व्यवस्थापन विभागसँग बेलाबखत छलफल हुने गरे पनि केही हुन नसकेको बताए ।

 

काठमाडौंका मुख्य बाटोमा पेट्रोल पम्पहरु छन् । उपत्यका भित्रका मुख्य सडकमा पर्ने केही पेट्रोल पम्पलाई नियम विपरित निर्माण भएको भन्दै बन्द गर्न अथवा अन्यत्र सार्न भनि लिस्ट निकाले पनि हालसम्म केही हुन सकेको छैन ।

 

विगतमा काठमाडौं महानगरपालिका, आयल निगम र ट्राफिक प्रहरीले जाम व्यवस्थापनका लागि उपत्यका सडक छेउमा नियम विपरीत रहेका पेट्रोल पम्प अन्यत्र सार्न ठूलै अभियान निकाले पनि हालसम्म केही व्यवस्था हुन सकेको छैन । केही दिनको चहलपहल पछि उक्त विषय विभागीय प्रमुखहरु परिवर्तनसागै सेलाएको हो ।

 

नायव उपरिक्षक शाहले पैदल यात्रु हिड्ने बाटोमा पेट्रोल पम्प हुँदा तथा पेट्रोल हाल्न सोही स्थानमा लानुपर्दा समेत सडकमा बारम्बार जाम सृजना हुने गरेको बताए । उनले उक्त विषयमा सम्बन्धीत निकायलाई पत्र बुझाउने काम गरिए पनि कुनै ठोस निर्णय हुन नसकेको बताए ।

 

ट्राफिक लाइटमा समस्या कायम

 

ट्राफिक लाइटमा दैनिक जसो समस्या आउने गरेका छन् । सीमित ठाउँमा राखिएका ट्राफिक लाइटहरु एक दिन सञ्चालनमा हुन्छन् भने अर्को दिन बन्द अवस्थामा हुने गरेका छन् ।

 

ट्राफिक प्रहरीले टेक्नीकल पाटो थाहा नहुने भन्दै पन्छिने गरेको छ । कार्यान्वयनको पाटो मात्र आफ्नो भएको बताउदै ट्राफिक प्रहरीले सडक विभागले बनाइदिएको लाइट भएकाले दैनिक कुरा भइरहेको जनाएको छ ।

 

‘हामीले कार्यान्वयनमा ल्याउने काम गर्ने हो । त्यसमा कहिलेकाही समस्या आउछ । हामीले सधै सडक विभागसँग कुरा गरिरहेका हुन्छौँ,’ नायब उपरीक्षक शाहले भने ।

 

बुटवल-नारायणगढ सडकको म्याद २ वर्ष थप्न माग Read Previous

बुटवल-नारायणगढ सडकको म्याद २ वर्ष थप्न माग

जुम कलबाट एकै पटक ९०० कर्मचारी बर्खास्त गरेपछि... Read Next

जुम कलबाट एकै पटक ९०० कर्मचारी बर्खास्त गरेपछि...