अंग्रेजी नयाँ वर्षदेखि पोखरामा केबलकार सञ्चालनमा आउने, टिकटको मूल्य कति ?

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान आउने केबलकारको बुधबार परीक्षण गरिएको कम्पनीका निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

 

त्रिपाठीका अनुसार अन्नपूर्ण केबलकार प्रालिले बनाएको यो केबलकार परीक्षणका लागि जापानबाट सात जना प्राविधिकको टोली पोखरा आएको थियो । दुई हजार ४०० मिटर लामो यो केबलकारका १३ टावर छन् । यो केबलकारमा १८ वटा डिब्बा छन् । एकमा भने सामान राख्न प्रयोग गरिनेछ । प्रतिडिब्बामा आठ जनाको सिट क्षमता रहने जनाइएको छ । टोलीले सबै प्राविधिक पक्ष सफल भएको जनाएको छ ।

 

करिब साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि कोरोनाका कारण निर्धारित समयभन्दा बढी लागेको त्रिपाठीले बताए । “हामीले साढे दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ तर कोरोनाले गर्दा समय पनि लम्बियो र लागत पनि बढी भयो ।” उनले योजनाको प्रारम्भिक खाकामा करिब रु एक अर्बमा योजना सम्पन्न लक्ष्य लिए पनि निर्माण अघि बढ्दै जाँदा पूर्वाधारलगायतका जमिन थपिँदै गएपछि लागत बढी लागेको जनाए ।

 

“सुरुमा हामीले फेब्रिकेशनमा बिल्डिङ बनाउने सोचेका थियौँ तर पछि पूरै आरसिसी बनायौँ । टप स्टेशनमा भ्यूटावर निर्माण पनि त्यसरी नै बनायौँ । निजी आवधिक जग्गा पनि भाडा लिने सोचेका थियौँ तर पछि चलिआएको मूल्य दिएर नै स्थानीयवासीसँग खरिद गर्यौँ, यसले हाम्रो लागत बढ्यो । केबलकार निर्माणमा रु दुई अर्ब बढी खर्च भएको उनको भनाइ छ ।

 

केबलकार सञ्चालनमा आएपछि स्थानीयवासीलाई प्राथमिकता दिएर रोजगारी प्रदान गरिने र ८० देखि १०० जनाले प्रत्यक्ष रोजगार पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेशन भवनमा स्काइ हेवन बेलुन रेष्टुरेन्ट, भ्यूटावर निर्माण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, बगैँचासहितको संरचना निर्माण भएको छ ।

 

केबलकारमा जाने र आउने शुल्क रु ६०० निर्धारण गरिएको छ भने स्थानीयवासी, विद्यार्थी तथा ज्येष्ठ नागरिकलगायतका लागि सहुलियत व्यवस्था गरिने जनाइएको छ । विदेशीका लागि भने रु ७०० र ८०० भाडा कायम गरिएको छ । सार्क देशका पर्यटकलाई प्रतिव्यक्ति रु ७०० र अन्य मुलुकका पर्यटकलाई रु ८०० लाग्ने गरी टिकट शुल्क तय गरिएको छ ।

 

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष व्यवसायी कालु गुरुङ हुनुहुन्छ । गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयवासीको १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।

 

केबलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने विश्वास आफूहरूले लिएको अध्यक्ष गुरुङले बताए। “पोखरा आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य हो, केबलकारमा यात्रा गर्दा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ ।” केबलकार निर्माण भएकाले फेवातालको किनार सेतीबगरबाट आठदेखि नौ मिनेटमै सराङ्कोट पुगेर सराङ्कोटबाट हिमशृङ्खलासहित पोखराको दृश्यावलोकन गर्न सकिने उनको भनाइ छ । कम्पनीले यही अङ्ग्रेजी नयाँ वर्षबाट सफ्ट ओपनिङको तयारीसमेत गरेको छ ।

 

पाथीभरामा हेलिकोप्टर कम्पनीको व्यापार फस्टाउँदै, कहाँबाट जान कति लाग्छ भाडा ? Read Previous

पाथीभरामा हेलिकोप्टर कम्पनीको व्यापार फस्टाउँदै, कहाँबाट जान कति लाग्छ भाडा ?

उपत्यका विस्तारका ९ सडक निर्माण चैत भित्र सम्पन्न गरिने, कुन सडकको कति बाँकी छ काम ? Read Next

उपत्यका विस्तारका ९ सडक निर्माण चैत भित्र सम्पन्न गरिने, कुन सडकको कति बाँकी छ काम ?