काठमाडौं । चालु आर्थिक वर्षमा सडक विभागले ३६ किलोमिटर सडक ट्रयाक खोल्ने काम सम्पन्न गरेको छ । सडक विभागका अनुसार चालु आवको पहिलो चैमासिक (साउन-कार्तिक) मा कुल ३६ किलोमिटर सडक ट्रयाक खोलिएको हो ।
चालु आव भित्र विभागले कुल २७० किलोमिटर सडक ट्रयाक खोल्ने लक्ष्य राखेको छ । गत आव २०७७/७८ मा सरकारले ५ सय किलोमिटर सडकमा नयाँ ट्रयाक खुल्ला गर्ने लक्ष्य राखेको भए पनि १ सय ७० किलोमिटर नयाँ ट्रयाक खोल्न सकेको थियो । अघिल्लो वर्ष लक्ष्य पुरा नभएपछि यस आवमा सरकारले सडक ट्रयाक खोल्ने लक्ष्य घटाएको हो ।
यस्तै विभागले चालु आवको चार महिनामा ५१ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न गरेको जनाएको छ । चालु आवभित्र कुल १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको विभागले पहिलो चैमासिकमा ५१ किलोमिटर मात्र सडक कालोपत्रे गरेको हो ।
यस्तै सडक विभागले पहिलो त्रैमासिकमा ५४ किलोमिटर सडक ग्राभेल गरेको छ । चालु आवभित्र कुल ४८० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ । गत आवमा १ हजार किलोमिटर सडक ग्रावेल निर्माण गर्ने लक्ष्य राखेकोमा ३ सय ८ किलोमिटर मात्रै ग्राभेल भएको थियो ।
सडक विभागका प्रवक्ता शिवप्रशाद नेपालका अनुसार चालु आव सुरु भए लगतै ठूलो वर्षाका कारण सोचे जस्तो भौतिक प्रगति गर्न सकिएन । उनले लामो समय वर्षा र चाडपर्वका कारण लक्ष्य अनुरुप कामले गति लिन नसकेको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल २२ वटा हाराहारीमा पुल निर्माण सम्पन्न भएको छ । चालु आव भित्र कुल ३ सय पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुल निर्माण गर्न ११ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत आर्थिक वर्षमा देशभर ३ सय पुल निर्माण गर्ने लक्ष्य राखिए पनि १ सय ४ पुल निर्माण सम्पन्न भएको थियो ।
उनले चालु आर्थिक वर्षमा विभागको पुँजीगत खर्च ३ प्रतिशत हाराहारीमा भएको बताए । चालु आवमा धेरै काम नभएका कारण भुक्तानी नहुँदा खर्च कम देखिएको उनको भनाई छ ।
‘यो आवमा सुरुदेखि पानी पर्यो, फेरी लगतै चाडपर्व आयो त्यसैले गर्दा धेरै प्रगति भएको छैन, खर्च पनि खासै छैन,’ नेपालले चाणक्यपोष्टसँग भने ।
गत आर्थिक वर्ष २०७७/७८ मा विभागले ६५ प्रतिशत सडक निर्माणको काम पुरा गरेको थियो । गत आवमा कुल १ सय १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा ५३ प्रतिशत मात्र खर्च भएको थियो ।