बागमती प्रदेश केन्द्रित वित्तीय पहुँच, कर्णाली सबैभन्दा कमजोर (तथ्यांकसहित)

काठमाडौं । देश संघीय संरचनामा गइसकेपनि जनताको समान पहुँचमा बैंक तथा वित्तीय संंस्था भने अझै पुग्न सकेका छैनन् । सुविधा सम्पन्न सहरी इलाकाहरुमा बैंकको शाखा तथा सेवा विस्तारको प्रतिस्पर्धा नै चल्ने गरेको छ । तर, भौगोलिक रुपमा विकट र दूर्गम भेगहरुका जनताको सहज पहुँचमा वित्तीय संस्थाहरु छैनन् । दुर्गम भेगमा जनसंख्या कम, आर्थिक कारोबार थोरै, सुरक्षा चुनौती बढी र इन्टरनेट सेवा अभाव देखाउँदै वित्तीय संस्थाहरुले आफ्नो सेवा विस्तारमा समेत आनाकानी गर्दै आएका छन् ।

 

देशभर ७५३ स्थानीय तह मध्ये तीनवटा स्थानीय तहमा वाणिज्य बैंकहरुले अझै शाखा विस्तार गर्न सकेका छैनन्, अर्थात् त्यहाँका जनता बैंकिङ सुविधाको पहुँच भन्दा टाढै छन् । नेपाल राष्ट्र बैैंकका अनुसार चालु आर्थिक वर्षसम्म पनि धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकहरुको पहुँच पुगेको छैन ।

 

राष्ट्र बैंकका अनुसार अहिलेसम्म पनि यी क्षेत्रका २१ हजार मानिसको पहुँचमा वित्तीय क्षेत्र छैन । चालु आर्थिक वर्षको मंसिरसम्ममा देशभर ३ करोड ३६ लाख २ हजार बैंक खाता खोलिएका छन् । जसमध्ये ४९ प्रतिशत पुरुषको सक्रिय र ३६ प्रतिशत महिलाको सक्रिय खाता रहेका छन् । कुल जनसंख्याको २ करोड ७१ लाख ५९ हजार २८० जनसंख्या बैंक तथा वित्तीय पहुँचमा पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

 

आधा जनसख्याले प्रयाेग गर्छन् मोबाइल बैंकिङ

 

सूचना प्रविधिको विकाससँँगै डिजिटल बैंकिङ सेवाको विस्तार पनि बढ्दो क्रममा रहेको छ । यस प्रविधिको विस्तारले घन्टौं बैंकको शाखामा लाइन बस्नु पर्ने समस्याको समेत अन्त्य भएको छ । मोबाइलमा बैंकको एप डाउनलोड गरेरै एक बैंकबाट अर्को बैंकमा सजिलै पैसा ट्रान्सफर गर्न मिल्ने भएकाले मोबाइल बैकिङ तथा डिजिटल सेवाको प्रयोग बढ्दै गएकोे होे ।

 

नेपाल राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या १ करोड ४८ लाख ७१ हजार पुगेको छ । ती मध्ये १ करोड १३ लाख ६० हजार सक्रिय मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

 

यस्तै इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्नेहरुको कुल संख्या १२ लाख १० हजार रहेको छ भने ८ लाख ६ हजार मात्रै सक्रिय प्रयोगकर्ता रहेका छन् ।

 

क्रेडिट कार्ड रजिष्टर गर्नेहरुको संख्या २ लाख र सक्रिय प्रयोग कर्र्ताहरुको संख्या १ लाख ४४ हजार रहेको छ । यस्तै डेबिड कार्ड प्रयोग गर्नेहरुको संख्या ९२ लाख ४५ हजार रहेको तथ्यांकले देखाएको छ । ती मध्ये डेबिट कार्ड प्रयोग गर्ने ६४ लाख ७९ हजार सक्रिय प्रयोगकर्ताहरु रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

५२ प्रतिशत एटिएम बाग्मती प्रदेशमा मात्र

 

मूलुकको संघीय राजधानी समेत रहेको बाग्मती प्रदेशमा अन्य प्रदेशको तुलनामा विकसित र सेवा सुविधा सम्पन्न मानिन्छ । बैंकिङ सेवाको विस्तार पनि सबैभन्दा धेरै यसै प्रदेशमा भएको छ । देशभर संञ्चालनमा रहेका एटिएम संञ्जालमध्ये आधाभन्दा बढी बाग्मती प्रदेशमै रहेका छन् ।

