नबिलको सामाजिक उद्यमशीलता कार्यक्रम सुरु, नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम (एनबीएलएसएसई) सुरु गरेको छ ।

 

समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गर्न यो कार्यक्रम सुरु गरिएको बैंकले बताएको छ ।

 

स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नबिल एसएसईले सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।

 

सुरुआती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाणपत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

 

प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा वीरगञ्ज पब्लिक कलेज, बाग्मतीमा क्याम्पियन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालयको फ्याकल्टी अफ ह्युमानिटिज एण्ड सोसल साइन्स, लुम्बिनीमा क्षितिज इण्टरनेशनल कलेज, कर्णालीमा सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा उद्यमशीलता कार्यक्रम सञ्चालन हुनेछ ।

 

त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यवस्थापन संकायको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ ।

 

त्यसका लागि बैंक र स्कुलले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रमले एक वर्षसम्मका लागि आवश्यक पर्ने सबै सहयोग विद्यार्थीलाई उपलब्ध गराउने छ ।

 

चालिस सहभागीलाई संलग्न गराउने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्ष भित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।

 

यो कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइने छ ।

 

उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ । संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुवैमध्ये कुनै एक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

 

कार्यक्रमका दुवै कोर्स पूरा गरेको व्यक्तिमा उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरुआत गर्न सक्ने अपेक्षा गरिएको छ ।

 

उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्नेछन् ।

 

सहभागीहरुले सामाजिक उद्यम संचालनको तरिकासँंगै आधारभूत कानूनी तथा करसम्बन्धी ज्ञान पनि पाउने बैंकको भनाइ छ ।उनीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजालमार्फत आफ्नो व्यवसाय प्रवद्र्धन, लेखासम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउनेछन् ।

 

लघुवित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारीकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएको छ ।

 

व्यवसाय संचालनका लागि आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै कर्जाका लागि समेत सहयोग गरिने भएकाले यो कार्यक्रमले नयाँ उद्यमीलाई सफल र सक्षम बनाउन रचनात्मक सहयोग पुग्ने छ ।

 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार यो कार्यक्रम पूर्ण व्यवसायिक चक्रको प्याकेज भएकाले सामाजिक उद्यमका लागि अवधारणा निर्माण गर्ने, त्यसलाई लगानीयोग्य बनाउने तथा साना भन्दा साना शिप र रोजगारी गरि जीवन निर्वाह गरिरहेकाहरुलाई पनि उद्यमी बनाउँन एक नयाँ सुरुआत हुने छ ।

ऋद्धिसिद्धि सिमेन्टले जथाभावी चुनढुङ्गा उत्खनन गर्दा स्थानीयवासी समस्यामा Read Previous

ऋद्धिसिद्धि सिमेन्टले जथाभावी चुनढुङ्गा उत्खनन गर्दा स्थानीयवासी समस्यामा

देशभर विभिन्न कार्यक्रम गर्दै सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव Read Next

देशभर विभिन्न कार्यक्रम गर्दै सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव