काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेका सडक आयोजनाहरुको काम आगामी चैतभित्र सम्पन्न गरिने भएको छ ।
मन्त्रिपरिषद्ले आयोजना अन्तर्गतका ९ सडकको काम यथास्थितिमै चैतमसान्त सम्पन्न गर्न निर्देशन दिएसँगै जसरी पनि चैत भित्रै सम्पन्न गर्नु पर्ने भएको हो । सो निर्देशन अनुसार अब सबै ठेकेदारले तोकिएको समयमा निर्माण सम्पन्न गर्नुपर्ने छ ।
आयोजनाका महानिर्देशक दीपेन्द्र पाण्डेले निर्माण सम्पन्न नगरे चैतपछि ठेक्काको म्याद थप नगरिने बताए । उनले जस्तो अवस्थामा भए पनि चैत मसान्तभित्रै निर्माणको काम सक्नुपर्ने बताए ।
उनले आगामी चैतभित्र निर्माण सम्पन्न गर्नेगरी सबै ठेक्काको म्याद थप भएको र थपिएको समयमा पनि काम पूरा नगरे पुनः म्याद थप नहुने बताए । ‘अब कुनै हालतमा पनि म्याद थप हुँदैन, मन्त्रिपरिषद्बाट आएको निर्णय हो, अब क्याबिनेटले म्याद थप भनेर निर्णय गरे मात्र थप्न मिल्छ । नत्र कसैले म्याद थपेर थपिने वाला छैन,’ पाण्डेले चाणक्य पोष्टसँग भने ।
विभागका सूचना अधिकारी तथा प्रवक्ता महानन्द जोशीले सबै ठेक्कामा निर्माणका लागि म्याद थपसहित खटाइसकेको बताए । उनले सबै ठेक्का व्यवसायीहरुलाई समय अवधिभित्र सम्पन्न गर्नेगरी पत्रमा हस्ताक्षर गरी पठाइएको बताए ।
चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कार्तिक) सम्ममा आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । ९ सडक आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
गत आर्थिक वर्षमा कोभिड १९ का कारण विस्तारको कामले भने जस्तो गति लिन सकेको थिएन । चालु आर्थिक वर्षमा समेत भने जस्तो भौतिक प्रगति हुन सकेको छैन । चालु आवमा चाडपर्व तथा बेमौसमी वर्षाका कारण निर्माण कार्यमा खासै प्रगति हुन नसकेको जोशीले बताए ।
‘गत आवसम्म कोभिडले काम हुन दिएन, यो आवमा सुरूमै चाडपर्वका कारण र लगातार वर्षाका कारण धेरै राम्रो काम हुन सकेको छैन, तर अब चैतभित्र काम सक्ने गरी ठेक्का परिचालन गरिसकेका छौं,’ जोशीले चाणक्य पोष्टसँग भने ‘चैत मसान्तसम्म निर्माणको काम नसके म्याद थप गर्ने जस्ता काम हुँदैन, अरु विकल्पनै छैन ।’
कुन सडकको कति भयो काम ?
जोरपाटी-सुन्दरीजल सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण चैतभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।

आयोजनामा इन्द्रानी-मनमता खोला खण्डमा २ किलोमिटरमा काम हुन बाँकी रहेको छ । सुन्दरीजलतर्फ ३०० मिटरमा कालोपत्रको काम भएको छ । ३५० मिटरमा अझै काम बाँकी रहेको छ ।
घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोद सृजना गरेपछि सो खण्डमा यथास्थितिमा सडक कालोपत्र गरिने भएको छ । २०७३ असारमा सुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको थिएन । पछि ठेक्काको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो । कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी चैतभित्र सम्पन्न गर्ने भएको छ ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक : यस सडक आयोजना अन्तर्गत हालसम्मा ९५ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । उक्त ठेक्काको कालोपत्र गर्ने काम सकिए पनि रेलिङ, फुटपाथ लगायतका काम बाँकी रहेकाले सो सम्पन्न गरी हस्तान्तरण गर्न ठेक्का व्यवसायीलाई मंसिर १६बाट परिचालन गरिएको छ । विभिन्न खण्डमा सडक खाल्टाखुल्टी परेकाले समेत उक्त स्थानमा ठेकेदार आफैले कालोपत्र गर्नुपर्ने आयोजनाले जनाएको छ ।
११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काइ यथास्थितिमा निर्माण गरिएको हो ।
चाबहिल–जोरपाटी–साँखु सडक : यस सडकखण्ड अन्तर्गत अझै ३ किलोमिटर हाराहारीमा सडक निर्माण बाँकी रहेको छ । उक्त खण्डको थली उकालोको ५० मिटर र थली बजारको ५०० मिटरमा कालोपत्र गर्न बाँकी रहेको छ । वाग्मती पुलदेखि नोरलीङ होटलसम्म ३०० मिटर, नोरलीङ होटलदेखि उता डेढ मिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ ।

