काठमाडौं । पछिल्लो समय साहसिक खेल जिप लाइन प्रति आकर्षण बढ्दो रहेको छ । देशका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधरणसम्म आफूलाई रिफ्रेस गर्न भन्दै जिप लाइनमा रमाउन थालेको देखिन्छ ।
गत महिना मात्रै पूर्वप्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायत धुलिखेल पुगेर जिप लाइनमा रमाए । देशका ठूला नेताहरु समेत जिप लाइन खेलेपछि सर्वसाधरणको यस खेलप्रति झनै आकर्षण बढेको देखिन्छ ।
बिदाका दिनमा काठमाडौं वरीपरी संचालनमा रहेका जिप लाइनमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको संचालकहरु बताउँछन् । काठमाडौं उपत्यकाको धुँवा, धुलो, प्रदूषण, कोलाहलबाट केही समय भए पनि रिफ्रेस हुन उपत्यकावासी जिप लाइन खेल्न आउने गरेको धुलिखेल जिप लाइनका संचालक भुपेश श्रेष्ठ बताउँछन् ।
‘काठमाडौंको व्यस्त दैनिकबाट केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक पर्यटक जिप लाइन खेल्न आउन थालेका छन्,’ उनले भने, ‘पछिल्लो समय नेताहरु नै जिपलाइन खेल्न आउन थाल्नु भएको छ । यसले सर्वसाधरणमा झनै क्रेज बढाएको छ।’
पछिल्लो समय उपत्यका वरीपरी जिपलाइन, स्काई साइकिलिङ जस्ता साहसिक पर्यटन फस्टाउँदै गएको छ । कोरोनाको प्रभाव घट्दै गएकाले पनि आन्तरिक पर्यटकहरुको आवागमन बढ्न थालेको जिपलाइन व्यवसायीहरुको भनाइ छ ।
पछिल्लो समय देशका विभिन्न पर्यटकीय गन्तव्यहरुमा जिपलाइन बनाउने क्रम बढ्दै गएको छ भने देशभर १ दर्जन बढी संचालनमा छन् । सोमध्ये काठमाडौं वरीपरी ४ स्थानमा जिप लाइन संचालनमा रहेको छ ।
हाल उपत्यकाको ललितपुरको विशंखुनारायण, भक्तपुरको रानीकोट, काठमाडौंको चन्द्रागिरि र काभ्रेपलाञ्चोकको धुलिखेलमा जिपलाइन संचालनमा रहेका छन् ।
कुन जिप लाइनमा कति छ टिकटको मूल्य ?
धुलिखेल जिपलाइन : अरनिको राजमार्गस्थित धुलिखेलमा वल्र्डवाइड एड्भेन्चर प्रालिले धुलिखेल जिपलाइन संञ्चालन गरिरहेको छ ।

काठमाडौंबाट ३५ किलोमिटर दूरीमा रहेको सो जिप लाइन धुलिखेल–८, थाक्लेडाँडाको ‘लञ्च प्याड’देखि पाँचखाल–५, खावामा रहेको ‘ल्यान्डिङ स्टेसन’ सम्म करीब ११०० मिटर लम्बाइको रहेको छ ।
सो जिप लाइन समुद्रसतहदेखि १३०० मिटर उचाइबाट सुरु भएर ‘भर्टिकल ड्रप’ २४० फिट हुँदै १२०० मिटरको उचाइमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।
प्रतिघण्टा फूलस्पीड ११० किलोमिटर रहेको छ । उक्त जिपलाइन (क्लासिक) चढेको नेपालीका लागि प्रतिव्यक्ति २५०० रुपैयाँ, सार्क देशका नागरिका लागि ३० अमेरिकी डलर र विदेशीका लागि ३५ डलर रुपैयाँ रहेको कम्पनीका संञ्चालक भुपेश क्षेष्ठले बताए ।
उनका अनुसार सुपरम्यान पिजलाइनको नेपालीका लागि ३५०० रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र विदेशीका लागि ४५ डलर रहेको छ । त्यसैगरी, कपल जिपलाइन खेल्न नेपालीका लागि ४५०० रुपैयाँ, सार्क देशका नागरिकका लागि ५० डलर र विदेशीका लागि ६० डलर रहेको छ ।
चन्द्रागिरि जिपलाइन : काठमाडौँको महत्वपूर्ण पर्यटकीय गन्तव्य मानिएको चन्द्रागिरी डाँडामा चन्द्रागिरि हिल्स प्रालिले जिपलाइन सञ्चालन गरिरहेको छ । कम्पनीले केही समयअघि मात्रै नेपालकै उच्च स्थानमा जिपलाइन सञ्चालनमा ल्याएको हो ।
भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको टिकट प्रतिव्यक्ति ४०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । चन्द्रागिरी डाँडामा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्छ । उक्त जिपलाइनको लम्बाइ भने १०० मिटर मात्रै रहेको छ ।
रानीकोट जिपलाइन : भक्तपुरको घ्याम्पे डाँडा रानीको संञ्चालनमा रहेको रानीकोट जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा दिइरहेको छ । यहाँ लामो र छोटो गरी दुईवटा जिपलाइन संचालनमा छन् । लामो जिप लाइनको लम्बाइ १.२ किलोमिटर र छोटो जिपलाइनको ४५० मिटर लम्बाइ रहेको छ ।
सो जिपलाइनको उचाइ ३५० मिटरका रहेको छ । कम्पनीका अनुुसार छोटो दूरीको प्रतिव्यक्ति टिकट १५०० रुपैयाँ र लामो दूरीको ३५०० रुपैयाँ सम्म टिकट रहेको छ । कम्पनीले सुपर म्यान फ्लाइ,स्यानोपी,स्काइ साइक्लिङ, सुपरम्यान फ्लाइ, पनि संञ्चालनमा रहेको जनाएको छ ।
विशंखुनारायण जिपलाइन : यो जिपलाइन ललितपुरको विशंखु नारायण सामुदायीक वनमा संञ्चालनमा रहेको छ । काठमाडौँबाट ७ किलोमिटरको दूरी रहेको उक्त जिपलाइनको लम्बाई एकतर्फी ४०० मिटर रहेको छ । यसको टिकको मूल्य १५०० रुपैयाँ टिकट लाग्ने कम्पनीले जनाएको छ ।