चालु आर्थिक वर्षको मंसिरसम्म देशभर ३ हजार ९२८ एटिएम संञ्जालहरु रहेका छन् । त्यसको ५२ प्रतिशत अर्थात २ हजार ३० एटिएम शाखा बागमती प्रदेशमा रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

 

दोस्रोमा प्रदेश १ सबैभन्दा बढी एटिएम संञ्जाल रहेको प्रदेश हो । यहाँ ५४४ एटिएम संचालनमा रहेका छन् । यसैगरी गण्डकी प्रदेशमा ५१६, प्रदेश २ मा ३९३, सुदुरपश्चिम प्रदेशमा २०१ र लुुम्बिनी प्रदेशमा १८८ वटा एटिएम संचालनमा रहेका छन् । सबैभन्दा कम ५६ वटा मात्रै एटिएम कर्णाली प्र्रदेशमा रहेको छ ।

 

सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा

 

हरेक सेवा सुविधामा पछाडी रहेको कर्णाली प्रदेश वित्तीय तथा बैंकिङ पहुँचमा समेत निकै पछि रहेको छ । बैंकहरुले पछिल्लो समय आफ्नाे व्यवसाय विस्तार तिव्र बनाएपनि कर्णाली प्रदेशमा शाखा संख्या सबैभन्दा कम रहेका छन् । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको मंसिरसम्म देशभर कुल ९ हजार ३६९ रहेका छन् । जसमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा २६२ मात्रै शाखाहरु संचालनमा रहेका छन् ।

 

बैंकहरुले सबैभन्दा धेरै बाग्मती प्रदेशमा २ हजार ७९७ शाखा विस्तार गरेका छन् । प्रदेश १ मा १ हजार ७४४, प्रदेश २ मा १ हजार ६४८, गण्डकी प्रदेशमा १ हजार ३८३ वटा बैंक तथा वित्तीय संस्थाका शाखा रहेका छन् । त्यसैगरी सुदुरपश्चिममा ७९५ र लुम्बिनी प्रदेशमा ७६० वटा वित्तीय संस्थाका शाखाहरु छन् ।

 

बाग्मतीमा जनसंख्याको दोब्बर बैंक खाता

 

बाग्मती प्रदेशमा बैंक खाता खोल्नेहरुको संख्या दोब्बर भएपनि अन्य प्रदेशमा भने जनसंख्या भन्दा खाता संख्या कम रहेको छ । ६५ लाख २९ हजार जनसंख्या रहेको बागमतीमा १ करोड २६ लाख १६ हजार ८२८ खाता खोलिएका छन् ।

 

लुम्बिनी प्रदेशमा जनसंख्याकै हाराहारीमा खाता संख्या रहेको छ । लुम्बिनीमा ५१ लाख ६३ हजार जनसंख्या रहेकोमा ५२ लाख ४८ हजार खाता संचालनमा रहेका छन् ।

 

प्रदेश १ मा ४९ लाख ७६ हजार जनसंख्या रहेकोमा जनसंख्या भन्दा कम अर्थात ४५ लाख २५ हजार २४३ बैंक खाता खोलिएको छ ।

त्यसैगरी प्रदेश २ मा जनसंख्याको ६३ प्रतिशतले मात्रै खाता खोलेका छन् । यस प्रदेशमा चालु आवको मंसिरसम्म ४० लाख २९ हजार ९६२ बैंक खाता रहेको छ । जबकी प्रदेश दुईमा ६३ लाख ५० हजार ३७४ जनसंख्या रहेको छ ।

 

यसैगरी गण्डकी प्रदेशमा २५ लाख २९ हजार जनसंख्या रहेकोमा ३८ लाख ४१ हजार बैंक खाता खोलिएका छन् । सुदुरपश्चिम प्रदेशमा २९ लाख ७० हजार जनसंख्या रहेकोमा खाता खोल्नेहरुको संख्या २१ लाख ८४ हजार रहेको छ ।

 

साथै, कर्णाली प्रदेशमा सबैभन्दा कम बैंक खाता खोल्नेहरुको संख्या छ । चालु आवको मंसिरसम्म यस प्रदेशमा १८ लाख ३६ हजार जनसंख्या रहेकोमा ११ लाख ५५ हजारको मात्रै बैंक खाता रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ ? Read Previous

ओमिक्रोन कोभिडः कोरोना भाइरसको यो नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण कसरी पत्ता लाग्छ ?

बजेट भएपनि सडक निर्माण भएन, चाडपर्वलाई दोष दिँदै विभाग Read Next

बजेट भएपनि सडक निर्माण भएन, चाडपर्वलाई दोष दिँदै विभाग