काठमाडौं । जीवन बीमा कम्पनीहरुले उल्लेख्य रुपमा व्यवसाय विस्तार गरेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ को चार महिना (साउन–कात्तिक)सम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय २३.२० प्रतिशतले वृद्धि भएको हो ।
बीमा समितिको तथ्यांक अनुसार कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले कुल ४८ अर्ब ३२ करोड ८६ लाख रुपैयाँँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ९ अर्ब १० रुपैयाँँले बढी हो । गत वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ३९ अर्ब २२ करोड रुपैयाँँ बीमा शुल्क संकलन गरेका थिए ।
चालू आवको कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले कुल ९५ लाख ७ हजार ४२१ बीमा लेख जारी गरेका छन् । पछिल्लो समय अर्थतन्त्र चलायमान हसँदै गएसँगै जीवन बीमा कम्पनीहरु पनि व्यवसाय विस्तार गरेका हुन् ।
एक चौथाई बजार हिस्सा नेपाल लाइफको
हाल संचालमा रहेका १९ वटा जीवन बीमा कम्पनीरु मध्ये एक चौथाई बजार हिस्सा नेपाल लाइफले ओगटेको छ । वर्षौंदेखि आफ्नो धेरै व्यवसाय गर्ने जीवन बीमा कम्पनीहरुको शीर्ष स्थानमा रहँदै आएको नेपालले यस वर्ष पनि आफ्नो वर्चश्व कायमै राखेको हो ।
कात्तिकसम्म जीवन बीमा कम्पनीहरुले कुल ४८ अर्ब ३२ करोड बीमा शुल्क संकलन गरेकोमा नेपाल लाइफ एक्लैले १२ अर्ब ५५ करोड संकलन गरेको छ । यो कुल बीमा शुल्कको २६ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीले ११ अर्ब १८ करोड बीमा शुल्क संकलन गररेको थियो ।
बाँकी १८ वटा कम्पनीहरुले ७४ प्रतिशत बजार हिस्सा ओगटेका छन् । नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले दोस्रो धेरै १४ प्रतिशत बजार हिस्सा ओगटेको छ । कर्पोरेशनले कात्तिकसम्म ६ अर्ब ५८ करोड बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी, तेस्रो धेरै बीमा शुल्क संक्लन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यसले समीक्षा अवधिसम्म कुल बजार हिस्साको १० प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड बीमा शुल्क संकलन गरेको छ ।
यस आवको कात्तिकसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । महालक्ष्मीले समीक्षा अवधिसम्म ४४ करोड ३४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।
गुराँस लाइफको मात्र बीमाशुल्क घट्यो
चालू आवको ४ महिनामा १८ वटा जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन् भने गुराँस लाइफ इन्स्योरेन्सको मात्र घटेको छ । कात्तिकसम्म औसतमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४७ प्रतिशतले बढेको छ भने गुराँस लाइफको ६.३७ प्रतिशतले घटेको छ ।
गत वर्षको कात्तिकसम्म १ अर्ब १७ करोड बीमा शुल्क संकलन गरेको गुराँसको चालु आवको सोही अवधि आइपुग्दा साढे ७ करोडले घटेर १ अर्ब ९ करोडमा सीमित भएको छ ।
व्यवसाय विस्तारमा नयाँ कम्पनीको छलाङ
व्यवसाय विस्तारमा नयाँ जीवन बीमा कम्पनीहरुले छलाङ मारेका छन् । सन नेपाल लाइफ, प्रभु लाइफ र सिटजन्स लाइफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन दोब्बर बढीले बढाएका छन् ।
समीक्षा अवधिमा सन नेपालले सबैभन्दा धेरै बीमाशुल्क आर्जन ११७.६० प्रतिशतले वृद्धि गरेको छ । त्यसैगरी, प्रभु लाइफले ११५.९२ प्रतिशत र सिटिजन्स लाइफले १०४.७१ प्रतिशतले बीमाशुल्क वृद्धि गरेका छन् ।
समीक्षा अवधिमा महालक्ष्मी लाइफ, रिलायबल, रिलायन्स, सानिमा लाइफ, ज्योति लाइफ र आइएमई लाफले पनि बीमा शुल्क आर्जन ५० प्रतिशतभन्दा धेरैले वृद्धि गरेका छन् ।