काठमाडौं । विदेशी मुद्रा मुद्दती निक्षेपको अवधि कम्तीमा १ वर्षको हुनपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
त्यस्तो खाता अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ, अष्टे«लियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मात्रै खोल्नुपर्नेछ ।
मुद्दती निक्षेप ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमानुसार प्रदान गर्नुपर्नेछ । साँवाको हकमा भुक्तानी अवधि समाप्त भएपछि मात्र फिर्ता गर्नुपर्नेछ ।
एक वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेप एक वर्ष अवधि सकिएपछि निक्षेपकर्ताले झिक्न वा अन्य प्रिम्याचुअर गर्न चाहेमा फिर्ता गर्न सकिनेछ । मुद्दती निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्नेछ । त्यस्तो रकम फिर्ता गर्नुपरेको खण्डमा समेत बैंकिङ प्रणालीमा नै फिर्ता गर्नुपर्छ ।
संस्थागत विदेशी निक्षेपकर्ता तथा गैरआवासीय नेपालीबाट न्यूनतम ५ हजार वा सो बराबरको निक्षेप सङ्कलन गर्न सकिनेछ । गैरआवासीय नेपाली नागरिकको हकमा संयुक्त रुपमा त्यस्तो खाता खोल्न सक्नेछन् ।
गैरआवासीय नेपाली नागरिकले प्रवद्र्धन गरेको विदेशस्थित संस्थाको मात्र खाता खोल्न सक्नेछन् । त्यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तो निक्षेप खातामा बैंकिङ प्रणालीबाट मात्र रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त रकम फिर्ता गर्नु परेको खण्डमा समेत बैंकिङ प्रणालीमार्फत नै फिर्ता गर्नुपर्नेछ । त्यस्तै, केन्द्रीय बैंकले डेरिभेटिभका सम्बन्धमा समेत केही व्यवस्थामा संशोधन गरेको छ ।