चाबहिल–साँखु खण्डमा हालसम्म हाल ७० देखि ७५ प्रतिशत काम पूरा भएको जनाइएको छ । उक्त खण्डको आयोजनामा कुल ११.६ किलोमिटर सडक पर्दछ । ४ वटा ठेक्कामा काम भइरहेको सो खण्डमा यथावत स्थितिमा सम्पन्न गर्नेगरी हालै काम सुरू गरिएको जोशीले बताए ।
त्रिपुरेश्वर-नागढुंगा सडक : २०७२ असार ३१ गतेबाट सुरू भएको यस सडक २०७६ चैत महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुषसम्मको म्याद थप भएको थियो । उक्त समयमा समेत ठेक्का सम्पन्न गरी हस्तान्तरण नभएपछि आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप भएको छ ।
नख्खु खोला-भैँसेपाटी-बुंमती सडक : यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा पाटो हाल्ने, हिमपाइप हाल्ने लगायतको काम भइरहेको छ यस आयोजनामा कुनै पनि खण्डमा हालसम्म कालोपत्र हुन सकेको छैन । आयोजनाको काम गर्न ठेकेदारले सुरू गरिसकेको जोशीको दाबी छ ।
७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना चैतभित्र सम्पन्न गर्ने अनुमान गरिएको छ । २०७३/७४ मा सुरू भएको हो ।
ढोलाहिटी-चापागाउँ-लेले सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ । ढोलाहिटिमा सब-बेस र कालोपत्रको काम बाँकी रहेको छ । उक्त खण्डमा ग्रेडीङ हाल्ने काम भइरहेको छ ।
सुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मीटर को सट्टा १७.२० मटिर नै गर्न स्थिानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो । २०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा भए पनि यही चैतभित्र पूरा गरिने भनिएको छ ।
इमाडोल-हरिसिद्धि-गोदावरी-लामाटार सडक : यस आयोजना अन्तर्गत हरिसिद्धि-गोदावरी क्षेत्रमा ४ किलोमिटर कालोपत्र भएको छ । उक्त खण्डमा झण्डै साढे ३ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ । इमाडोल-लामाटार खण्डमा सडक कालोपत्र सम्पन्न भए पनि पुल खण्डमा १०० मिटरमा आरसीसी ढलान गर्न बाँकी रहेको आयोजना प्रवक्ता जोशीले बताए ।
८ किलोमिटर लम्बाइ रहेको सो सडक चैतभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

कर्मनाशा खोला-गोदावरी सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ५० देखि ७५ प्रतिशत भौतिक प्रगति भएको छ । कुल साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डमा साढे २ किलोमिटर सडक कालोपत्र भएको छ ।
ठेक्काको करिब २०० मिटरमा आरसीसी गर्न बाँकी रहेको छ । आयोजनाको अन्य क्षेत्रमा बेस हाल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।
पेप्सीकोला-सल्लाघारी सडक : यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालो पत्रको काम मात्र बाँकी रहेको बताइएको छ ।
४.५ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको छ । सो आयोजना अन्तर्गत साढे २ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएको छ । २०० मिटरमा आरसीसी ढलान गर्न लागिएको आयोजनाले जनाएको छ ।